शुक्रबार, वैशाख १०, २०७८
06:40 | ११:२५

कोरोना महामारीले निम्त्याएको आर्थिक संकट

एलएन पाण्डे मे २६, २०२०

यतिबेला नयाँ रोग कोरोनाका कारण संसार आक्रान्त छ । मृत्यु हुनेको संख्या हजारौँबाट लाखौंमा चलिरहेको छ, अझै पनि स्थिरताको लक्षण छैन । मृतकको संख्या घट्दा मात्रै पनि खुशी हुनुपर्ने स्थिति छ । लकडाउन पूर्ण रूपले खोलेपछि के होला केहि थाहा छैन । हिजोसम्म परिवारमा सबल ठानिएको व्यक्ति, राष्ट्रको सम्वृद्धिमा योगदान गर्दै गरेको एक जीवन फगत तथ्यांक भएर बाहिर निस्किएको छ । यस्तो स्थितिमा हामी पनि एक तथ्यांक मात्र हुन सक्छौ, यद्यपि जीवनको अन्तिम सत्य मृत्यु भए पनि यसरी अनायास पूर्णविराम हुनु त नपर्ने हो ।

जीवनको अन्त्य वृक्षबाट पाकेको फल आफै खसेझै परिपक्व भएर सकिनुपर्नेमा दुःख र पीडाबाट अल्पायु मै सकिंदैछ । हरेक जीवनका लक्ष्य र दायित्व हुन्छन् यदि अन्तरर्मुखी भएर हेरियो भने । गन्तव्यहिन अथवा पथभ्रस्ट भएर सकिनु जीवन होइन । तर यस पाटोमा यहाँ चिन्तन नगरौं होला । हुन त जन्मेपछि मर्नु नै पर्छ भनेर होला कयौं अमेरिकन र ब्रिटिशहरुले लकडाउनको बिरोध गरेर पब इत्यादि ठाउँमा जान पाउनु पर्ने माग गरेका छन् । ‘मर्नु भन्दा पहिले जिउन पाउ’ भनी माग गरेका छन् उनीहरुले ।

यो अर्थतन्त्रले चलाएको संसारमा जीवन चलाउन पनि आर्थिक सक्रियता र आर्जन अत्यावश्यक भएको छ । यद्यपि पैसाले एक मुठी श्वास किन्न त सकिन्न नै, तर पनि कतै पैसाकै अभावमा जीवन अन्त्य भएको समाचार सुन्न पर्दा दुई छाक खान र शिरमाथि छानो भएकोले आफू धन्य ठान्दा पनि हुन्छ । साथीभाई तथा आफन्तलाई ‘आरामै हुनुहुन्छ?’ भनेर सोध्दा एउटै जवाफ पाइन्छ, ‘अहिलेसम्म त ठीकै छ ।’ अर्थातको जीवन अमर होइन भन्ने थाहा त छ तर कोरोनाले यसको अनुभूति गराइरहेको छ  यसले पनि सपिङ वा खर्च गर्ने प्रकृतिलाई असर गर्नेछ ।

औधोगिकरणले संसारमा अधिपत्य जमाएको छ । मेनचेस्टर प्रणालीबाट सुरु भएको औधोगिक क्रान्ति जसले बृहद उत्पादनमा जोड दियो, विश्वमै ७५ प्रतिशतभन्दा बढ़ी पोशाक त्यहीबाट उत्पादन गरिन्थ्यो । त्यसलाई सामाजिक रुपमा नकारात्मक हिसाबले पनि हेरिन्छ किनकी त्यहाँबाट नै अतिसय भीड (ओवर क्राउडिङ ) का साथै आर्थिक र सामाजिक वर्गीकरणको विकास भएको थियो । जनस्वास्थ्य बिग्रिएको थियो, विशेष गरी कामदारहरुको । त्यही स्थिति अहिले चीनको छ, सारा बिवव चीनीया उत्पादनमा निर्भर छ र त्यहिंबाट विगतमा पनि विभिन्न नया रोगहरु निस्किरहेका छन् ।

पहिले बृहद उत्पादन प्रविधिमा सिमित थियो, त्यो प्रविधि विकासको कारणबाट मात्र औद्योगिक क्रान्ति सम्भव भएको थियो । तर अहिले सस्तो श्रमको विकल्पको रूपमा चीनले उत्पादनमा अधिपत्य जमाएको छ । त्यसको सीधा मतलब श्रम शोषण नै हुन आउँछ, जसलाई सारा विश्वले पनि प्रश्रय दिइराखेको छ । कुराको चुरो, मान्छेको जीवनलाई हामी नाफा  कमाउने धुनमा जुवा खेलिरहेका छौं । जीवनको मूल्य मान्यताको हेक्का नै छैन्, अनि यस्ता महामारी त पटक पटक आउन सक्छन् ।

अहिले लकडाउनमा सादा जीवनचर्याको धारणामा केहि घैटेघाम लागेको हो कि जस्तो लाग्छ । साँच्चै सोचाइ परिवर्तन भएको भएपनि अथवा लकडाउनमा डिजाइनर पोशाक कसैलाई ‘शो अफ’ गर्न किन चहियो भन्ने प्रश्न उठ्ने भएपनि त्यसको उपभोगको प्रतिफल के त भन्नेतर्फ सोच्न थालिएको छ । इटालीबाट बन्ने प्रायः डिजाइनर पोशाकहरु उत्पादनको काम गर्न चीनको वुहानबाट हजारौ कामदारहरु आउने गर्छन्, यूरोपमा कोरोना सार्न त्यसैले मुख्य भूमिका खेलेको निष्कर्ष निकालिएको छ ।

खानपानमा पनि त्यस्तै सादा र शुद्ध उपभोग गर्न प्रेरित गरिएको छ । विश्व स्वास्थ्य संगठनले पनि मांसाहार नगर्नु, मदिरापानले हानी नै गर्छ भन्ने जस्ता वक्तव्य निकालेको छ । यी सबै चेतनाले एक प्रतिशतको व्यवहारमा पनि अन्तर आयो भने जीवनस्तरमा सुधार आउला । तर आर्थिक पक्षतर्फ यसको उत्पादन र सबै सांग्लो बजार (चेन मार्केट) मा भने धेरै असर पर्नेछ ।

मानिसहरुले महामारीको बेला जारी यी सल्लाह आत्मसात गर्दा उक्त सामानहरुको माग घट्नेछ । अर्को कुरा, जबसम्म सही खोप निस्किदैन, अधिकांश जनता हवाई तथा सार्वजनिक यातायातमा यात्रा गर्न डराइरहेका छन् । फाइन डाइन, होटल व्यवसाय, सिनेमा, क्लब आदि सुचारु हुन र ढुक्क भएर सहभागी हुन जान लामै समय लाग्ला ।

त्यसैले लकडाउन खुले पनि बजारमा माग घट्नुको कारण उत्पादन घटाउनुपर्ने हुन्छ । जसबाट अन्ततः बेरोजगारीको समस्या नै सिर्जना हुनेछ । बेरोजगार भन्नाले कामै नहुने मात्र होइन कि केहि काम पाए पनि वा पाउनेहरुको पनि कामको मात्रा र मूल्य घट्नेछ । त्यसैकारण कम आयमा काम गर्नुपर्ने हुन्छ । आय घटेपछि खर्च घटाउनुपर्ने हुन्छ । प्रति व्यक्ति खुद व्यय शक्ति घट्नु भनेको समग्र अर्थतन्त्र ओरालो दिशातर्फ उन्मुख हुनु हो । अन्तरराष्ट्रिय श्रम संगठनले महामारीपछिको यति छोटो समयमा पैतीस लाखले जागिर गुमाइसकेको प्रतिवेदन निकालेको छ । यस्तो समस्या पहिले कहिल्यै नभएकोले अवस्था भयावह हुने चेतावनी समेत दिइसकेको छ ।

लेखक एलएन पाण्डे

तेल इन्धनको बजार भाउ उत्पादनस्थलमा नकारात्मक छ । संयुक्त अधिराज्य सरकारले सकेसम्म मुद्रा प्रदाय बढाउनको लागि पहिलो पटक ऋणात्मक बोन्ड निकालेको छ । त्यसैगरी, सरकारी ब्याजदर पनि घटाएर ० दशमलव १ प्रतिशतमा झारेको छ । अन्य मुलुकहरुले यसको अनुशरण गरेका छन् ।

प्रमुख उत्पादन नभई व्यापारिक क्रियाकलापमा मात्र आश्रित मुलुकको अर्थ व्यवस्थाले ठूलो चोट सामना गर्नुपर्ने पक्का भइसकेको छ । यस्ता मुलुकका जनतामा केबाट मर्ने भन्ने मनोचुनाव हुन थालिसकेको छ । एकतर्फ कोरोनाभाइरसको जोखिम र त्रास छ भने अर्कोतर्फ भोक, कुण्ठित मनोदशाको छट्पटाहट, जसले मानसिक रोग निम्त्याउदै छ । अन्य सामान्य रोगी जो अस्पतालबाट टाढिएका छन् वा प्राथमिकतामा परेका छैनन्, त्यो समस्या बेग्लै छ । बेलायतको प्रमुख पत्रिका गार्डियनको तथ्यांक अनुसार २० प्रतिशत अन्य रोगका बिरामीलाई अस्पतालबाटै कोरोना सरेको छ । त्यस्तो स्थितिमा अस्पतालबाट टाढि़न खोज्नु स्वभाविकै हो ।

मुलुक जति सम्वृद्ध हुन्छ, त्यति जनताप्रतिको दायित्व पनि बढ्दै जान्छ । गरीब मुलुकले जनतालाई हेरचाह गर्न सक्दैनन्, त्यस्तो अपेक्षा गर्न पनि सकिन्न । अझ अन्तरराष्ट्रिय कारोबारबाट सम्वृद भएको मुलुकको अन्तरराष्ट्रिय दायित्व पनि बढ्नुपर्छ । जहाँ सरकार असक्षम हुन्छ त्यहाँ च्यारिटीको भूमिका टड़कारो हुने गर्दछ । दाता र दातृ संगठनहरुको परिचालन बढ़ी हुन्छ । यसै सम्बन्धमा अमेरिकाले विश्व स्वास्थ संगठनमा आफूले धेरै योगदान गरको तर चीनले थोरै गरेर पनि बढ़ी फाइदा लियो भन्ने मुद्धा उठाएको छ ।

कोरोनाभाइरसको नियन्त्रणको हकमा पनि त्यही सिद्धान्त लागू हुन्छ । यद्यपि कुनै पनि व्यवस्थापन प्रक्रियामा दोषारोपण (ब्लेम गेम) लाई निकृष्ट कदम मानिन्छ । तथापि अहिले चीनको साख खस्किएको अवस्था छ । अन्तरराष्ट्रिय समुदायले चीनलाई जिम्मेवार ठानेका छन् । चीनको प्रयोगशालामा यो भाइरस नबनेको भए पनि चीनले समयमा सही कदम चालेको भए लाखौ व्यक्तिले अकालमा मर्नुपर्ने थिएन भनेर अष्ट्रेलियाले आवश्यक छानबिनको माग अघि सारेको छ । अन्तरराष्ट्रिय उत्पादन अर्थतन्त्रमा अहिले पनि चीन विश्वको कारखाना हो । अब यो अन्योलले पहिले जस्तो (बिजनेस एज युजूअल) नहुने त पक्का नै छ ।

हुन सक्छ, चीनले प्रयास गरेको होस् तर पर्याप्त भएन । प्रयास गरेको भए पनि सार्स वा इबोला जस्तो होला भन्ठानेर लापरवाही गर्यो भन्ने निक्र्यौल छ । अर्को तर्फ चीनले अमेरिकालाई जिम्मेवार ठानेको छ । यसो हेर्दा यी दुवै शक्ति राष्ट्रको दोषारोपणबाट संसारले पीडा भोग्नु परिरहेको छ । व्यापारिक शीतयुद्ध त भइसकेको छ, अर्थात् फेरि पनि शक्ति राष्ट्रहरु अर्थतन्त्रमै केन्द्रित भएका छन् ।

यद्यपि यो ‘कन्सपिरेसी’ सिद्धान्त होला कि कोरोना एउटा प्रयोगशालामा निर्माण गरिएको जैविक हतियार होस् । यस्तो आरोप कहिल्यै पनि प्रमाणित हुने गर्दैन तर पनि अन्तरराष्ट्रिय आर्थिक सम्वृद्धि हेर्दा हतियार बनाएर र बेचेर मुलुक धनी भइरहेको छन् । यो खुला गोप्य नै हो । त्यसै कारणले चीन र अमेरिका कोरोनाको बारेमा पनि हिलो छ्यापीरहेका छन् । जसले अत्याधुनिक हतियार बनाउन सक्यो त्यही धनी हुने होड छ । आखिर अत्याधुनिक हतियारको अर्थ अत्याधिक धन जनको क्षति नै त हो । उक्त होडमा यो पनि एउटा कदम हुन नसक्ला भन्न सकिन्न । जसरी भए पनि आर्थिक सम्वृद्धिको लागि जीवनको मूल्य दाउमा लगाइरहेका छन् ।

अहिले नै खाद्यान्नको अभावको झल्को आइसकेको छ । कृषि क्षेत्रमा कामदारहरु जान नपाएर होस् अथवा फल ढुवानीको व्यवस्था पर्याप्त हुन नपाएर होस् । अथवा शीत भण्डार खाली भएर होस्, मूल्य वृद्धि पनि त्यसैको आधारमा भइराखेको छ । यो सर्वविदित नै छ कि खानेकुराले जीवन दिन्छ, जून धर्तीबाट मात्रै आउँछ । आधुनिक विकासको नाममा खेतीजन्य जमीनको सत्यानाश गरिएको छ ।

पसलहरुले खाद्यान्न बिक्रीको अधिकतम मात्रा अर्थात कोटा निर्धारण गरिसकेका छन् । सिमित उपलब्ध उपभोग्य सामान किन्न अहिले लामो लाम लागेको हुन्छ । जब प्रतिस्पर्धा हुन्न, तब व्यापारीहरुलाई धमिलो पानीमा माछा मर्ने मौका पनि प्राप्त हुन्छ । आखिर मारमा पर्ने त उपभोक्ता नै हुन् ।

देशको विकासअनुरूप पारवाहन र त्यसैअनुरूप कोरोना संक्रमण भइरहेको छ । अनुसन्धान आंकडाअनुसार विश्वको ७६ प्रतिशत सम्पति ३६ वटा शहरमा केन्द्रित छन् । विकासशील मुलुकमा ढिलो संक्रमण फैलिनुको कारण पनि यहि हो ।

अहिले संक्रमणलाई सिमित गराउनु नै एक मात्र उपाय हो । अन्यथा संक्रमणको निरन्तरता हुनेछ र ‘स्पेनिस फ्लू’ कै गति हुनेछ । स्पेनिस फ्लूसँगै धेरैले कोरोनालाई पनि तुलना गरिरहेका छन् । सन १९१८ मा स्पेनिस फ्लूले ५ करोड मान्छेको ज्यान लिएको थियो जबकि त्यो समयको जनसंख्या अहिलेभन्दा निकै कम थियो । त्यतिबेला जनवरीतिर सुरु भएर बिस्तारै वर्षको अन्त्यतिर गएर मात्र करोडौँको ज्यान गएको तथ्यांक छ ।

अब यो इतिहासको आधारमा ‘वनको बाघले नखाए पनि मनको बाघले’ त खाला कि? उसै पनि हाम्रो जीवन मनोदैहिक हो । मन मस्तिष्कको उतार चढावले शरीरमा परोक्ष असर परिरहेको हुन्छ । यसको रसायनिक परीक्षण भइसकेको छ ।

जब अभाव हुन्छ, तब विकृति आउँछ र त्यसको सुरुआत् भेदभावबाट झल्किसकेको छ जुन अपराधमा परिणत हुँदैछ । विश्व स्वास्थ्य संगठनले यसको पूर्वानुमान गरी संयमित हुन आग्रह गरिसकेको अवस्था छ । मेरो मुलुक र तेरो मुलुकको भेदभाव देखिन थालेको छ । ‘मै यहाँको आदिवासी हुँ’  जहाँ जसले भने पनि यो भन्नु सीधा अर्थ ‘यहाँको उत्पादनको उपभोगी म नै हुनु पर्ने हो’ भन्ने मात्र हो । त्यसको अर्थ स्पष्ट रूपले स्थानीय जनता ‘सर्भाइभल मोड’ गइसकेका छन्, जहाँ दीर्घकालीन योजनाको स्थान नै हुदैन । तब आफूलाई बचाइराख्नु नै  सर्वोपरी ठानिन्छ, मात्र आफू बाँचु र आजलाई बाँचु ।

केहि मुलुकहरु हर्ड इम्युनिटीको सिद्धान्तको कुरा अगाडि सारिरहेका छन् । खोप (भ्याक्सिन) ले इम्युनिटी बनाउने प्रचलित तरिका हो तर अहिले नै यो कुरा अगाडि सार्ने भनेको कमजोर जनसंख्यालाई सफाया गर्नु नै हो, त्यसो त कोही पनि पूर्ण इम्म्यून वर्गमा पर्दैनन् किनकी राम्रो इम्यूनिटी भएको भए संक्रमण नै नहुनु पर्ने हो । यहाँ मेरो विचारमा पनि मानव जीवनप्रति क्रुरता नै झल्केको छ । यद्यपि हजारौंको संख्यामा जनता मरिसकेपछि हर्ड इम्युनिटी कुरा गर्ने वैज्ञानिकको समेत सातो गएको छ । उनलाई कारबाही गर्ने समाचार नै आउन थालेको छ अहिले ।

अहिले राज्यहरुले राहतका प्याकेजहरु अघि सारेका छन् । बेलायतको कुरा गर्दा काम गर्न नपाएका कर्मचारीलाई तलब, बेरोजगारलाई भत्ता, व्यवसायलाई अनुदान, कर दायित्वलाई स्थगन, धितो ऋण तथा व्यवसायिक भाडा स्थगन, निर्ब्याज वा सहुलियत ऋण सहयोग आदि । साना व्यवसायलाई दिईएको यो राहत भने प्रायः कारोबार समानुपातिक छन् । त्यस अर्थमा करको दायराबाट बाहिर बसेर व्यवसाय गर्नेहरु खाली हातमा परेका छन् । राज्यहरुले विशेष गरी त्यसो गर्नाको उद्धेश्य जनतालाई राहतको निश्चितता दिनु र अझ आर्थिक क्रियाकलाप सुचारु गर्नु नै हो । अर्थतन्त्र जीवित राख्न कोहीले पनि कुनै पनि किसिमको (पैसा वा खाद्यान्न) जगेडामा राख्नु भन्दा प्रवाहलाई सुचारु राख्नाले मात्र समग्र आर्थिक प्रणाली जीवित हुन सक्छ । तर राज्यले पनि स्रोत परिचालन मात्र गर्ने हो जुन लामो समयसम्म टिकिरहन सक्दैन ।

यस्तो स्थितिमा जीवन चलाउन भरपर्दो र ‘साइड इफेक्ट’ नभएको खोप नआउन्जेल अबको बिजनेस मात्र होइन, जीवन चर्या पनि कोरोनासँगै र लुकामारी खेल्दै जीवन यापन गर्नु पर्ने अनुमान छ । खोपका लागि दुई वर्ष पनि लाग्ला भन्ने अनुमान छ । तसर्थ, ‘लेट्स लिभ विथ कोरोना लाइफ स्टाइल’ अर्थात जीवनचर्या बदलेर कोरोनासँगै बाँचौं ।

राधे, राधे !

(लेखक बेलायतमा कार्यरत वरिष्ठ चाटर्ड एकाउन्टेन्ट तथा आर्थिक परामर्शदाता हुन् ।) 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू