शुक्रबार, वैशाख १४, २०८१
15:01 | १९:४६

विदेशमा अलपत्र नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

नेपाली लिङ्क मे ८, २०२०

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई

काठमाडौँ ।  विभिन्न राजनीतिक दलका नेताले कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई आवश्यक व्यवस्थापन गरी तत्काल उद्धार गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समाजवादी पार्टीका नेता एवं  पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोनाका कारण विदेशमा लाखौँ संख्यामा रहेका नेपालीले ठूलो संख्यामा रोजगारी गुमाएर स्वदेश फर्कने निश्चित भएको उल्लेख गर्दै ती नेपाली नागरिकका बारेमा बेलैमा गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए । 

कोरोनाका कारण मुलुकभित्रै पनि दैनिक ज्यालादारी गर्ने र निम्न आर्थिक भएका मजदुरको समस्या पनि गम्भिर भएको उल्लेख गर्दै उनले त्यसतर्फ सरकारको उचित ध्यान जान नसकेको टिप्पणी गरे । 

नेता डा भट्टराईले कोरोना परीक्षणको संख्या नगन्य मात्र रहेको बताउँदै परीक्षणको दायरा बढाउनुपर्नेमा पनि ध्यानाकर्षण गराए । कोरोना संकटमा सरकारले अध्यादेश किन ल्याउनुपर्यो भनी प्रश्न गर्दै उनले प्रमुख प्रतिपक्षी दलको सहभागिता हुने गरी गरिएको संवैधानिक व्यवस्था भत्काउन नहुने धारणा व्यक्त गरे ।  

साथै, उनले लकडाउनका बेला सांसदलाई रातारात किन काठमाडौँ ल्याउनुपर्‍यो भन्ने विषयमा सामान्य मानिसले पनि बुझ्ने बताउँदै सो बारेमा प्रहरीले जाहेरी लिन्न भन्नु दु:खद भएको उल्लेख गरे । 

नेता भट्टराईले लकडाउनका कारण शैक्षिक गतिविधि बन्द रहेको अवस्थामा विद्यार्थीको भविष्यका बारेमा समेत सरकारको ध्यानाकर्षण गराए ।  उनले महामारीका बेला अग्रभागमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतप्रति सम्मान व्यक्त गरेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू