शनिबार, वैशाख ८, २०८१
14:24 | १९:०९

विश्वभर संक्रमित ५१ लाख बढी, ३ लाख २९ हजारको मृत्यु

रासस–एएफपी मे २१, २०२०

जेनेभा । कोरोनाभाइरस संक्रमणका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ४ सय ७४ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ९४ हजार ८ सय १३ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ४ हजार ६ सय ८५ जनाको ज्यान गएको छ ।

संक्रमितमध्ये विश्वभर करिब ४५ हजार ७ सय ९६ जनाको स्वास्थ्य अवस्था अत्यन्त जटिल छ भने २६ लाख ९० हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ७ सय ४ जनाको मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ४ सय ३ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९४ हजार ९ सय ३६ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ३ सय ३०, फ्रान्समा २८ हजार १ सय ३२, स्पेनमा २७ हजार ८ सय ८८, बेल्जियममा ९ हजार १ सय ५०, जर्मनीमा ८ हजार २ सय ७० र नेदरल्यान्ड्मा ५ हजार ७ सय ४८ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १८ हजार ८ सय ९४ को मृत्यु भएको छ । इरानमा ७ हजार १ सय ८३, मेक्सिकोमा ६ हजार, क्यानाडामा ६ हजार, चीनमा ४ हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू