शनिबार, वैशाख १५, २०८१
06:08 | १०:५३

इकोराइटिङको उत्कृष्ट उदाहरणः कथा ‘वुहान, कोरोना र ब्लु प्लानेट’

ज्ञानबहादुर छेत्री मे २९, २०२०

ज्ञानबहादुर छेत्री

साहित्यकार विजय हितान मेरा लागि अपरिचित होइनन् । किनभने हाम्रो कायिक भेट नभए पनि मायिक भेट भइसकेको छ । समालोचक तथा बरीष्ट साहित्यकार डा. गोविन्दराज भट्टराईले ‘बाग्मती ब्लुज’ र ‘थकित पृथ्वी’ द्वारा हितानसंग मेरो भेट गराइदिनुभएको हो । ‘थकित पृथ्वी’ भित्रका कथाहरु र ‘बाग्मती ब्लुज’ भित्रका कविताहरु पढने मौका अहिलेसम्म जुरेको छैन् । तथापि त्यसभित्र डा. भट्टराईले लेख्नुभएको भूमिका पढेको छु । ति भूमिकाहरु पढेपछि ५० प्रतिशत पुस्तक पढेजत्तिकै भएको छ। ति संग्रहमा कतिपय रुमानी प्रेमका, कतिपय लाहुरे जीवनका अनि सबैभन्दा महत्वपूर्ण पर्यावरण विषयका कथा र कविता समावेश गरिएका छन् भन्ने कुरालाई विश्लेषण गरेर भूमिकाकारले उच्च मुल्यांकन गर्नुभएको छ ।

हितानले ‘इकोराइटिङ’ लाई पक्रेका छन् । डा. भट्टराईको उत्तरआधुनिक साहित्य विमर्शको मुख्य धार यही हो । डा. भट्टराईले सर्जक विजय हितानलाई न्याय दिनुभएको छ । उनको सर्जक प्रतिभालाई एक्सपोजर दिनुभाछ । नभए उनी यति उच्चकोटीका साहित्यकार हुन् भन्ने कुरा हामी पाठकलाई थाहा हुने थिएन ।

आज पुनः साइबरीय भेटको चांजो डा भट्टराईले मिलाइदिनु भयो हितानसंग, उनको हालै प्रकाशित कथा ‘वुहान, कोरोना र ब्लु प्लानेट‘ मा ।
‘मरुभूमितिर रुपान्तरित हुंदै गएको माटो कसरी उर्वर हुंदैछ?’ भन्ने प्रश्नसूचक वाक्यबाट कथा शुरु भएको छ। यसमा के छ रहस्य ? कथाकारका मनमा जागेको प्रश्नले पाठकलाई पनि सोच्न वाध्य गराउंछ ।

कथाको पृष्ठभूमि वुहान छ । सन् २००१ सालमा डेभिड एटेनब्रोलाई सूत्रधारका रुपमा लिएर बीबीसीले निर्माण गरेको प्रकृति विषयक डकुमेन्ट्री ’द ब्लु प्लानेट’ का आधारमा पहिलो पटक नेपाली भाषामा आख्यान सिर्जना हुनु महत्वपूर्ण हुनुका साथै यसले कीर्तिमान पनि खडा गरेको छ । कथाकारका हजुरबा प्रख्यात ब्रिटिश प्रसारणकर्ता र निर्माता डेभिड एटेनब्रोले ब्लु प्लानेट नामको डकुमेन्ट्री निर्माण गरेर टिभी सिरियलका रुपमा प्रसारित गराएका थिए । खुबै लोकप्रिय भएको थियो सिरियल । प्रकृतिमा परिवर्तनको रहस्य पत्ता लगाउने उद्देश्यले हजुरबाका पाइला पछ्याउंदै कथाकार चीनको वुहान शहर पुग्छन् ।

हजुरबाले निर्माण गरेको डकुमेन्ट्रीमा पहिले गुफामा चमेराहरुको परिस्थिति देखाइएको थियो । वायु प्रदूषणको तुंवालोमा झुक्किएर आधाजसो चमेरा सखाप भएछन् । दोस्रो श्रृंखलामा प्लास्टिक प्रदूषणको कारण कानमा प्लास्टिकका टुक्रा अडकिएर छटपटाइरहेका डलफिन, जालले पासो लागेका सिलहरु अनि प्लास्टिकका चीज निलेर ह्वेलहरुको भयावह दृश्य थियो । तेस्रो श्रृंखलामा सागरको पानी अम्लीय हुंदै गएकाले कोराल रीफहरु कसरी खुइलिंदै गए त्यसको दृश्य थियो।

लेखक वुहान पुगेका छन्, बाबुले जस्तै आजको परिवर्तित परिवेशलाई लिएर एउटा भिडियो बनाउन चाहन्छन् । एउटा परित्यक्त भवनमा चमेराहरु ढुक्कले बसेका थिए । उनले त्यसको सुटिङ गरे ।  सानो छंदा देखेको कहिल्यै नसुत्ने वुहान शहर यतिखेर चकमन्न थियो । सबै स्वच्छ, याङ्जे नदी स्वच्छ। वनजंगलले ढाकेको छ । कता सरे होलान चमेराहरु, लेखक सोच्छन् । रात चमेरालाई दिएर मानिसले दिन आफूलाई राखेको कथनले परिवर्तनका कुरा संकेत गरेको छ ।

डा. भट्टराईद्वारा लिखित उत्तरआधुनिक विमर्श पृ. १९३-२२४ मा परिवृत्तीय साहित्यको सविस्तार चर्चा गरिएको छ । इकोसिस्टम, इकोलजिकल निस, फुड चेनका कुरा पनिसोही पुस्तकमा पढेको थिएं (पृष्ट २०५) । विजय हितानको कथामा पृथ्वीका हरेक तत्वहरु एकापसमा कसरी अडेसिएका हुन्छन् अनि एउटा तत्वमा आएको परिवर्तनले कसरी सबै तत्वहरु प्रभावित हुन्छन् त्यस कुरालाई साह्रै आकर्षक शैलीमा प्रस्तुत गरिएको छ ।

यस कथामा प्रदूषणका कुरालाई बडो होसियारी र टेक्निकका साथ कोरोना महामारीसंग जोडिएको छ।
सुटिङ थलोबाट होटलतिर फर्किंदा गाइडले ‘सीफुड’ मार्केट छेउमा गाडी रोक्न लाए । उनले लेखकले बनाउन आंटेको फिल्म र यो बजारको कुनै ताल्लुक हुन सक्छ भनेर लेखकमा मनमा खुल्दुली लगाइदिए ।

गाइडले एउटा अनौठो कहानी सुनायो। वास्तवमा यही कल्प कहानीलाई केन्द्र गरेर अरु प्रसङ्गहरु जोडिंदै दशैं दिशामा फिंजिएर कथारुप बनेको छ ।

त्यस ठाउंमा गाइडका हजुरबाको सालक, सिभेट, सर्प, भ्यागुता बेच्ने पसल रहेछ । हजुरबा पहिले रुघाखोकी, त्यसपछि श्वासप्रश्वासको बिमारीले खसेछन् । अरु धेरै मान्छे सोही बिमारले मरेको कुरा गाइडले सुनायो। वुहानकै एकजना डाक्टरले नयां किसिमका भाइरसको कुरा भाइरल गरेको अनि चीन सरकारले कारवाही गरेको कुरा पनि सुनायो। त्यो सुनेर लेखक झसङ्ङ झस्किए । किनभने उनका हजुरबा डेभिड एटेनब्रो पनि त्यही लक्षणको कोरोना महामारीमा स्वर्गे भएका थिए। उनको मृत्यु हुंदा सबैतिर लकडाउन थियो । फेसबुकबाट श्रद्धाञ्जली दिनुपरेको थियो । गाइडले उनको नाम सुनेको रहेछ । हरितगृह ग्यांसको उत्सर्जन आधा कटौती गरिएन भने मानवले अकल्पनीय क्षति बेहोर्नु पर्नेछ भनेर उनले चेतावनी दिएको कुरा उसले सुनायो।

कोरोनालाई रोकथाम गर्न मान्छेलाई धेरै समय लाग्यो, दुई वर्षमा खोप निकालिछाड्यो। त्यतिञ्जेलमा पृथ्वीको रङ्गरुप नै फेरियो । पृथ्वीको अनुहार ब्युटी पार्लरबाट निस्केकी युवती जस्तै देखियो । कथाकारले चीन सरकारको ढाकछोप नीति, वुहानको डाक्टरको रहस्यजनक मृत्यु, पर्यावरण एक्टिभिस्ट ग्रेटा थुनबर्ग, प्यारिस सम्झौता, साइबर युद्ध जस्ता सम्बन्धित प्रसंगहरुलाई राम्रो मिलाएर उनेका छन् । यो कथा पढ्दा कुनै रहस्य उपन्यास पढे जस्तै लाग्छ ।

विजयको कथा बुन्ने सीप मान्नुपर्छ। विश्वमा प्रसिद्धि कमाएका पात्र र सत्य घट्नासंग स्थानको समेत तादात्म्य राखेर स्वैरकल्पनाको संमिश्रणमा कथारुप दिने अद्भूत कौशल छ उनमा । विजयको यो कथालाई फेक्ट र फिक्सनको केमिस्ट्री भन्न सकिन्छ । एकाध ठाउंमा कथामा उबडखाबड र अनावश्यक जस्ता लाग्ने कुरा पाइन्छन् तर ती पनि उत्तराधुनिक कथाका विशेषता देखाउने तत्व हुन् भन्ने ठानेको छु । किनभने नदी होस् या मान्छेको जीवन, कहां पो बगेको छ र एकनासले।

लेखकले पर्यावरण विज्ञानलाई काव्यिक अभिव्यक्ति दिएका छन् ।

हेरौं-

शीतल भएपछि पृथ्वी पग्लिन छोड्यो हिमाल। पग्लिन छोडेपछि हिमाल, बढ्न छोड्यो सामुद्रिक सतह । बढ्न छोडेपछि समुद्र, डुब्न छोडे शहर बजार ।…गर्न छोडिएपछि यस्ता विनाश आउने नै भो जैव विविधता । पुनस्थापित हुन गयो ‘रेन फरेस्ट’ ।

सारा विश्वलाई स्तव्ध पारेको कोरोना महामारी कसरी हुनगयो अनि यसका नकारात्मक सकारात्मक दुबै पक्षलाई कथामा छर्लङ्ग पारिएको छ। आफ्नो ज्यान जोगाउने वाध्यतामा लिइएका उपायहरुले गर्दा पृथ्वीको प्रकृत सुन्दर रुप फिरेको छ ।
अन्त्यमा नेपाली कथा साहित्यमा विजयको यो कथा माइलस्टोन बन्नेछ भन्नेमा म विश्वस्त छु ।
(९ मे २०२०, तेजपुर, आसाम, भारत)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू