शुक्रबार, वैशाख १४, २०८१
05:45 | १०:३०

बेलायतबाट शुरु भयो ‘ग्लोबल नेप्लिज डटकम’

नेपाली लिङ्क मे २७, २०२०

लन्डन । बेलायतबाट नयाँ अनलाइन पत्रिका ‘ग्लोबल नेप्लिज डटकम’ को प्रकाशन शुरु गरिएको छ ।

एलडिसी न्युज सर्भिस लिमिटेडद्वारा प्रकाशन शुरु गरिएको अनलाइन अंग्रेजी भाषाको साउथ एसिया डटकमको सह-प्रकाशनको रुपमा आएको प्रकाशकले जनाएका छन् ।

ग्लोबल नेप्लिज डटकमको प्रकाशन शुरु भएकोमा पूर्व राष्ट्रपति डा रामवरण यादवले शुभकामना दिएका छन् । ‘प्रवासी नेपाली समुदायले नेपालको सामाजिक, आर्थिक विकासमा पनि सहयोग गर्दै आएको छ । चाहे भूकम्पको बेला होस् या कोरोना संक्रमणको बेला, प्रवासमा रहेका नेपालीहरुको सहयोग र सहकार्य प्रशंसनीय छ’, प्रथम राष्ट्रपति डा. यादवले भनेका छन्, ‘प्रवासमा रहेका मिडियाले नेपालीहरुलाई संगठित पार्न र नेपालको सेवामा समर्पित रहन थप सघाउनेछन् भन्ने मेरो विश्वास छ ।’

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले ग्लोबल नेप्लिज डटकमलाई तथ्यपरक समाचार र सही सूचना सम्प्रेषण गर्न शुभकामना दिंदै बौद्धिक खुराकसमेत प्रदान गरी समाजमा सकारात्मक र रचनात्मक भावनाको विकास एवं नेपाली डायस्पोरामा एकता, सहिष्णुता, समझदारी र सहकार्यको वातावरण सिर्जना गर्ने कार्यमा नयाँ समाचार पोर्टल सफल हुने विश्वास व्यक्त गरेका छन् ।

‘ग्लोबल पलिसी फोरम फर नेपाल’ का अध्यक्ष प्राध्यापक सूर्य सुवेदीले नयाँ समाचार पोर्टलले स्वतन्त्र र खोजी पत्रकारिताको अभ्यास गर्दै विश्वव्यापी नेपाली समुदाय र नेपालको सेवा गर्ने आशा राखेका छन् ।

यसैगरी, गैरआवासीय नेपाली संघका पूर्व केन्द्रीय उपाध्यक्ष कुल आचार्यले लण्डनलाई कार्यथलो बनाएको नयाँ समाचार पोर्टलले संसारभर फैलिएका प्रवासी नेपालीहरुका समस्या तथा उपलब्धिहरुलाई मुखरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पूनम गुरुङले बेलायतसहित संसारभर फैलिएका नेपाली समुदायका सुख-दुख, कथाव्यथा र उपलब्धिहरुलाई अगाडि ल्याउन र दोश्रो पुस्ताका नेपालीहरुलाई नेपाल र नेपालीसंग जोड्न यो पोर्टल सफल बनोस् भन्ने शुभकामना दिएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू