शनिबार, वैशाख १५, २०८१
19:59 | ००:४४

भारतमा अलपत्र परेका नेपाली मजदुरलाई उद्धार गर्न माग

रासस मे १४, २०२०

फाइल तस्विर

काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कोरोना भाइरसका कारणले बन्दाबन्दीको अवस्थामा भारतमा अलपत्र परेका नेपाली मजदुरलाई उद्धार गर्न सरकारसँग माग गरेको छ ।

समाजका अध्यक्ष दुर्गाबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै ती मजदुरलाई स्वास्थ्य परीक्षण गरी नेपाल भित्र्याइ आवश्यकतानुसार आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था मिलाउन आग्रह गरेका छन् । उनले काम गर्ने कारखाना बन्द भएकाले भारतमा रहेका नेपाली मजदुरको अवस्था पनि दयनीय बनेको उल्लेख गरेका छन् ।

‘अनेकन शहरमा स-साना कोठामा झुण्डकाझुण्ड नेपाली श्रमिक बसेका छन् । उनीहरुसँग रोजगार छैन, खाना छैन, कोठाभाडाका लागि ताकेता भइरहेको छ, भोक र चिन्ताले बिरामी भएका छन्’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ब्रिटिशबाट भारत स्वतन्त्र भए पनि भारतले नेपालप्रति अपनाउँदै आएको नीतिमा कुनै परिवर्तन नभएको जनाउँदै कोभिड–१९ को कहरका बेलामा भारतले नेपालको भूमि अतिक्रमण गरेर मानसरोवर जाने बाटो उद्घाटन गरेकोप्रति भर्त्सना गरिएको छ ।

‘भारत सरकारले लगातार नेपाललाई आफ्नो अधिनमा राख्न राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा हस्तक्षेप गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘भारतले नेपालको सीमा पटक-पटक अतिक्रमण गरेको छ । यस विषयलाई अन्तर्रा्ष्ट्रियकरण गरी नेपाली भूमि फिर्ता गराउनुपर्दछ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू