बुधबार, वैशाख २६, २०८१
04:17 | ०९:०२

विश्वभर संक्रमितको संख्या डरलाग्दो: विश्व स्वास्थ्य संगठन

रासस–एएफपी मे २१, २०२०

वासिङ्टन । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितहरु एकै दिन ठूलो संख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामान्यीकरणको संकेतका रूपमा वार्षिक ‘जी ७’ शिखर सम्मेलनका लागि नेताहरुको बैठक गर्न प्रस्ताव राखेका छन् ।

संगठनले बुधबार एकै दिन १ लाख ६ हजारभन्दा बढी भाइरसका बिरामी भेटिएको जनाएको छ । गत डिसेम्बरमा चीनको उहानमा कोरोना संक्रमण देखिएपछि पहिलोपटक यो सबैभन्दा ठूलो संख्या देखिएको हो ।

संगठनका प्रमुख टेड्रोस अधानोम गेबरियससले आफू निम्न र मध्यम आय भएका देशहरूको अवस्थाबाट धेरै चिन्तित रहेको बताएका छन् ।

दक्षिण अमेरिकी देशहरुमा पछिल्ला दिनहरूमा संक्रमणको दर निकै बढेको छ । केही मुलुकले लकडाउन खुकुलो बनाए पनि संक्रमण बढेसँगै पुनःस्थापित गरेका छन् ।

ब्राजिलमा सबैभन्दा बढी बिरामी भेटिएका छन् । यहाँ विश्वमै तेस्रो सर्वाधिक संख्यामा संक्रमित देखिएका छन् । पेरू, मेक्सिको र चिलीमा पनि संक्रमण लगातार वृद्धि भइरहेको छ ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरूले एकै दिन १ हजार १ सय ७९ नयाँ कोरोनाभाइरस संक्रमितको मृत्यु भएको बताएका छन्, जबकि दक्षिणपन्थी राष्ट्रपति जेयर बोल्सोनारोले लकडाउनको कडा विरोध गर्दै आएका छन् । उनले विशेषज्ञहरूको सल्लाह विपरीत क्षेत्रीय गभर्नरहरूलाई लकडाउन हटाउन दबाब दिइरहेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जस्तै बोल्सोनारोले भाइरसको उपचारमा औलोको औषधीको प्रयोगलाई बढावा दिएका छन् । तर अध्ययनहरुले औलोको यो औषधि कोरोनाभाइरसको उपचारमा खासै फाइदाजनक नरहेको र शरीरलाई निकै हानि गर्ने बताएका छन् ।

आगामी नोभेम्बरमा पुनः निर्वाचनको सम्मुखमा रहेका राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने अडान पुनः दोहोर्याएका छन् । उनले अमेरिका पुरानै लयमा फर्कने बताउँदै आगामी जुनमा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्र (जि-७) को शिखर सम्मेलनमा नेताहरुको उपस्थिति हुनेमा आफू आशावादी रहेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू