शुक्रबार, वैशाख ७, २०८१
14:21 | १९:०६

पाकिस्तानको दुर्घटनाग्रस्त विमानभित्र रहेका सबै १ सय ७ जनाको मृत्यु

रासस-एपी मे २२, २०२०

कराँची । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सबैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन् ।

दुर्घटनामा परेको विमानमा रहेका ९९ यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो ।

मेयर वासिम अख्तरले विमान खसेकाले कम्तीमा ५/६ वटा घर ध्वस्त भएको पनि जानकारी दिएका छन् । क्षति भएको घरमा कोही मानिस थिए कि थिएनन् वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उनले बताए ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । दुर्घटनामा परी निधन भएकाको परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार तथा छानविन गर्न पनि निर्देशन दिएका छन् ।

पाकिस्तानी सरकारी स्वामित्वको अन्तरराष्ट्रिय विमान कम्पनीको विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले बताए । विमान जिन्ना अन्तरराष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । ‘मोडेल कोलनी’ का नामको सो बस्तीमा विशेष गरी विपन्न समुदायका मानिसहरु बस्ने गर्दथे ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नुअघि तीनपटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताए ।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू