शनिबार, वैशाख ८, २०८१
21:15 | ०२:००

नेपाली वेलफेयर सोसाइटी यूकेद्वारा चितवनमा राहत

नेपाली लिङ्क मे ८, २०२०

लन्डन । बेलायतस्थित सामाजिक अभियन्ता धनबहादुर सार्कीको नेतृत्वमा स्थापित नेपाली वेलफेयर सोसाइटी यूकेले लकडाउन पीडित चितवनका सुकुम्वासीलाई 
राहत वितरण गरेको छ ।

सोसाइटीले स्थानीय संघसंस्थाको समन्वयमा चितवन भरतपुर महानगरपालिका २३ स्थित घैलाघारीमा २० घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको अध्यक्ष सार्कीले जनाए । पीडितहरुलाई ३० केजी चामल, ३ केजी दाल, नुन, तेल लगायत सामाग्री वितरण गरिएको सोसाइटीले जनाएको छ ।

राहत वितरण कार्यक्रममा भरतपुर महानगरपालिका २३ का वडाध्यक्ष नरिनारायण पौडेल, नेकपा प्रतिनिधि बिष्णुकुमार नेपाली र दिपक भुषाल, कांग्रेसका प्रतिनिधि द्रोणप्रसाद शर्मा, केरुङगा मध्यवर्तीका सदस्य रामचन्द्र पौडेल, मनकामना साकोसका अध्यक्ष शम्भुराज भट्ट, रेडक्रस सोसाइटीका कोषाध्यक्ष लेखनाथ पौडेल, प्रधानाध्यापक अन्जना पौडेल, मधुपुरी टोल विकास समितिका अध्यक्ष रविलाल विक लगायत सहभागी थिए ।

सो अवसरमा स्थानीय जनप्रतिनिधिहरुले सोसाइटीको सहयोगले २० घर परिवार लाभान्वित भएको बताउंदै संस्थाप्रति आभार व्यक्त गरेका छन् ।

सोसाइटीले यसअघि नेपालमा कोरोनाको ‘इपिसेन्टर’ मानिएको उदयपुर भुल्केका २० घर परिवारलाई पनि राहत वितरण गरेको थियो ।

त्यो बेला २० घर परिवारलाई एक महिनासम्म पुग्ने ३० केजी चामल, ४ केजी दाल, सेनिटाइजर, साबुन लगायत सामाग्री वितरण गरिएको थियो ।

लकडाउनका बेला कहां कसलाई राहतको नितान्त आवश्यकता छ, उनीहरुलाई वितरण गर्न सोसाइटीले संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालय अन्तर्गत उत्पीडित, उपेक्षित, दलित बर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. वुद्धि नेपालीलाई अनुरोध गरि उनकै सिफारिसमा चितवन र उदयपुरमा राहत वितरण गरिएको सोसाइटी अध्यक्ष धन सार्कीले जनाए । सार्कीले अब स्याङ्जामा पनि छिट्टै राहत वितरणको तयारी भइरहेको बताए ।

एनआरएनए यूके अभियन्ता समेत रहेका सार्कीको नेतृत्वमा हालै गठित सोसाइटीमा उपाध्यक्ष पूर्णबहादुर नेपाली, महासचिव शम्सेर नेपाली, कोषाध्यक्ष थमबहादुर सार्की लगायत समाजसेवी आवद्ध छन् । सोसाइटीले नेपालीलाई आपतविपत पर्दा आफ्नो क्षमता अनुसार सहयोग गर्ने प्रमुख उद्देश्य रहेको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू