शुक्रबार, वैशाख १४, २०८१
23:37 | ०४:२२

विवाहमा दाइजो ‘मास्क र स्यानिटाइजर’

रासस मे ८, २०२०

पोखरा । कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् ।

वैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं  २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न विवाहमा दुवै पक्षका घरपरिवारका सदस्यको मात्रै उपस्थिति थियो ।

सामाजिक दूरी कायम राख्दै स्थानीय निकायसँग स्वीकृति लिएर विवाह सम्पन्न गरिएको हो । विवाहमा बेहुली पक्षले बेहुला पक्षलाई अन्य कुनै उपहार नभइ ‘मास्क’ र ‘स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री दाइजोका रूपमा दिएका थिए ।

संस्कार र संस्कृतिको संरक्षण गर्दै परम्परागत चलिआएको दाइजो प्रथा तोड्दै सन्देशमूलक ढंगले विवाह गर्न बेहुलापक्ष राजी भएपछि छोरी दिने निर्णय गरेको बेहुलीका बुबा नेत्रपाणि बाँस्तोलाले बताए । यो विवाह कम खर्चमा विवाह गर्न सकिन्छ र स्वयं आफैं रोगसँग डराउने हो तर काममा डराउने होइन भन्ने दरिलो उदाहरण समेत बनेको छ ।

यसअघि गत वैशाख १३ गते नै विवाह गर्ने कार्यक्रम तय भए पनि बन्दाबन्दीका कारण प्रभावित भएको र अझै लम्बिने अवस्था आएपछि दुवै पक्ष विवाहका लागि राजी भएको बेहुलाका बुबा दीपक भट्टराईले बताए ।

विवाहमा दाइजोको रूपमा तडकभडक गर्नैपर्छ भन्ने छैन भन्ने कुरामा दुवै पक्षबीच सहमति भएसँगै आफ्नो संस्कृतिको रक्षा गर्दै कम खर्चमा पनि विवाह गर्न सकिने कुरालाई यो वैवाहिक सम्बन्धले पुष्टि गरेको छ ।

यसैबीच विवाहको खर्च कटाएर बेहुली पक्षले विभिन्न १२ वटा सामाजिक संघसंस्थालाई रु पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन् । विवाह समारोहमा नेपाल पत्रकार महासंघ कास्की शाखालाई रु ५५ हजार ५५५ सहयोग गरिएको छ ।

बेहुलीका बुबा  बाँस्तोलाले उक्त रकम महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्दै पत्रकारको सुरक्षाका लागि ज्याकेटको व्यवस्थामा सहयोग गरेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू