शुक्रबार, वैशाख १४, २०८१
12:26 | १७:११

कथा : वुहान, कोरोना र ‘ब्लु प्लानेट’

विजय हितान अप्रिल २९, २०२०

कथाकार विजय हितान

मरुभूमितिर रुपान्तरित हुँदै गरेको यो माटो फेरि कसरी उर्वर बन्दैछ ? भुइँमा खसेर झुर्मैलो फूलसरह भइसकेको यो प्रकृति, मगमग सुबास छर्दै फेरि कसरी फक्रिंदैछ हँ ? यति छिट्टै पृथ्वी कसरी कायापलट हुँदैछ भनेर मेरो खुल्दुली आकासिंदै गयो ।

त्यहि खुल्दुली मेटाउन आज म ‘वुहान’ शहर आइपुगेको छु । हजुरबाको पदछाप पछ्याउने रहरले पनि मलाई यहाँ ल्याइपुर्याएको हो । वहाँले विश्व प्रसिद्ध डकुमेन्ट्री निर्माण गर्नुभएको थियो ‘ब्लु प्लानेट’ ।

होटेलबाट सुटिङ स्थानतिर भ्यान गुडिइरहेको बेला ‘ब्लु प्लानेट’ को एउटा श्रृंखला मेरो सम्झनाको तरेलीमा नाच्न थाल्यो । उक्त श्रृंखलामा अध्याँरो गुफाबाट चमेराहरुको पारिस्थिति प्रस्तुत गरिएको थियो । चराजस्तै उड्ने चमेरा स्तनधारी जनावर हुन् भनेर भनेको पहिलोचोटि सुन्दा म अचम्भित भएको थिएँ । आँप जस्तै तुर्लुङ्ग उँधोमन्टो झुन्डेर कसरी बच्चा जन्माउँदा हुन् र स्तनपान गराउँदा हुन् ? विमानस्थल, सडक, र विशाल शहरले उनीहरु खेल्ने आँगनरुपी वनजंगललाई प्रतिस्थापन गरिसकेको रहेछ । ती बादल छुने भवनहरु देख्दा मलाई लागेको थियो, बिचरा ति चमेरा ! आफ्ना बालबच्चालाई बास बसाल्न त्यहाँबाट अन्त कता सरे होलान् ?

हजुरबाले डकुमेन्ट्रीमा भन्नुभएको थियो, चमेरा रात्रीकालीन जीव हुन् । बिजुली बत्तीको प्रकाश, यातायातको ध्वनी, फ्याक्ट्रीबाट उत्सर्जित ग्याँस यीनका अदृश्य शत्रु बन्दैछन् । मुखबाट निकाल्ने तिखो आवाजको भरमा आफ्नो शिकार छोप्छन् र एक आपसमा कुराकानी गर्छन् । तर प्रदुषणले यस प्रक्रियामा बाधा पुर्याउँछ । यस्तै मानवसिर्जित समस्याको कारणले चमेराको आधा भन्दा बढी संख्या पतन भइसकेको छ ।

पृष्ठभुमीको आकाश देख्दा लाग्थ्यो, त्यो दृश्य साँझपखको अँध्यारोमा खिचिएको थियो । वास्तवमा त्यो अँध्यारो नभएर वायु प्रदुषणको तुँवालो रहेछ । रात भनी झुक्किएर चर्न निस्केका रहेछन् ती चमेराहरु ।

त्यो श्रृंखला हेरेपछि आधुनिक विकासले चमेराको वासस्थान अतिक्रमणमा परेको मैले बुझें ।

*********
तीनै अतीतमा डुब्दै हामीहरु आइपुग्यौं डकुमेन्ट्री छायांकन गरिने स्थल । हजुरबाको ‘ब्लु प्लानेट’ छायांकन गरिएको स्थल पनि यही थियो । आकाशतिर एकचोटी नियालें । आकाशले खुलेर हामीलाई स्वागत गर्दै थियो । प्रदुषणको जालो कतै देख्न सकिन । ‘ब्लु प्लानेट’ मा सुनिएको यो शहरको कोलाहल मैले सुन्न सकिन । सुनिन्थ्यो त चमेराका र पंक्षीहरुका ‘चिं चिं’ र ‘चुइ चुइ’ गीतहरु मात्रै ।

यस्तो लाग्थ्यो, ती अग्ला भवनहरुमा चमेरा र चराहरुले एकलौटी राज्य गर्दैछन् । हाम्रो क्यामेरा त्यतैतिर केन्द्रित गरियो । ’परागसेचन गराउन महत्वपूर्ण भूमिका खेल्ने चमेरा, मानिसद्वारा परित्याग गरिएका यी भवनभित्र मस्त निद्रामा छन् । यी भवनका बासिन्दा दुई वर्ष अगाडिको कोरोना भाइरस महामारीबाट सखाप भएका रहेछन् ।’ भन्ने स्क्रिप्ट क्यामेरतिर फर्केर मैले पढ्दै हाम्रो डकुमेन्ट्रीको छायांकन शुरुआत् गरिएको थियो ।

यसरी आफ्नै डकुमेन्ट्री खिच्दै गर्दा हजुरबाको ‘ब्लु प्लानेट’ का अन्य श्रृंखला पनि हेरेको सम्झना फेरि सजिव बनेर आए । एउटा श्रृंखला थियो प्लास्टिक प्रदुषणको । जसमा देखाइएको थियो गिल्समा प्लास्टिकका टुक्रा अड्किएर छटपटाउँदै गरेका डल्फिनहरु । माछा मार्ने जाली घाँटीमा पासो लागेर अड्किएका सिलहरु । प्लास्टिकका टुक्रा निलेर सामुन्द्रिक तटमा छट्पटाइरहेका व्हेल माछाहरु ।

अर्को श्रृंखलामा देखाइएको थियो कोराल रिफहरु । हजुरबा स्नोकर्लिंग गर्दै भन्नुभएको थियो, ’बढ्दो तापक्रम र प्रदुषणले समुन्द्रको पानी अम्लीय बन्दैछ । जसको प्रभावले खुइलिँदैछन कोराल रिफहरु ।’ कोराल रिफ सागरका रेनफोरेस्ट जस्तै हुन् भन्ने कुरा मैले बुझेको थिएँ । मैले त्यहिँ पुगेर कोराल रिफको डकुमेन्ट्री बनाइ टेलिभिजनमा प्रसारण गर्ने अर्को योजना बुनेको थिएँ । विश्वास छ, त्यतिबेला मैले मुर्झाइसकेका होइनन्, जुर्मुराइरहेका कोराल रिफ देख्न पाउनेछु ।

केही स्थानबाट ति चमेराको शुटिङ गरिसकेपछि एकैछिन टेन्टमा आएर आराम गर्यौं । खाजाको रुपमा कप नुडल र हुबै चिया लियौं । फेरी हजुरबाकै सम्झनाले सतायो । वहाँले मलाई कहिल्लै भन्नुभएको सम्झना छैन कि ‘नाति, तिमी म जस्तै डकुमेन्ट्री निर्माता बन्नुपर्छ ।’ तर हजुरबाको गहिरो छाप ममा पर्दै थियो । म पनि वहाँ जस्तै वन्यजन्तु प्रस्तोता बन्न चाहन्थे ।

जब म हुर्किदैं गएँ, क्रमशः मानवीय क्रियाकलापले प्रकृतिलाई पार्दै गरेको असर देखेर दुखित बन्दै गए । सोच्थे, के रात के दिन ? हाम्रो टोल सुतेको हुन्न । गाउँ सुतेको हुन्न । न त सुतेको हुन्छ शहर । गुडेको गुड्यै, उडेको उड्यै, दौडेको दौड्यै ! घडीको सुइ सरह चलायमान छन् टोल, गाउँ, र शहरहरु । यो अनवरत सुइ छिट्टै विश्राम गर्नुपर्छ, नत्र कतै गएर दुर्घटनाग्रस्त हुन सक्छ । यो एक पृथ्वीले कसरी थेगोस् साढे सात खर्ब मानिसको चाहनाहरुलाई ?

यसरी हजुरबाकै प्रेरणा र ‘ब्लु प्लानेट’ले सिकाएको ज्ञानलाई प्रयोगमा ल्याउँदै म वुहान पुगेको हुँ । अहिले वुहानको ठुलो क्षेत्रफल हरियो वनजंगलले ढाकेको छ । यस शहर भएर बग्ने ‘याङ्जे’ नदी स्वच्छ र निर्मल देखिन्छ । ब्लु प्लानेटमा दिनदहाडै रात सम्झेर उड्ने ती चमेरा अहिले अग्ला भगनावशेषभित्र मस्त निद्रामा छन । सफा जुनेली रातमा मात्रै निस्किंदा रहेछन् आहाराको खोजीमा । पहिला चौबिसै घण्टा नसुत्ने वुहान शहर अहिले मस्त निदाउँदो रहेछ रातमा । पहिले रातमा उड्न नछोड्ने जहाजहरु अहिले साँझ परेपछि टर्मिनलमा तेर्सिंदा रहेछन् । फ्याक्ट्रीका मेशिनहरु दिनभरको थकाइपछि रातमा विश्राम गर्दा रहेछन् । देशको आर्थिक उन्नती दर कुल घरेलु उत्पादन र रोजगारीमा मात्रै सिमित नभइ स्वच्छ हावापानी र प्राकृतिक सम्पदा जस्ता पारीतन्त्र सेवामा अधारित रहेर मापन गर्ने प्रथा बसालिएको रहेछ ।

लाग्छ, आजकाल मानिसहरु रात चमेरालाई दिएर र दिन आफुले लिएर सन्तुलित जिन्दगी जिइरहेका छन् ।

*********
तेस्रो दिन डकुमेन्ट्रीको छायांकन सिध्याएर वुहान शहरको केन्द्र हुँदै होटल फिर्ता भयौं । गाईडले एउटा मार्केट अगाडि हामी चढेको भ्यान रोक्न लगाए । मैले गाईडलाई आश्चर्य मान्दै सोधें, ’हामीलाई यहाँ किन रोक्यौ ? केही छ र हेर्न पर्ने आकर्षक विषय ?’

उसले भन्यो, ’सर, तपाईंले खिच्नुभएको डकुमेन्ट्री र यस मार्केटको सम्बन्ध हुनसक्छ । अहिले यहाँभित्र जान मनाही छ । बाहिरैबाट भएपनि हेरेर जानुस् ।’

मेरा आँखा एउटा साइनबोर्डमा परे । त्यसमा लेखिएको भाषा मैले बुझ्न सकिन । मैले गाईडलाई, ’के लेखिएको छ त्यो साइनबोर्डमा ?’ भनी सोधें । उसको जवाफ थियो, ’वुहान सिफुड मार्केट ।’

म झल्याँस्स भएँ । सुनेको नाम थियो त्यो । मेरो कौतुहलता बढ्यो । फेरी गाईडलाई सोधें, ’हामीले खिचेको डकुमेन्ट्रीसंग यसको के सम्बन्ध हुनसक्छ ? ल भन ।’

उसले सुरु गर्यो एउटा अनौठो कहानी ।

‘तपाईंको डकुमेन्ट्रीमा खिचिएका चमेराले भुइँभरि विस्ट्याइँ गर्छन् । तिनै विष्टलाई सालकले खाएको हुन सक्थ्यो । शिकारीले त्यही सालकलाई समातेर मेरो हजुरबालाई बेचेका हुन सक्थे । यही मार्केटमा मेरो हजुरबाको सालक, सिभेट, सर्प, भ्यागुता, खरायो, मुसा जस्ता वन्यजन्तु बेच्ने एउटा स्यानो पसल थियो । त्यसैगरी अरुका माछा, कछुवा, गङ्गटा, लब्स्टर, स्रिम्पजस्ता सामुन्द्रिक जिव बेच्ने पसलहरु पनि थिए । डिसेम्बर महिनामा मेरो ६५ वर्र्षेे हजुरबालाई अचानक रुघाखोकीको लक्षण देखापर्यो । सात दिनपछि सुख्खा खोकी र ज्वरो आयो । तैपनि पसल जान छोड्नुभएन । दशौं दिनमा श्वासप्रश्वासमा बाधा आएपछि अस्पातलको सघन कक्षमा भर्ना गरियो । पन्ध्रौं दिनमा त वहाँको असामयिक निधन भयो । त्यसपछि उक्त अस्पतालमा हजुरबाको जस्तै रोगले बीमारी भएर भर्ना हुने रोगीहरुको घुइँचो लाग्यो । हप्ता दिनमा मृत्यु हुनेको संख्या सयौं नाघ्यो ।’

उसलाई त्यहिँ रोकेर मैले भने, ’मेरा हजुरबा पनि ९४ वर्षको हुनुहुन्थ्यो, रुघाखोकीले..।’उसले मेरो कुरा बीचमा काट्दै, ’को हुनुहुन्थ्यो र तपाईंको हजुरबा ?’ भनेर सोध्यो ।
मेरो जवाफ थियो, ’डेभिड एटनब्र ।’

’आहा! वहाँको नाम मैले सुनेको । वहाँ टेलिभिजनमा एक प्रचलित प्राकृतिक प्रस्तोता हुनुहुन्थ्यो, हैन र ?’ हाम्रो वार्तालापले अलिक अर्कै मोड लियो ।

उ खुशी हुँदै भन्यो, ’मैले ब्लु प्लेनटको एउटा श्रृंखला हेरेको छु । त्यसमा वहाँले बताउनुभएको एउटा कुरा म कहिल्लै भुल्दिन । भन्नुभएको थियो, एक दशक भित्र हरितगृह ग्याँस उत्सर्जन आधाले कटौती गरिएन भने जलवायु परिवर्तनको प्रभाव अपरिवर्तनीय स्तरले बढ्नेछ । फलस्वरुप मानव सभ्यताले अकल्पनयय क्षति ब्यहोर्नुपर्नेछ ।’

मैले उसको भनाइमा साथ दिंदै भने, ’हो, वहां पर्यावरणका ज्ञाता हुनुहुन्थ्यो ।‘ त्यसपछी उसले सुरुवातको सन्दर्भलाई निरन्तरता दिंदै अगाडि भन्यो, ’हजुरबा बिमार भएर भर्ना गरिएको अस्पातलमा डक्टर लि वेनयाङ कार्यरत थिए । उनले नयाँ खालको महामारी फेलिलेको भनेर सामाजिक संजालमा पोस्ट गरेछन् । आम त्रासदी सिर्जना गर्ने झुटो समाचार फैलाएको भनेर हाम्रो कम्युनिष्ट सरकारले उनलाई त्यसो नगर्न चेतावनी दियो । जनवरीमा त्यसै रोगबाट ती डक्टरको अस्पातलभित्रै दुखद निधन भयो । बिचरा ! त्यसपछि यो रोग हाम्रो देशभरि आगो सल्किएझैं सल्कियो । सरकारले आवतजावतमा प्रतिबन्ध लगायो । यातायातका सबै साधन ठप्प भए । हाम्रो वुहान शहर लगायत अन्य धेरै प्रान्तमा लकडाउन गरियो ।’

*********
हामीहरु यतिबेला होटेल आइपुगेका थियौं । भ्यानबाट शुटिङका सामानहरु झार्दै गर्दा मैले याद गरें, त्यसपछी यो संसार कस्तो विषम परिस्थितिबाट गुज्रेको थियो । क्रमश: यसको डढेलो खाडी मुलुक, युरोप, बेलायत हुँदै अमेरिकातिर सल्कियो ।
शुरुका दिनहरुमा मलाई यस रोगको असर त्यती विकराल लागेन । एक दुई सय संक्रमित र केहीको मात्र मृत्यु हुँदै जाँदा साधारण रुघाखोकी होला भन्ठानेको थिएँ । यती सानो समस्याको नाममा देश नै लकडाउन पार्ने सरकारको पूर्व तयारी देख्दा मनमा शंका-उपशंका अकुंराए, यसलाई हतियार बनाएर कतै जलवायु परिवर्तनलाई रोक्न खोजिंदै त छैन भनेर ।
किनकी अघिल्ला वर्षहरुमा जलवायु परिवर्तनका विश्वव्यापी अभियानहरु चलेका थिए । तीनै मध्येका ‘एक्स्टिङसन रेबेलियन’, र स्विडेनकी किशोरी ग्रेथा थुनबर्गले नेत्रुत्व गरेको अभियान थिए । यसको साथै पेरिस सम्झौता जस्ता महासम्मेलन गरेर जलवायु परिवर्तनले पार्न सक्ने खतराको घन्टी बजाइसकिएको थियो । सबै राष्ट्रले विशाल परिमाणमा आआफ्ना कार्बन पदचिन्ह घटाइहाल्नुपर्ने दबाब सिर्जना भइरहेको थियो ।

तसर्थ प्रत्येक देशका सरकारले जलवायु परिवर्तनको गतिलाई मत्थर पार्ने कठोर नीतिहरु परिचालन गर्न चाहन्थे । तर आर्थिक विकासको होडबाजिले अतिवादी नीति जनतामा एकैचोटी थोपर्न भने सकिरहेका थिएनन् । यद्यपी त्यो फैलिंदै गएको रोग एक खुराक साबित हुन गइरहेको छ कि भन्ने भान मलाई भएको थियो । विश्वका राष्ट्राध्यक्षहरुबीच गोप्य भिडियो कन्फरेन्स बसेर आआफ्नो देश ठप्प पार्ने निर्णय हुन गइरहेको मेरो अनुमान थियो ।

रोगको होहल्ला कुनै भूराजनितीय प्रोपोकान्डा पनि हुन सक्थ्यो भनेर मेरो मनमा शंका नजागेको पनि होइन । लामै अवधिसम्म शीतयुद्ध चल्यो । साइबर आक्रमण बेलाबेलामा भएको सुन्दै आएको थिएँ । अमेरिकाले व्यापार युद्ध चलाएको धेरै भइसकेको थियो । यस्ता भिन्न प्रकृतिका युद्धहरु सिर्जना भइरहेका अवस्थामा यो रोग एउटा मानवनिर्मित जैविक युद्ध हुनसक्ने धेरै आधारहरु थिए ।

*********
सन्त्रासपूर्ण ती प्रारम्भिक दिनका यादलाई मनको मझेरिमा चुलाउँदै नुहाउन बाथरुम पसें । तातो पानीले शरीरलाई भित्रैसम्म आनन्द आउने गरी रुझायो । तर त्यसपछिका दिनमा भोग्न परेका असह्य पिडाले मेरो मुटु फेरि दुख्न शुुरु गर्यो ।
जसै दिनहरु बित्दै गए, त्यो रोगबाट मृत्यु हुनेको संख्या क्रमिक रुपमा बढ्न थाल्यो । यसको विकासक्रमलाई नजिकबाट नियाल्दै गरेको विश्व स्वास्थ्य संगठनले यो रोग कोरोना भाइरसबाट फैलिएको पहिचान गर्यो । यसले महामारीको रुप लिएर विश्वभर फैलिंदै गएको हुँदा सबै राष्ट्रले उच्च सतर्कता अपनाउन आव्हान गरियो ।

तत्पश्चात देशहरुले एकपछि अर्को गर्दै लकडाउन शुरु गरे । अनी उड्न छोडे हावाइजहाज । गुड्न छोडे मोटरगाडी । खाद्य सामग्रीका दोकान बाहेक उद्योग व्यवसाय ठप्प पारिए । सार्वजनिक भेलामा प्रतिबन्ध लगाइयो । फलस्वरुप लाखौं मानिस बेरोजगार बन्न पुगे । देशको अर्थतन्त्र एकैचोटी ओरालो लाग्यो ।

जसरी महामारीले विकराल रुप लिंदै गयो, मेरो मनोबल गिर्न थाल्यो र म भित्रभित्रै डराउन थाले ।महामारीबाट हाम्रो परिवार पनि अछुतो रहन सकेन । महामारीको कारण हजुरबालाई गुमाउनपर्यो । हजुरबा सिकिस्तै भएपछि अस्पताल लगियो । घरमा थुनिएर महिनौंसम्म बस्यौं । हजुरबालाई भेट्न जान पाएनौं । नर्सले हजुरबाको असस्था भिडियोमार्फत देखाइदिन्थे । हामी वहाँलाइ भिडियोमा हेरेर चित्त बुझाएर बस्थ्यौं । हजुरबा बित्नुभयो भन्ने खबर सुनेपछि म औधी रोएँ । वहाँको अन्त्येष्टी क्रियामा अरु कोही सहभागी हुन पाएनन । म र परिवारअका आठ जनाले सिमेट्रिमा गाडेर वहाँलाइ बिदाई गरेका थियौं । प्राय सबैले फेसबुकमार्फत श्रदाञ्जली अर्पण गरेका थिए ।

हजुरबाको मृत्युपछि पनि लकडाउन चलिनै रह्यो । केही नगरी बस्नै नसक्ने मानिसको स्वभाव । लकडाउनको बेला पनि केही न केही सिर्जनात्मक कार्य गरिरहेँ । प्रविधिको प्रयोग गर्दै घरआँगनमा आफुले गरेका गतिविधिको फोटो तथा भिडियो फेसबुकमा पोस्ट गर्दै बसें ।

गृहिणीहरुले नयाँनयाँ परिकार पकाए । धावकहरु आफ्नै पछाडिको बगानमा म्याराथनको दूरी दौडिए । कसैले यस्तो विकराल अवस्थामा मनोबल उच्च बनाए रोगले समात्दैन भनेर योग, ध्यान गरे । एकजना सय वर्ष पुग्दै गरेका दोस्रो विश्वयुद्धका सारथी क्याप्टेन टम मोरले अचम्मैको कार्य गरे । आफ्नै घरको आँगनमा सय पल्ट ओहरदोहर गरेर स्वास्थ्यकर्मीको सहयोगार्थ करोडौं पाउण्डको कोष संकलन गर्न सफल भए ।  त्यसरी नै संगीतकारले गाउने, बजाउने गरे । साहित्यकारले पुस्तक पढ्ने, सिर्जना लेख्ने र वाचन गर्ने गरे ।

ममा पनि केही नौलो कुरा गर्नुपर्छ भन्ने सोच पलायो । अनी त एक बिहिबार साँझको आठ बजे सपरिवार घरको दलानमा निस्कियौं र बेस्सरी ताली पिट्यौं । वल्लोपल्लो घरका छिमेकी निस्केर किन यसो गरेका भनेर सोधे । मैले भने, ’हाम्रा स्वास्थ्यकर्मी अगाडिको मोर्चामा कोरोनाविरुद्ध युद्धरत छन् । तीनलाई हौसला प्रदान गर्न यसो गरेको हो ।’
त्यसपछि ती छिमेकीहरु पनि हामीसंगै ताली पड्काउन लागे । यसै गरेर हाम्रो टोलका सबै मानिसहरु निस्केर हामीलाई साथ दिए । अर्को हप्दादेखि त सारा देशभरि नै यो अभियान फैलियो ।

*********
नुहाइधुवाई गरेर बेलुकीको भोजन गर्न होटेलको रेस्टुरेन्ट छिरें । अनी सारा संसार एक अनिश्चियबाट गुज्रिरहेको बेला मानिसले गरेका विभिन्न गतिविधिमा एकैछिन मन भुलाउँदै सुत्ने तरखरमा लागे । भोलि सबेरै वुहान एअरपोर्टबाट स्वदेश उड्नु थियो । उत्तिनैखेर निद्रा कँहाबाट पर्नु नि । बिस्तारामा उत्तानो पल्टेर सिलिङ हेर्दै अन्धकार गल्लीबाट विश्व गुज्रिंदै गरेको स्मृति फेरि दोहोरिन थाल्यो । नौलो नश्लको भाइरसले मानव सभ्यता नै निर्मुल पार्ला जस्तो देखिएर आयो । यो रोग नपुगेको संसारमा कुनै कुना रहेन । मैले सुन्दा र नियाल्दा यस्तो लाग्थ्यो संसारै बिरामी थियो । आए गएको देखिदैनथ्यो, मात्रै मृत्युको सुनामी चलेको थियो ।

वर्ष दिनमा खरबौं मानिसको ज्यान गयो । अन्तत्व वैज्ञानिकले खोप पत्ता लगाएरै छोडे । खोपलाई उत्पादन गरेर विश्वभर वितरण गर्दागर्दै अर्को छ महिना बित्यो । खोप लगाएपछि मात्र संसारका बाँकी मानिस जोगिन सफल भए । डेढ बर्षको अवधिभित्र विश्वको जनसंख्या साढे सात खर्बबाट करिब चार खर्बमा झरिसकेको थियो । घरभित्र थुनिएर मानिसले नौला क्रियाकलाप गरेपनि बाहिर भने तीनका गतिविधि ठप्प रोकिए । परिणामतः पृथ्वीको अनुहार ब्युटी पार्लरबाट निस्किएकी महिलाको जस्तो सुन्दर देखिन थाल्यो ।

लकडाउन भरी न त उत्सर्जन भए हरितगृह जस्ता हानिकारक ग्याँस । यस्ता ग्याँसको उत्सर्जन स्थगित भएपछि छाउन थाल्यो शितलता । शितल भएपछि पृथ्वी, पग्लिन छोडे हिमाल । पग्लिन छोडेपछी हिमाल, बढ्न छोड्यो सामुन्द्रिक सतह । बढ्न छोडेपछि समुन्द्र, डुब्न छोडे शहरबजारहरु । त्यसैगरी न त फँडानी परे वनजंगल । न त मारेर खाइए वन्यजन्तु । न त उत्खनन गरिए प्राकृतिक स्रोतहरु । गर्न छोडिएपछि यस्ता विनाश, आउने नै भयो जैविक विविधतामा सुधार । बढेपछि जैविक विविधता पाउन थाले मानिसले उत्कृष्ट परिस्थितिक सेवा ।

लकडाउनभरि मानिसका दैनिक उपभोगमा पनि उल्लेखनीय ह्रास आयो । उपभोगमा गिरावट आएपछि ढल तथा प्लास्टिकजस्ता फोहरमैला उत्पन्न हुन छोडे । बग्न छोडेपछि ढल तथा प्लास्टिकजन्य फोहरमैला, खोलानाला भएर समुन्द्रमा रमाउन थाले कछुवा, सिल, सार्क, र ह्वेलजस्ता जीवहरु ।लकडाउनभरि म्याकडोनाल्ड जस्ता रेष्टुरेन्ट बन्द भए । बन्द भएपछि म्याकडोनाल्ड, पाक्न छोडे बर्गर । पाक्न छोडेपछि बर्गर, चल्न छोडे बर्गर बनाउने फ्याक्ट्री । चल्न छोडेपछि फ्याक्ट्री, रेनफोरेस्ट फाँडेर बनाएको घाँसे मैदानमा चर्न छोडे गाईगोरु । चर्न छोडेपछि गाईगोरु, घाँसे मैदानमा उम्रन थाले झार, घाँस, र बुट्यानहरु । उम्रिन थालेपछि यस्ता वनस्पति स्वतः पुनस्थापित हुन गयो रेनफोरेस्ट । पुनस्थापित भएपछि रेनफोरेस्ट, वृद्धि हुन गयो जविक विविधता ।

कोरोना भाइरस महामारीपश्चात पनि वातावरणअमैत्री घट्नाहरु घट्नमा उल्लेखनीय गिरावट आयो । परिणामस्वरुप वुहानमा म जुन स्वच्छ वातावरणको साक्षी बनेर फर्किंदैछु, यसले मलाई के सोच्ने बनाएको छ भने अहिले बल्ल यो पृथ्वी हजुरबाले कल्पना गरेको जस्तै भएको छ । वहाँले आफ्ना सन्ततिलाई हस्तान्तरण गर्न चाहेको ब्लु प्लानेट !

अनी अतितका यिनै घट्ना परिघट्नामा डुबुल्की मार्दामार्दै म कतिबेला मस्त निदाएछु ।

( वातावरण विज्ञानमा स्नाकोत्तर कथाकार बेलायतको इन्भाइरोमेन्ट एजेन्सीमा कार्यरत छन् । विशेषगरी वातावरण साहित्यमा कलम चलाउँदै आएका उनले विगत पाँच वर्षदेखि विश्व वातावरण दिवसको अवसरमा इको साहित्य गोष्ठीको आयोजना गर्दै आएका छन् ।)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू