बिहीबार, वैशाख १३, २०८१
14:16 | १९:०१

संगीत साधनामा रमाउंदै अर्जुन

नेपाली लिङ्क जुन ४, २०२०

लन्डन । कोरोना भाइरस महामारीका कारण नेपालमा जारी लकडाउनका बेला सबैको दिनचर्या आ आफ्नै ढंगले बितिरहेको छ । कोही राहत वितरणमा व्यस्त छन् कोही आफ्नै करिअर विकास र परिवारका साथ । नेपाली सांगीतिक क्षेत्रमा झन्डै दुई दशक बिताइसकेका गायक तथा संगीतकार अर्जुन सुनामको दिनचर्या यतिखेर संगीत साधना, कम्पोज र पारिवारिक महोलमै बितिरहेको छ ।

कैलालीको लम्की, सुर्खेत, काठमाडौँ हुँदै संसारका आधा दर्जन मुलुकमा आफ्नो सांगीतिक भ्रमण गरिसकेका अर्जुनको कोरोनाका कारण यतिबेला थुप्रै सपना थाँती छन् । एउटा ‘अनप्लग’ खालको गीत निकाल्ने तयारी गर्दै थिएँ, कोरोनाले गर्दा स्थगित भयो, विदेशका केहि स्थानहरुमा सांगीतिक यात्राको तय भएको थियो, नेपालमा पनि थुप्रै मेला महोत्सवमा तय भैसकेका कार्यक्रम स्थगित भए, सुनामले बताए ।

उनी लोकदोहोरी, आधुनिक, गजल, देउडा लगायत सबै विधाका गीत गाउन रुचाउंछन् । कोरोना संक्रमणलाई सबैले मिलेर परास्त गर्नुपर्ने र यसका लागि सबै सावधान रहनुपर्ने उनको सुझाव छ । कोरोनाका कारण लाखौँको ज्यान गइसकेको र संसारभर रहेका नेपाली पनि यसबाट प्रभावित भएको हुँदा आपतविपतमा परेकाहरुलाई सबैले मिलेर सहयोग गर्नुपर्ने उनले औंल्याए ।

नेपाली कलाकारहरुका लागि विदेशमा बस्ने नेपालीको ठूलो योगदान रहेको हुँदा कोरोना संक्रमणका कारण नेपालीहरुले भोग्नुपरेको पीडाप्रति आफू अत्यन्त दुःखी रहेको उनले बताए । मानव जातिकै ठूलो चुनौतिको रुपमा रहेको कोरोनालाई कोठामा बसेर सामना गर्नुको कुनै विकल्प नरहेको र एकदिन अवश्य यस महामारीबाट मुक्ति पाइने उनको विश्वास छ ।

सांगीतिक यात्रा र उनको योगदान

वि.सं. २०६० सालमा काठमाडौं आएपछि उनको सांगीतिक यात्राको ढोका खुलेको थियो । हुन त आफ्नो सुमधुर स्वर संगीत तर्फको लगावका कारण यसअघि नै थुप्रैको मन जित्न सफल भैसकेका थिए उनी । २०५९ सालतिर नै उनले सुर्खेतमा रहंदा सांगीतिक शिक्षा लिइसकेका थिए । सुर्खेतमा रहंदा नै उनले आफ्नो कला प्रदर्शनी गर्ने आवसर पाइसकेका थिए ।

काठमान्डौ आएपछि सांगीतिक क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरु लोकसंगीतका महारथी नारायण रायमाझी, उदिराम खड्का र बरिष्ठ संगीतकार बीबी अनुरागीसंगको भेटपछि उनलाई अघि बढ्न सजिलो भयो । उनले सत्यवती कलाकेन्द्रमा संगीत प्रशिक्षण लिन सुरु गरे ।

‘नमुछे आमा दहीमा टीका, नछरे जमरा’ बोलको नारायण रायमाझीको दशैं  गीतबाट सांगीतिक यात्रा सुरु गरेका अर्जुनलाई उक्त गीतका सर्जकसंगै भेट भएपछि झनै हौसला प्राप्त भयो । सुर्खेतमा भुभुले ताल, तिम्रै झल्को आउँछ मेरी निरमाया, कहाँ पुग्यौ नेटो काटी, मलाइ ढाँटी गाको मान्छे, हितकारी मायाले मन भिन्दै गरायो, झ्याउरे गित झम्के सांझैमा, सरर हावा चल्यो बनमा जस्ता उनका थुप्रै गीत लोकप्रिय छन् ।

वि. सं. २०७५ सालमा उनले सत्यवती कला केनद्रसंगको सहकार्यमा ‘अर्जुन सुनाम सुमधुर साँझ’ सफलतापूर्वक सम्पन्न गरेका थिए । भर्खरैमात्र उनको लकडाउन सम्बन्धि एउटा जनचेतनामूलक गीत पनि सार्वजनिक भएको छ । आफ्नै कम्पोजका केही गीत पनि आउने तयारीमा रहेको उनले जनाए । मेलिना राईसंगको एउटा आधुनिक गीत पनि आउने तयारीमा रहेछ ।

आफूले गरेको मिहिनेत र परिश्रमलाई देश विदेशका दर्शक स्रोताहारुबाट माया पाउनु नै सबैभन्दा ठूलो सन्तुष्टि रहेको उनी बताउंछन् । अहिलेसम्मको सांगीतिक यात्रामा पूर्ण रुपमा सन्तुष्टि मिलेको र अझै धेरै संघर्ष गर्नुपर्ने उनले बताए ।

सन् २००८ मा बहराइनमा बसेर केहि समय त्यहाँको थ्री स्टार होटलमा नेपाली ब्याण्डमा गजल प्रस्तुत गरेर देश बाहिर पनि दर्शक स्रोताको मन जित्न सफल भैसकेका छन् उनी । उनले मलेसिया, सिंगापुर, नेदरल्याण्ड, बेल्जियम, अष्ट्रेलिया, यूके लगायत मुलुकमा पनि आफ्नो कला देखाइसकेका छन् ।

अर्जुन सुनामको कोरोना सम्बन्धि जनचेतनामूलक गीत- 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू