शुक्रबार, असार ४, २०७८
07:22 | १२:०७

‘क्यालोरी बर्न’ यात्रा अनुभूति

गोविन्द बेल्वासे मे ३०, २०२०

आधा शताब्दी छिप्पिएको मेरो रगतको रिपोर्ट हेर्दै डाक्टरले ‘क्यालोरी बर्न’ गर्नुस्, नत्र औषधि खानुपर्छ भनेका थिए । यो क्या–लोरी के रहेछ ? सानोमा सुताउनका लागि हजुरमाले गाउने कुनै ‘लोरी’ त पक्कै होइन होला ’क्यालोरी’ भन्ने सोँच्दै घर पुगेँ त्यस दिन ।

विहे गर्दाका वर्ष विहानै बुढीले रातो माटोले दैलो लिप्ने गर्थिन्, मैले गाबुको पानीले थुन पखालेर ग्वार–ग्वार भैसी दुन्थेँ । त्यसो गर्दा उनको छिनेको कम्मर थियो, मेरो लर्के ज्यान । त्यसैलाइ पो क्यालोरी वर्न गरेको भन्दारैछन् डाक्टरले । यो विदेशमा न त दैलो लिप्ने चलन न त भैसीको गोठ नै भयो आफ्नो । दैलो लिप्न र ढिकी कक्कल ढ्याङ गर्न नपाएर कसैले डायटिङ त कसैले जिम धाउने मेसो गर्दा रहेछन् । बाटोतिर दगुरे पनि क्यालोरी बर्न हुन्छ भन्ने सुनेर लागेँ पार्क तिर जगिङ (दौड्न) गर्न ।

मे (जेठ) महिनामा पनि यो बेलायतमा धेरैजसो ठिहिराउने चिसो नै हुन्छ बिहानमा । गीतै त गाउँछन्, ‘लण्डनको चीसोले समाउला…।’ तै पनि क्यालोरी बर्न गर्न भन्दै बिहानै ६ बजे उठेर लागेँ ’नीन पार्क’ तिर । यो देशको घाम पनि अनौठो छ । आजभोलि साढे चार बजे बिहानै छ्याङ्गै उज्यालो हुन्छ । ६ बजे त घाम माथि पुगिसक्ने अनि डिसेम्बरमा भने बिहान आठबजेसम्म पनि अँधेरै हुन्छ । पार्करोडको ’डबल क्यारिएज वे’ (२/२ =चार लेन) मा दगुरेका मोटरका माथिबाट मान्छे मात्र हिँड्न मिल्ने साघुँरो पुल तरेर कार पार्क र गल्फकोर्स बीचको बाटो काटें ।

गल्फकोर्सको काँडेतारको बारलाई बाँया पारेर अगाडि बढ्न थाल्दा उताबाट दौडदै अधबैँसे एक जोडी आउँदै रहेछन् । तिघ्रा र पाखुरासम्मका छोटा दौड्नकै लागि शरीरमा टिपिक्क परेका कपडामा कम्मर छिनेकी श्रीमती र गठिलो ज्यानका लोग्ने जस्ता देखिन्थे । बिहानै उठेर दगुरेर फर्किँदै भएर होला असिना पसिना भइसकेका रहेछन् । रगत चुहिएला जस्ता राता गाला पार्दै दगुरिरहेका । पेटीको बाँयापट्टि तर्किएर म पनि आफ्नो जगिङ कै तालमा उनीहरू म नजिक पुग्दा मैले ‘गुड मर्निङ’ भनें । लोग्ने चाहिँले पनि भनेको र मैले भनेको एकै पटक भएछ । चिन्दै नचिने पनि बोलिहाल्ने र हाँसिहाल्ने स्थानीय चलनलाई बडो हृदयता जनाउँदै उनीहरूको मेरो भन्दा तीन गुणा छिटो गतिको दौडाइकै गतिमा अघिपछि हुँदै गए । म भने इन्द्रपुरीको गेटमा छिरेँ ।

यो ठाउँको नाम इन्द्रपुरी भनेर मैले नै राखिदिएको नाम हो । अप्रिल महिनाको एउटा आइतबारको दिन दिउँसोको चहकिलो घाममा छिमेकी मित्र किरणसंग आउँदा पहिलो पटक यसलाई इन्द्रपुरी गेट भनेर उनलाई चिनाएको थिएँ । त्यस दिन उनी पहिलो पटक त्यता पुगेका थिए । मलाई भने दुई वर्षदेखि नै सधैजसो त्यो गल्लीमा हिँड्ने बानी परेको थियो । खुब रमाइलो लाग्ने, मेरै उमेरका किरणलाई मैले बोलाएर त्यस दिन त्यता लगेको थिएँ । नभन्दै त्यो मोहनी लगाउने सौन्दर्यले उनलाइ पनि पल्काइहाल्यो । उनले पनि त्यतातिरको पदयात्रालाई निरन्तरता दिन थालिहाले ।

करिब २ सय मिटर जतिको छ यो इन्द्रपुरी द्वार (गेट) । अप्रिल महिनामा त सेतै फुलेको हुन्छ यसका हाँगामा । गल्फ क्लबको काँडेतारबाट र पेटीको दाँयाबाट अग्लिएका लहरे हाँगा परैसम्म जेलिएर बनेको गेट भित्रभित्र लामै हिँडेपछि बल्ल सकिन्छ यो गेट । किरण पहिलो दिन आउँदाको त्यो सेताम्मै मालाको घेराभित्र छिरेर पारि निस्कँदा अचम्मको आनन्दको अनुभूतिले उनी पनि म जस्तै भुतुक्कै भएका थिए । नोभेम्बरदेखि फेब्रुअरीसम्म त पात पनि झरेर सिख्रै हुन्छन यी लहरा । यसका हाँगा र बाँयातिर गल्फ कोर्सको हरियो चौर, अग्ला रूख, चक्के झोला लतार्दै लम्केका गल्फ खेलाडी छ्वाङ्गै देखिन्छन् । अहिले भने न त दाँयापट्टिका अग्ला बिल्डिङ नै देखिन्छन्, न त आकास नै देखिन्छ । जता हेरे पनि कागज काटेका साना टुक्रा जस्ता सेता फूल । भूइँमा समेत मान्छेले टेकेका ठाउँमा पिल्सिएका र यत्रतत्र सेतै छरिएका हुन्छन् यी सेता फूल, यो गेटको वारिदेखि पारिसम्म नै ।

त्यो द्वार सकेर निस्कँदा अलि उज्यालो देखियो । लहरे हाँगा बेरिएका पात, फक्रिएका फूल र पातला हाँगाले जेलिएर छेकेको बिहानीको लाली हराउँदै चहकिलो हुँदै गरेको घामको उज्यालोको चकमन्नले, सुरूङबाट निस्किएको अनुभूति गरायो । अब मसंग दुई विकल्प थिए । एक्लै भएकोले आफ्नै मन भित्रको सिधै गएको कालोपत्रे गल्ली नै पच्छाउँ भन्ने एक विचारलाई दाँयापट्टिको झाडीभित्रको गोरेटोमा पसौँ भन्ने विचारले जित्यो र लागें दाँयातिर । अग्ला रूखको तप्केनीमा अल्झिएका झाडीमा हिँड्ने मान्छेका पाइलाको डोब र साइकलका चक्काले बराबरी दख्खल दिएर बनेको छ यो गोरेटो । यत्रतत्र रूखका जरा थेचारिन नमानेर कालो माटोको सतहभन्दा अग्लिएर तेर्सिएका छन् । न त ती जरा नाघेर अघि बढ्न मैले खुट्टा बढि उचाल्नपर्यो, न त साइकलका चक्कालाई छेक्न सक्ने अवस्थामा बलवान ठहरिन सकेका छन् । बुट्यान र रूख तर्किएर हिँड्दाहिँड्दा गोरेटो भने अलि नागाबेली आकारको भएको छ । सिधा हिँड्छु भन्नेका लागि थोरै बढि घुमाउरो पर्ने घोडेटो छँदैछ । आधा भन्दा बढि घामको किरण नै छेकिने यो गोरेटोमा पसेर घोडेटोमा निस्कँदाको आनन्द नै फरक हुन्छ । यही आनन्दको मोहनीले मलाई धेरैजसो यता छिराउँछ । यो गोरेटो थोरै मात्र हिँड्न पाए पनि बचपनमा बोक्टापुरबाट जङ्गल छिरेर रन्गाइका फाँटमा निस्कँदा रमाएका सम्झनाको धित मेटाइदिन्छ ।

बाँयाट्टिको खोलासम्मको ओरालोमा ठडिएका अग्ला रूखको ढिकैढिकमा लम्पसार परेको घोडेटोमा दाँयातिर ठडिएका रूखले छेक्ने र झुल्कने घामको पारिलो मौसममा अगाडि बढ्दै गर्दा उताबाट सेताम्मे दाह्रि फुलेका बुढा र सायद उनकी पत्नी एउटा कुकुर डोर्याउँदै हिँडेका देखिए । कानमा जोडिएको हेडफोनमा बीबीसी रेडियो–फोरमा बजिरहेको कार्यक्रमले धर्म दर्शनका विषयमा हिन्दूहरूको मोक्ष र बौद्ध धर्मको निर्वाणाको विषयको चर्चामा ध्यान एकाग्र पारेको रहेछ । कत्ति छिटो उनीहरू नजिकै पुगेछन् । उनीहरूले ’गुड मर्निङ’ भन्दा रेडियोमा एकाग्र भएको ध्यान कम गर्दै उनीहरूको मृदुभाषी अभिवादनलाई सहर्ष स्वीकार गर्दै म उनीहरूलाई पछाडि पारेर पाइला चाल्दै रहेँ । मनले ‘हाउ लभ्ली डे, टुडे’ भन्नु पर्यो भन्ने सोच्दासोच्दै उनीहरू कटिसकेका थिए । यस्तो बोलीचालीका लागि चिनजान नै हुन नपर्ने यहाँको सामान्य चलनलाई मैले पच्छ्याउने प्रयास गर्दै थिएँ ।

अगाडिपट्टिको घोडेटोको छेउँमा एउटा बेञ्च देखियो । यहाँनिरको यो बेञ्चले सानो छँदा मोटर नपुगेका ती नेपालका पहाडमा हिँड्दा भेटिने ढाक्रेहरूको ताँती, उनिहरूले भारी बिसाउने यस्तै बेञ्च र घोडसवार महाजनहरूको सम्झनाले सताउँछ । ती खस्रा बेञ्च भन्दा यो बेञ्चको फिनिसिङ अलि सर्लक्कको छ, बान्की मिलेको देखिन्छ । नत्र आकार प्रकार, उचाइ पछाडिपट्टि ढाड अडेस लाग्ने फलेक सवै ठ्याक्कै उस्तै छन् । सायद आधुनिक प्रविधिले सजिसजाउ मोटरबाटो नहुँदासम्म यहाँका गोरेको पनि हाम्रै जस्ता भरिया र बाटोमा भारी बिसाउने चलन थियो होला । त्यही सम्झाउन पुरानै ढाँचा कायम गर्ने यो झलक राखेका होलान् भन्ने अनुमान गर्न पुग्छु म ।

त्यो बेञ्चभन्दा अलि अघि बाँयापट्टिको ओरालो झर्न काठ जोडेर खुड्किला पारेर बनाइएको सिंढिमा देखिएको सुकेको गोबरको थुप्रोले तलको खोलापारि चर्दै गरेका गाईको बथानलाइ यतैबाट ल्याउने–लैजाने गर्दाहुन् भन्ने अनुमान गर्न गाहे भएन । तर, मैले ती गाईका बथानलाई त्यही काँडेतारले बारेको खोलापारिको घाँसे मैदानमा कहिले चर्दै गरेको त कहिले पाहुर लाउँदै गरेको देखेको छु । यो सिंढीमा हिँडेको भने देखेको छैन । ती गाई र त्यो चौर यहाँनिरबाट भन्दा पारिपट्टिको तालतिरबाट राम्ररी देखिन्छ । आखिर अगाडि बढ्दै गएर पुरानो भइसकेको पुलबाट त्यो खोला तरेर तालनिर पुगिहाल्छु म । अनि उतैबाट सबै देखिन्छ भन्ने मनमा कुरा खेलाउँदै म अगाडि बढ्छु । घोडेटो बाटो अलि बाँया घुमेर ओरालो लाग्दै गर्दा एउटा एघार–बाह्र वर्षकी बच्ची र सायद उनकी आमा होलिन्, उकालोमा साइकलको प्याडल मार्न नसकेपछि साइकल डोर्याउँदै उकालो चढ्दै गरेका भेटिए । उनीहरूसंग पनि ‘गुड मर्निङ, हाउ आर यू’ भन्ने औपचारिक संवाद दोहोरियो । सौहार्दता उस्तै थियो ।

जहाँ जे कुराको अभाव हुन्छ, त्यहाँ त्यही कुराको महत्व भइ नै हाल्छ । बेलायतमा उज्यालो र न्यानो बिहानी कमै भेटिने हुनाले यो सुनौलो बिहानीको आनन्द लुट्न यति बिहानैबाट ताँती नै लागिसकेका छन् । कोही दगुर्नेहरू, कोही कुकुर डोर्याउँदै हिँड्नेहरू, कोही साइकल दगुराउनेहरू । कालोपत्रे गरेको पेटीमा हिँड्न–दौडन र साइकिलिङ गर्न रूचाउनेहरू धेरै भेटिन्छन् । घाँसे गोरेटो रूचाउनेहरू खोलाको पारिको तिरैतिर हिँड्ने थोरै हुन्छन्, म जस्तै घोडेटोमा हिँड्ने–दौडने पनि थुप्रै हुन्छन् ।

ओरालो झरेपछि खोलाको वारि तिरैतिर काठका फलेक र काठकै बारले बनाएको पेटी हुँदै हिड्ने बाटो पनि यही घोडेटोमा यहीनिर पुगेर मिसियो । अगाडि घोडेटो सकिएर कालोपत्रे पेटीको बाटोको मिलन हुने ठाउँको पक्की पुलले पक्कै दुई सय वर्ष पुरानो त भइसके होला भन्ने झल्को दिइरहेको भेटिन्छ । हिड्ने कालोपत्रे पेटीको बाँया र दाँया दुवैतिरका गाई चरिरहेका चौरको खोलातिरको घाँसे गोरेटो छेउबाट हिड्ने रहर त्यति हुन्न मलाई । रिभरसाइडको तालमा माछा मार्न आधुनिक सरजामले सुसज्जित मान्छेको रहर देखेर पनि छक्क पर्ने गर्छु म । तर, फरक फरक मान्छेका फरक फरक रहर भन्ने भावनाले चित्त बुझाउँछु । हुन त, वर्षाको छुट्टिमा बुढ्ढि गाउँमा जाँदा तालमा दौतरीहरूसित गड्यौँलाको केचना उनेर माछा फसाउने बल्छी खेल्न गएको अनुभव त छ मेरो पनि । तर, त्यसमा उनीहरू जति म कहिल्यै रमाउन सकिन ।

भाडामा लिएर तालमा तैरन रूचाउने विभिन्न खाले डुङ्गामा रमाउनेहरू भने अझै आइसकेका रहेनछन् । तालका हाँसहरू आफ्नै तालमा रमाइरहेका थिए, सायद अलि बेरपछि मान्छेको भिड लाग्नु भन्दा पहिलै रहर पुरा गर्न हतार गर्दै थिए क्यारे । नदीपारिको जङ्गल जस्तो खोला तरेपछि झाडी पनि छैन । फाट्टफुट्ट रूख बाहेक हरिया चौर रिभर–साइडदेखि फेरि–मेडोज सम्मको ताल पारिसम्मै फैलिएको छ ।

त्यो तालमा नीने रिभरबाट पानी ल्याइएको कुलो र काठे पुलमा पुग्दा मलाई परसहवाको खेतको लठ्ठहवाको काठे पुलको धित मर्छ भन्नु कि सम्झना ताजा हुन्छ भन्ने जस्तो लाग्छ । बचपन र किशोर अवस्थाका ती पुराना दिनहरू ताजा भएर मन भित्र मडारिन्छन् । अलि अगाडि बढेर घोडा फारमतिर जाने कालोपत्रे पेटी र फेरिमेडोजतिर सरासर जाने पेटी छुट्टिने ठाउँ नजिक पुग्दा सधैजसो भेटिने गुजरातीहरूको समुह अर्को पट्टिबाट आइपुग्यो । उनीहरू तालको वरिपरि गरेर करिब चार किलोमिटर हिँड्दा कतै न कतै त भेटिन्छन् नै । उनीहरूसंग भारतीय तालको सौहार्द हालचाल अंग्रेजी भाषामै आदानप्रदान हुने गर्छ । अक्सर उनीहरूको टोलीमा ६ जना हुन्छन् । तर, बेलाबखत संख्या घटबढ भएको हुन्छ । त्यसमध्येकी एउटी महिला अलि धेरै नै फरासिली छन् । म कहिलेकाँही दुई चारदिन त्यता गइन र भेट भएन भने कहाँ गएको थिइस् भनेर निधिखोजी पनि गर्छिन् । एक वर्ष अघिसम्म त दिनदिनै बिहानमा म त्यो पार्कमा पुग्ने भएकोले सधैजसो भेट हुन्थ्यो उनीहरूसंग । धेरैजसो त त्यही इन्द्रपुरीतिरै भेट हुन्थ्यो उनीहरूसंग । तर, जाडोमा चिसोले दाँत दुख्न थालेपछि जिममा जान थालेको र जाडो धेरै नहुँदा मात्र त्यो पार्कमा पुग्ने हुनाले पहिला जस्तो सधै भेट हुने क्रम भने टुटेको थियो ।

उनीहरू भेट भएनिरको दाँयापट्टिको पेटीबाट अगाडि गयो भने रेलको लिक पारि एउटा घोडा पालेको फारम छ । पेटी बाटोकै नजिक ठड्याइएको टिनको बोर्डमा घोडा चढ्न घण्टाको ७५ पाउण्ड दर समेतका सूचना पनि टाँसिएको छ । त्यो पार्कको खोलाको तिर हुँदै घोडेटो बाटोमा विरलै भेटिने घोडसवारहरू पक्कै यहीका घोडा भाडामा लिएर चलाएका होलान् भनेर अनुमान गर्ने गर्छु ।

एक वर्ष अघिसम्म जाडो याममा हिउँ पर्दा समेत बिहानमा पार्कमा दगुर्दा दाँत दुख्न थाल्यो । दाँतको डाक्टरले दाँतको समस्या होइन भनेपछि चिसोले दुखेको रहेछ भन्ने ठानेर धेरै चिसो हुँदा बाहिर ननिस्कने, बरू जिममा जाने गर्न थालेपछि भने दाँतको त्यो समस्या हराएर गयो । तर, जिममा जान थालेपछि पार्कमा दगुर्दाको घामको किरण देख्न हरायो । त्यसले गर्दा रगतमा भिटामिन डी को कमी देखिएपछि निरन्तर ट्याबलेट खाएर घामको गर्जो टार्न थालेँ, दातको दुखाइ भन्दा त्यही विकल्प ठिक मानेको छु ।

बिहानै भएकोले धेरै भिड भइसकेको छैन, घमाइलो न्यानो दिनमा त चौरभरि नै भान्छे भरिएका हुन्छन् । कसैले केटाकेटीलाई छुक्छुके रेलमा चढाएका, कसैले फेरिमेडोजनिर ठडाइएका बाँदर दगुर्ने जस्ता लिस्ना र पिङमा बच्चालाई खेलाउन ल्याएका हुन्छन् । यस वर्ष कोरोनाभाइरसले गर्दा रात काट्ने गरी क्याम्पिङ गर्नेहरू देखिएका छैनन् । नत आर्चरी खेल्न चौरको एउटा भाग ओगट्नेहरू नै छितरिएका छन् । तर यो रोगको डर कम भएपछिको भीडले गर्दा रिभरसाइड र फेरिमेडोजका रेष्टुरेन्टले पनि अरू वर्ष जस्तो राम्रो कमाइ गर्ने मौका समाउन पाएका छैनन् । यती धेरै गाडी लिएर आउने हुनाले पनि यहाँको व्यवस्थापन ट्रस्टले कार पार्कको दस्तुर उठाएर पनि राम्रै खर्च पनि जुटाउँछ होला ।

(लेखक बेलायतस्थित एक अधिवक्ता र साहित्यकार हुन् ।)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू