शनिबार, वैशाख १५, २०८१
21:28 | ०२:१३

दक्षिण कोरियाको जनसंख्या घट्दो

रासस जुन ४, २०२०

सउल । दक्षिण कोरियाको जनसंख्या क्रमिकरूपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्यांकअनुसार गएको डिसेम्बरमा ५१ दशमलव ८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसंख्या ५१ दशमलव ८४१ मिलियनमा झरेको छ ।

मृत्युदर्ता, जन्मदर्ता तथा बसाइँसराइलाई आधार मानि सार्वजनिक गरिएको सो तथ्यांकमा १० हजार ५६ ले घटेको हो । उक्त अवधिमा सबैभन्दा धेरै गत फेब्रुअरीमा दुई हजार ८ सय ८२ ले घटेको छ भने सबैभन्दा कम अप्रिलमा ७ सय ७१ ले घटेको छ । कोरियामा यसभन्दा अघि सन् २००८ को मार्च र २००९ को अप्रिलमा पनि जनसंख्या केही घटेको थियो । एक दशकयता भने निरन्तर बढ्दो क्रममा थियो ।

तथ्यांक अनुसार जनसंख्या घट्नुमा कोरोनाको कारण भने न्यून विन्दुमा देखिएको छ । कोरोना भाइरस संक्रमणका कारण कोरियामा २ सय ७१ जनाको मात्र मृत्यु भएको छ ।

कोरोना रोकथाम प्रभावकारी बनाउने उद्धेश्यका साथ यहाँ स्थायी बसोबास गर्ने सम्पूर्ण विदेशी नागरिक जुनसुकै देशमा भए पनि कोरिया फर्कंदा जुन १ तारिखदेखि स्थानीय अध्यागमनबाट पुनः प्रवेश अनुमति लिनुपर्ने नियम बनाइएको छ ।

सो नियमानुसार यहाँ स्थायी बसोबास गर्ने नेपाली नेपाल वा कोरियाबाहेक अन्य मुलुकमा बसी कोरिया प्रवेश गर्नेहरुले स्थानीय अध्यागमनबाट अनिवार्य प्रवेशाज्ञा लिनुपर्नेछ । यहाँको न्याय मन्त्रालयका अनुसार यहाँ लामो समय बसोबास गरी केही समयका लागि बाहिर गएका विदेशी नागरिकले सरकारले तोकेका निश्चित मापदण्ड पूरा गरी स्थानीय अध्यागमनबाट पुनः प्रवेशाज्ञा लिनुपर्ने भएको हो ।

मापदण्डअनुसार प्रवेशाज्ञा लिँदा ४८ घण्टाभित्र अनिवार्यरूपमा उक्त देशको सरकारी मान्यता प्राप्त अस्पतालबाट स्वास्थ्य जाँच गरेको रिपोर्ट बुझाउनु पर्नेछ । रिपोर्टमा ज्वरो, रुघाखोकी, शरीर चिलाउने, टाउको दुख्ने, स्वासप्रस्वाससम्बन्धी समस्या आदिको लक्षण भए/नभएको अनिवार्यरूपमा खुलेको हुनुपर्ने छ । रिपोर्ट कोरियन वा अंग्रेजी भाषामा लेखिएको हुनुपर्ने र मान्यताप्राप्त चिकित्सकको हस्ताक्षरसमेत भएको हुनुपर्ने प्रावधान राखिएको छ ।

तर कूटनीतिक भिसा, अफिसियल भिसा, सन्धि सम्झौतासम्बन्धी भिसा तथा विदेशमा बस्ने कोरियन नागरिकका लागि भने यो नियम लागू नहुने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू