शुक्रबार, चैत १६, २०८०
08:12 | १३:५७

बेलायतमा कोरोनाबाटै फेरि अर्का गोर्खा कर्णबहादुरको मृत्यु

नेपाली लिङ्क मे ९, २०२०

मृतक कर्णबहादुर राई

लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायत बस्दै आएका अर्का एक भूतपूर्व गोर्खा सैनिक कर्णबहादुर राईले ज्यान गुमाएका छन् ।

गत अप्रिल २८ तारिख बेलायतको ‘मेइड्स्टोन’ स्थित ‘मेइड्स्टोन अस्पताल’ भर्ना भएका ७७ वर्षीय राईको उपचारकै क्रममा शनिबार बिहान निधन भएको उनका छोरा टंकराज राईले नेपाली लिंकलाई जानकारी गराए ।

ताप्लेजुङ जिल्लाको मौवाखोला गाउँपालिका २, लेकुवा स्थायी घर भएका मृतक छोरा, छोरी र ज्वाईंका साथ बेलायतको मेइड्स्टोनमा बस्दै आएका थिए ।

सन् २०१७ को जनवरीमा बेलायत आएको एक साताभित्रै उनकी श्रीमतीको निधन भएको थियो ।

छोरा टंकराजका अनुसार मृतक राईलाई यसअघि कुनै गम्भीर स्वास्थ्य समस्या थिएनन् । पछिल्लो समय टाउको दुखेर सिटामोल खाँदै घरमै बसेका उनलाई ज्वरो भने थिएन ।

श्वास फेर्न गाह्रो भएपछि अप्रिल २८ राती उनलाई इमर्जेन्सीमा अस्पताल भर्ना गरिएको थियो । डाक्टरले फोक्सोको अवस्था बिग्रिएको भन्दै ‘भेन्टिलेटर’ मा राखेका थिए । उनलाई कोरोना संक्रमण भएको जानकारी पनि अस्पतालले परिवारलाई गराइसकेको थियो ।

‘मुख्य समस्या फोक्सोमा देखाएको थियो । भेन्टिलेटरमै रहेपनि सुधार हुन्छ कि भन्ने आशा हामीलाई थियो’, नेपाली लिंकसंग मृतकका छोरा टंकराजले भने, ‘अस्पतालबाट एक्कासी फोन गरेर नराम्रो खबर सुनाए ।’

यकिन संख्या उपलब्ध नभएपनि बेलायतमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ दर्जन जति नेपालीले ज्यान गुमाइसकेका छन् । जसमा अधिकांश पूर्व गोर्खाहरु छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू