बुधबार, १९ नोभेम्बर, २०२५
06:28 | १२:१३

बेलायतमा घट्यो खुद आप्रवासन

नेपाली लिङ्क नोभेम्बर १९, २०२५

लन्डन । बेलायतको खुद आप्रवासन घटेको छ । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको संशोधित तथ्यांक अनुसार सन् २०२४ को खुद आप्रवासन संख्या पहिले अनुमान गरिएभन्दा निकै कम रहेको पाइएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) को संशोधित तथ्याङ्क अनुसार, २०२४ मा बेलायतमा खुद बसाइँसराइ सुरुमा अनुमान गरिएभन्दा कम पाइएको छ ।

२०२४ को अन्त्यसम्म खुद बसाइँसराइ संख्या ३ लाख ४५ हजार रहेको नयां तथ्यांकमा उल्लेख छ । यसअघि गत मे महिनामा ओएनएसद्वारा प्रकाशित तथ्यांकमा खुद आप्रवासन संख्या ४ लाख ३१ हजार रहेको अनुमान गरिएको थियो ।

ओएनएसले यो पनि घोषणा गरेको छ कि २०२३ मार्च अन्त्यसम्म एक वर्षमा खुद बसाइँसराइ ९ लाख ४४ हजार थियो, जुन अनुमान गरिएभन्दा ३८ हजार बढी हो । भिसा नियमहरू कडा बनाइएपछि २०२४ मा खुद आप्रवासन छिटो घटेको थियो ।

खुद बसाइँसराइको अर्थ लामो समयसम्म बेलायतमा 
बस्ने मानिसहरूको संख्या र देश छोड्नेसंख्या बीचको भिन्नता हो ।

ओएनएसका अनुसार खुद आप्रवासन संख्या घट्नुको मुख्य कारण बेलायती नागरिकहरूको विदेशतर्फ बसाइँसराइ बढ्नु पनि  हो ।

संशोधित आप्रवासन तथ्याङ्क अनुसार गत वर्ष बेलायत छोड्ने बेलायती नागरिकहरूको संख्या ७७ हजार बाट बढेर २ लाख ५७ हजार पुगेको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आफ्नो कार्यप्रणाली अद्यावधिक गरेपछि २०२१ अन्त्यदेखि २०२४ अन्त्यसम्म तीन वर्षमा अनुमानभन्दा ३ लाख ४४ हजार बढी बेलायती बसाइँ सरेको विश्वास गरिएको छ ।

लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदी विदेश बसाइँ सर्नुको कारणहरूमा राम्रो ज्याला, कम कर, सस्तो आवास र विदेशमा जीवनको गुणस्तरमा सुधार मान्छन् । ‘बेलायतमा बढ्दो महंगी (कोठा भाडादेखि खाद्यान्नसम्म) तर कम तलवका कारण मानिसहरु अन्यत्र गएर सुःखका साथ जीवन बिताउन चाहेका छन्’, उनले भने ।

वर्क परमिट भिजामा लामो समयदेखि काम गरिरहेका भिजा क्वेष्ट यूकेका निर्देशक एवं अध्यागमन सल्लाहकार विष्णु खरेलले वर्क परमिटमा कडाइ, विद्यार्थीलाई डिपेन्डेन्ट ल्याउन प्रतिवन्ध, बढ्दो महंगी र जागिर अभाव आदिका कारण मानिसहरुले बेलायतभन्दा अन्यत्र गन्तव्य बनाउंदै गएको बताउंछन् ।

थिंक ट्याङ्क सेन्टर फर पोलिसी स्टडिजका अनुसन्धान निर्देशक कार्ल विलियम्सले द इन्डिपेन्डेन्ट अखबारलाई बताएअनुसार तथ्याङ्कले ब्रिटिश नागरिकहरूको खुद बसाइँसराइ पहिले सोचेभन्दा धेरै बढी र तीव्र गतिमा भइरहेको देखाएको छ । यसले ब्रेन ड्रेन खतरनाक रूपमा बढिरहेको संकेत गरेको विलियम्सको भनाइ छ ।

स्याडो चान्सलर सर मेल स्ट्राइडले भनेका छन्, ‘बेलायतले अहिले खतरनाक ब्रेन ड्रेनको सामना गरिरहेको छ। हाम्रा धेरै प्रतिभाशाली युवाहरू, शिक्षकहरू, डाक्टरहरू र नवप्रवर्तकहरू विदेशतिर गइरहेका छन् । धनी धेरै त पहिले नै गइसकेका छन्।’

कर परिवर्तन र कमजोर अर्थतन्त्रमा विश्वासको कमीका कारण यस वर्ष १६ हजार ५ सय मिलिनियरहरुले बेलायत छोड्न सक्ने दाबी गरिएको छ । हेन्ली प्राइभेट वेल्थ माइग्रेसन रिपोर्टले बेलायतले चीनको भन्दा दोब्बर र रूसको भन्दा १० गुणा बढी धनाढ्य गुमाउने अनुमान गरेको छ ।

ब्रिटिश मेडिकल एसोसिएसनले गत वर्ष चार हजार बढी चिकित्सकहरुले विदेशमा काम गर्न बेलायत छोडेको जनाएको छ ।

गत वर्ष ब्रिटिश काउन्सिलका लागि गरिएको एक सर्वेक्षणले बेलायतमा बस्ने १८ देखि ३० वर्ष उमेर समूहका लगभग तीन चौथाई (७२ प्रतिशत) ले छोटो वा लामो अवधिसम्म अर्को देशमा बसोबास र काम गर्ने विचार गरिरहेको देखाएको थियो ।

मुख्यतया राम्रो रोजगारीका अवसर र गुणस्तरीय जीवनयापनका लागि सबैभन्दा लोकप्रिय गन्तव्य देशहरू अष्ट्रेलिया, अमेरिका, क्यानडा र इटाली जान खोजिरहेको सर्वेक्षणमा सहभागी युवाको धारणा थियो ।

स्वतन्त्र अर्थशास्त्रीहरुको संस्था द ग्रोथ कमिसनका अध्यक्ष शंकर सिंघमले आप्रवासन संख्याले बेलायतका लागि विपत्तिको संकेत गरेको बताएका छन् । ‘समस्या यो हो कि सन् २०२४ मा २ लाख ५० हजार बढी प्रडक्टिभ मानिस विदेश गए र लगभग १० लाख कम क्षमतावान मानिस (कानूनी र अवैध गरेर) भित्रिए’, उनको भनाइ छ, ‘७ करोडभन्दा कम जनसंख्या भएको देशमा एक करोड काम गर्ने उमेरका मानिसले काम नगर्ने भएपछि यो संख्याले बेलायतका लागि विपत्तिको संकेत गर्दछ ।’

उता, नयां तथ्याङ्कले गत वर्ष बेलायत फर्कने बेलायती नागरिकहरूको संख्या पनि ६० हजारबाट बढेर १ लाख ४३ हजार पुगेको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू