शनिबार, वैशाख ८, २०८१
19:37 | ००:२२

विश्वभर सङ्क्रमितको सङ्ख्या ६० लाख बढी, तीन लाख बढीको मृत्यु

रासस -एएफपी मे ३०, २०२०


जेनेभा । शनिबारसम्ममा विश्वभर सङ्क्रमितको सङ्ख्या ६० लाख ६९ हजार पुगेको प्रभावित मुलुकहरूका स्वास्थ्य मन्त्रालय तथा सम्वद्ध संस्थाहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । अमेरिकाको जोन हकिन्स विश्वविद्यालयका अनुसार शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन लाख ६० हजार ४०० भन्दा बढी पुगेको जनाएको छ ।

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १७ लाख ९४ हजार १५३ रहेको छ भने एक लाख चार हजार ५५० सङ्क्रमित अमेरिकीको अहिलेसम्म मृत्यु भएको छ । अमेरिकामा व्यक्तिको उपचारपछि निको हुने सङ्क्रमित व्यक्तिको सङ्ख्या पाँच लाख १९ हजार ६११ पुगेको छ ।

अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा धेरै मृत्य अमेरिकामा भएको छ भने त्यसपछि क्रमशः बेलायत, इटली, फ्रान्स र ब्राजिल रहेका छन् । बढी प्रभावित दक्षिण एशियाली मुलुकमा धेरै सङ्क्रमितको सङ्ख्या भारतमा रहेको छ । पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, नेपाललगायतका मुलुकमा पनि पछिल्ला दिनहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।

भारतमा सङ्क्रमितको सङ्ख्या एक लाख ७४ हजारभन्दा बढी पुगेको छ भने पाकिस्तानमा ६६ हजार ४५७, बङ्गलादेशमा ४४ हजार ६०८ र अफगानिस्तानमा १४ हजार सङ्क्रमित रहेका छन् ।

नेपालमा शनिबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ४०१ पुगेको छ भने ७ जनाको मृत्यु भएको छ । ब्राजिलमा विगत २४ घण्टामा एक हजारभन्दा बढी सङ्क्रमितको मृत्यु विश्वव्यापी महामारीबाट बढी प्रभावित मुलुकहरूमध्ये ब्राजिल पाँचौ स्थानमा परेको छ । कोरोनाभाइरस सङ्क्रमणका विगत २४ घण्टाको समयमा मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

ब्राजिलमा शनिबारसम्म २७ हजार ८७८ कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । “शनिबारसम्ममा ब्राजिलमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या चार लाख ६५ हजार १६६ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार १२४ पुगेको छ,” मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा कूल २६ हजार ९२८ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सबैभन्दा बढी साओपाओलामा एक लाख व्यक्ति सङ्क्रमित भेटिएका छन् भने करिब सात हजार ३०० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । त्यसपछि बढी प्रभावित स्थानहरूमा रियो दि जेनेरियो, सिएरालगायतका शहर छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू