बुधबार, वैशाख १२, २०८१
16:22 | २१:०७

सगुनमा लगानीको अर्को अवसर: दोस्रो चरणको शेयर निश्कासन

कम्तीमा ९ सय डलरको शेयर किन्न सकिने

नेपाली लिङ्क जुन १, २०२०

लण्डन । अमेरिकामा रहेका नेपालीहरुको एक समूहले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी ‘सगुन डटकम’ ले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको शेयर निश्कासन गरेको छ । सगुनमा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।

अमेरिकी शेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी) ले केही समयअघि सगुनको विवरणपत्रलाई विक्रियोग्य तोकेको थियो । सगुनले यस चरणमा ‘ग’ श्रेणीको साधारण शेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्ने बताएको छ ।

सगुनको शेयरमा विश्वभर रहेका सर्वसाधारणले कम्तिमा ३० कित्ता शेयर (९ सय डलर) खरिद गर्न सक्नेछन् । कम्पनीले उक्त शेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निश्कासन गरिएको हो ।

सगुनले सन् २०१७ मा यसको पहिलो ‘रेज ए प्लस’ मिनी आइपिओ प्रतिकित्ता २३ डलरका दरले निश्कासन गरेको थियो । त्यतिखेर सगुनको शेयरमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए । पहिलो चरणमा लगानी जुटाएपछि सगुन अहिले दोस्रो चरणमा पुगिसकेको छ । यसले मोवाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्म र एन्ड्रोइडमा सोसियल स्मार्ट कार्ड तथा वेव ब्राउजरहरुका लागि वेव एप्लिकेसन सार्वजनिक गरेको छ ।

’हामी विश्वभरीका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएका छौं । उहाँहरुले सगुनलाई फरक खालको अर्थपूर्ण सामाजिक सम्पर्क माध्यम बनाउन हामीले देखेको सपनालाई विश्वास गर्नु भएको छ । उहाँहरुको सहयोगले सगुनलाई हामीले बालकदेखि वृद्ध अवस्थासम्मका मानिसलाई जोड्ने प्लेटफर्म बनाउन सकेका छौं,’ सगुनका संस्थापक गोविन्द गिरी भन्छन्, ‘हामीले सगुनलाई एउटा फरक खालको प्लेटफर्म निर्माण गर्न कडा मेहनत गरेका छौं । यसले विश्वभरका प्रयोगकर्ताको आवश्यकता र चासोलाई पूरा गर्दछ । सगुनमा उनीहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र हैन, सोसियल इकमर्समा समेत सहभागी हुन सक्नेछन् । यसमा खाता खोलेर बिताएको समयका अधारमा आम्दानी पनि गर्न सकिन्छ ।’

संस्थापक गिरीले नेपाल र भारतका प्रयोगकर्ताले सगुनलाई अझ धेरै मन पराएको बताउँछन् । उनले यी दुई मुलकका प्रयोगकर्ताले दिनमा २३ पटकभन्दा बढी सगुन खोल्ने गरेको जानकारी दिए । ’सगुनका प्रयोगकर्ताले दैनिक एक घण्टाभन्दा बढी समय यसमा खर्च गर्दछन्’ उनले भने, ‘अरूले सुनाएकै आधारमा प्रयोगकर्ताको साप्ताहिक वृद्धि दर ३० प्रतिशत देखिएको छ । हामी विशिष्ट र सुरक्षित ज्ञानमा आधारित सामाजिक अनुभवको खोजीमा रहेका प्रयोगकर्तालाई यस सञ्जालमा समेट्न सफल हुनेछौं भन्ने कुरामा हाम्रो बलियो र समर्पित टोली विश्वास गर्दछ ।’

‘रेज ए प्लस’ मिनी आइपिओ निश्कासनले सर्वसाधारणलाई स्टार्ट अप कम्पनीमा शेयर लगानी गरेर स्वामित्व हासिल गर्ने सुनौलो अवसर प्रदान गरेको सुगनले बताएको छ । कम्पनीले अमेरिकी शेयर बजारमा लगानी प्रक्रियाको सहजिकरण र नियमनका लागि फण्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको जनाएको छ ।

सगुनले अहिलेको सार्वजनिक शेयर निश्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यस पटकको निश्कासन सीमित समयको लागि मात्र खुला रहनेछ । यस पटक सर्वसाधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको आधार वृद्धि गर्न, प्लेटफर्म विस्तार गर्न र सगुनका नयाँ एप, सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ ।

सगुनको शेयर खरिद गर्न इच्छुक व्यक्तिले मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन् । त्यहाँ शेयर बिक्री आव्हानपत्र पनि उपलब्ध छ । ईच्छुक लगानीकर्ताहरूले लगानी गर्नुअघि उक्त आव्हान पत्र (सर्कुलर) अध्ययन गर्नुपर्नेछ ।

शेयर निश्कासन सम्बन्धी कुनै जिज्ञासा भए आनन्द बज्राचार्यलाई [email protected] र कविन सिटौलालाई [email protected]  मा सम्पर्क गर्न सकिने बताइएको छ ।

सागुन एक विस्तारको चरणमा रहेको सामाजिक वाणिज्य (सेसियल कमर्स) प्लेटफर्म हो । वासिंगटन डीसी, नयाँ दिल्ली र काठमाडौंमा सगुनका कार्यालयहरू छन्।

कम्पनीका १८ जनाको टोली सदस्य, ५६ लाखभन्दा भन्दा बढी प्रयोगकर्ता र विश्वभर ४ हजारभन्दा बढि लगानीकर्ताहरू छन् । सगुन शब्द संस्कृत शब्द ‘शकुन’ बाट आएको हो, जसको अर्थ नेपालीमा ‘शुभ क्षण’ वा ‘भाग्य’ भन्ने हुन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू