शनिबार, १६ मे, २०२६
04:02 | ०८:४७

लन्डन दूतावासमा लगानी तथा अकाउन्टिङ आउटसोर्सिङका सम्भावना विषयक सेमिनार

नेपाल विश्वसनीय केन्द्र बन्न सक्ने विज्ञहरुको धारणा

नेपाली लिङ्क मे १६, २०२६

लन्डन– सरकारी अधिकारी, व्यवसायी तथा लेखा व्यवसायसँग सम्बन्धित विज्ञहरूले नेपाल विश्वव्यापी लेखा तथा व्यावसायिक सेवा आउटसोर्सिङको विश्वसनीय केन्द्र बन्ने दिशामा अघि बढिरहेको बताएका छन्।

उनीहरूले नेपालसँग दक्ष जनशक्ति, प्रतिस्पर्धी लागत, अंग्रेजी बोल्ने युवा शक्ति तथा बढ्दो डिजिटल क्षमताजस्ता महत्वपूर्ण आधार रहेको उल्लेख गरेका छन् ।

शुक्रबार साँझ लन्डनस्थित नेपाली दूतावासद्वारा आयोजित ‘यूके–नेपाल सहकार्यः लगानी तथा अकाउन्टिङ आउटसोर्सिङका सम्भावना’ विषयक सेमिनारलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले भने- ‘हामीलाई थाहा छ कि यस समयमा विश्वव्यापी स्तरमा कम्तिमा तीन प्रमुख क्षेत्रहरू अर्थतन्त्र, डेमोग्राफिक्स र प्रविधिमा महत्वपूर्ण रूपान्तरण भइरहेको छ । आउटसोर्सिङ र लगानीको प्रवृत्ति पनि परिवर्तन र द्रुत गतिमा विकसित भइरहेको अवस्था छ ।’

उनले ग्लोबल आउटसोर्सिङ ट्यालेन्ट इन्डेक्स २०२६ प्रतिवेदनले कम श्रम लागत, उच्च अंग्रेजी दक्षता, प्रतिभा उपलब्धता, डिजिटल इन्फ्रास्ट्रक्चर र व्यापार, कानुनी र राजनीतिक स्थिरताका कारण आउटसोर्सिङ प्रतिस्पर्धामा नेपाल विश्वव्यापी रूपमा १९ औं स्थानमा रहेको देखाएको जनाए ।

वर्तमान सरकारले डिजिटल प्लाटफर्मलाई प्राथमिकता दिएको उल्लेख गर्दै कार्यवाहक राजदूत दुवाडीले लागत प्रभावकारी र कुशल आउटसोर्सिङ गन्तव्यहरू खोज्ने व्यवसायका लागि नेपाललाई लुकेको रत्नका रूपमा मान्यता दिइँदै गरेको थाहा पाउंदा आफू उत्साहित भएको पनि बताए ।

इन्सटिच्यूट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) का उपाध्यक्ष सीए आनन्द राज शर्मा वाग्लेले नेपाली कम्पनीहरूले हाल बिजनेस प्रोसेस आउटसोर्सिङ तथा नलेज प्रोसेस आउटसोर्सिङ मार्फत वार्षिक करिब ४ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरिरहेको बताए । विश्वव्यापी आउटसोर्सिङ बजारको आकार २११ अर्ब अमेरिकी डलर रहेको उनले उल्लेख गरे ।

उनले नेपालसँग प्रमाणित डिजिटल क्षमता, उदाउँदो आउटसोर्सिङ मूल्य तथा प्रतिस्पर्धी बजार प्रवेशको सम्भावना रहेको बताए । “नेपालसँग जनसांख्यिक लाभ छ । सहकार्य गर्ने यही उपयुक्त समय हो। हामी सहकार्य र साझेदारीका लागि तयार छौं,” उनले भने ।

वाग्लेले नेपालमा हाल करिब २ हजार ५ सय चार्टर्ड एकाउन्टेन्ट, ७ हजार २०० रजिष्टर्ड लेखापरीक्षक, १४ हजार आइक्यान विद्यार्थी तथा करिब १५ लाख लेखा सम्बन्धी स्नातकहरु रहेको जानकारी दिए । उनले आइक्यानले आउटसोर्सिङ पोर्टलसमेत विकास गरेको बताए ।

उनले युवा पलायन, पूर्वाधार अभाव, सफ्टवेयर तथा अनुपालनसम्बन्धी कमजोरी र डेटा सुरक्षासम्बन्धी स्पष्ट नीतिको आवश्यकतालाई प्रमुख चुनौतीका रूपमा औंल्याए । “हरेक वर्ष करिब १० लाख युवा विदेश गइरहेका छन्। यो धारणा परिवर्तन गर्नुपर्छ। युवाशक्तिलाई देशमै राख्नुपर्छ,” उनले भने ।

उनले अविच्छिन्न इन्टरनेट, विद्युत् आपूर्ति र नीतिगत स्थायित्वको आवश्यकता पनि औंल्याए ।

बेलायतस्थित कम्पनीहरू दक्ष जनशक्तिको अभाव र बढ्दो सञ्चालन खर्चको सामना गरिरहेका बेला नेपालसँग दक्ष लेखा जनशक्ति तथा लागत प्रभावकारी सेवा उपलब्ध गराउने क्षमता रहेको उनले बताए ।

‘आउटसोर्सिङदेखि विश्वसनीय क्षमता केन्द्रसम्मः विश्वव्यापी व्यावसायिक सेवामा नेपालको अवसर’ शीर्षकमा प्रस्तुति दिँदै वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सरोज सापकोटाले नेपालले आफूलाई केवल सस्तो आउटसोर्सिङ गन्तव्यका रूपमा नभई विश्वसनीय क्षमता केन्द्रका रूपमा स्थापित गर्नुपर्ने बताए ।

“मेरो कम्पनी एजीके पार्टनर्सले अहिले नेपालमा करिब १०० जनालाई रोजगारी दिएको छ,” उनले भने । उनले एजीके अहिले बेलायत र आयरल्याण्डको ठूलो अकाउन्टेन्सी समूह साइनाडिनको हिस्सा बनेको जानकारी पनि दिए ।

सापकोटाले नेपालले ‘मानिस निर्यात’ होइन ‘क्षमता निर्यात’ मा ध्यान दिनुपर्ने बताए । “यो केवल बुककिपिङ, पेरोल प्रोसेसिङ वा कम्प्लायन्सको विषय मात्र होइन। नेपालमै बसेर विश्वव्यापी करियर बनाउन सकिन्छ,” उनले भने ।

उनले गुणस्तर, विश्वसनीयता, व्यावसायिक अनुशासन र भरोसाले नेपालको दीर्घकालीन सफलता निर्धारण गर्ने बताए । “नेपालले भारतको आकारसँग प्रतिस्पर्धा गर्न खोज्नु हुँदैन। नेपालले केन्द्रित, सम्बन्धमा आधारित र गुणस्तरीय विकल्प प्रस्तुत गर्न सक्छ,” उनले भने।

सापकोटाले नेपाल सरकारले कम्पनी दर्ता, कर व्यवस्था, वैदेशिक लगानी, विदेशी मुद्रा, रोजगार कानुन तथा विवाद समाधानसम्बन्धी स्पष्ट र पूर्वानुमानयोग्य नीति ल्याउनुपर्नेमा जोड दिए। “प्रोत्साहनभन्दा पनि नीतिगत स्पष्टता र स्थायित्व महत्वपूर्ण हुन्छ,” उनले भने।

कार्यक्रममा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण प्रसाद दाहालको संयोजनमा आयोजित प्यानल छलफलमा नेपालमा आउटसोर्सिङ उद्योग विस्तारका चुनौती र सम्भावनाबारे चर्चा गरिएको थियो ।

छलफलका क्रममा वाग्लेले पूर्वाधार विकास, सीप अभिवृद्धि, तालिम विस्तार तथा विश्वविद्यालयहरूसँग सहकार्य गर्दै अन्तरराष्ट्रिय स्तरका दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए। उनले लिमिटेड लाइबिलिटी पार्टनरसिप (एलएलपी) तथा अफशोर शाखा कार्यालय सञ्चालनका लागि कानुनी सुधारको पहल भइरहेको जानकारी दिए।

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट राजु गजुरेलले नेपालको सबैभन्दा ठूलो शक्ति प्रतिभाशाली जनशक्ति भए पनि तत्काल ठूलो संख्यामा दक्ष कर्मचारी उपलब्ध गराउन कठिनाइ रहेको बताए। उनले दक्ष जनशक्ति विकासका लागि व्यावसायिक संस्था र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

प्यानल छलफलमा म्याक मिलन उड्सका पार्टनर लुफ्टी तलिब र इन्सटिच्यूट अफ चार्टर्ड अकाउन्टेन्ट्स इन इंग्ल्याण्ड एण्ड वेल्सका काउन्सिल मेम्बर एन्ड्रयू डोसेटले आ-आफ्नो धारणा राखे । ति विज्ञहरूले गुणस्तरयुक्त सेवा, डिजिटल पूर्वाधार, डेटा सुरक्षा तथा अन्तरराष्ट्रिय सम्बन्धको महत्वमाथि जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ब्रिटेन च्याम्बर अफ कमर्शका अध्यक्ष डा. रोशन राठीले नेपाल लेखा तथा वित्तीय सेवा आउटसोर्सिङका लागि उपयुक्त साझेदार भएको बताए ।

उनले अंग्रेजी बोल्ने युवा जनशक्ति, कम सञ्चालन खर्च तथा विदेशी लगानीप्रति खुलापनलाई नेपालको प्रमुख बलका रूपमा प्रस्तुत गरे। “बेलायती कम्पनीहरूले विशेषगरी लेखा तथा वित्त क्षेत्रमा बीपीओ कार्यका लागि नेपाललाई अवसर दिनु पर्छ,” उनले भने।

त्यस्तै नेपलिज एकाउन्टेन्टस् एसोसिएसन यूकेका अध्यक्ष शशीधर नेपालले उचित सहकार्य, तालिम र प्रविधिको माध्यमबाट नेपाल विश्वसनीय आउटसोर्सिङ गन्तव्य बन्न सक्ने बताए ।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष बिराज भट्टले कोभिडपछि विश्वव्यापी कार्यशैलीमा आएको परिवर्तनले नेपाललाई रिमोट वर्क तथा व्यावसायिक आउटसोर्सिङमा ठूलो अवसर दिएको बताए । “भौगोलिक दूरी अब बाधा होइन,” उनले भने ।

भट्टले नेपालसँग भरपर्दो विद्युत् आपूर्ति, राम्रो अंग्रेजी बोल्ने जनशक्ति तथा दक्षिण र दक्षिणपूर्वी एसियाका अन्य मुलुकको तुलनामा लागत फाइदा रहेको बताए।

भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालका सहायक महालेखा परीक्षक चन्द्र कान्त भण्डारीले नेपाल सरकारले विशेष आर्थिक क्षेत्र (सेज), कर छुट तथा पूर्वाधार विकासमार्फत लगानी र रिमोट वर्क उद्योगलाई प्रोत्साहन गरिरहेको बताए ।

इन्सटिच्यूट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ स्कटल्याण्डका पूर्वअध्यक्ष इन्डी सिंह होतीले लेखा तथा वित्त क्षेत्र अब भौगोलिक सीमाभन्दा बाहिर पुगिसकेको बताए ।

उनले नेपालको बढ्दो डिजिटल क्षमता, महत्वाकांक्षी युवा जनशक्ति तथा अन्तरराष्ट्रिय एक्सपोजरले नेपाललाई विश्वव्यापी व्यावसायिक सेवाका लागि आकर्षक गन्तव्य बनाएको बताए । “भविष्य साझेदारीमा आधारित हुनेछ। संस्थाहरूले परिवर्तन र विकासलाई आत्मसात गर्नुपर्नेछ,” उनले भने।

इन्सटिच्यूट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) का अध्यक्ष निलबहादुर सारु मगरले नेपालमा हजारौं दक्ष युवाशक्ति भएकाले कम खर्चमा विश्वव्यापी आउटसोर्सिङका लागि नेपाल उपयुक्त देश भएको बताए ।

उनले आगामी वर्षहरूमा जब विश्वले नेपालको बारेमा सोच्दछ, यसले सगरमाथा र हिमालयको बारेमा मात्र नभई उत्कृष्टता, निष्ठा र विश्वस्तरीय व्यावसायिक सेवाहरूको बारेमा पनि सोच्दछ भन्ने कुरा सुनिश्चित गर्न जोड दिए।

‘नेपाल यहा सहानुभूति खोज्दै आएको होइन। नेपाल साझेदारी खोज्दै आएको छ। अवसर र नेपालको व्यावसायिक क्षमतामा विश्वको विश्वास खोज्न हामी आएका हौँ’- मगरले भने।

कार्यक्रम समापन गर्दै आइक्यान कार्यकारी निर्देशक विमल डंगोलले नेपाल विश्वव्यापी आउटसोर्सिङ सेवामा महत्वपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गरे। उनले बेलायतस्थित नेपाली लेखा व्यवसायी तथा पेशाकर्मीहरूलाई आफ्नो व्यवसाय विस्तारमा नेपाललाई सम्झन आग्रह पनि गरे ।

तस्विर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू