शनिबार, वैशाख ८, २०८१
15:37 | २०:२२

दोस्रो चरणको ‘लकडाउन’ को तयारीमा बेलायत

ठूलो परिवर्तनको सम्भावना छैन

नेपाली लिङ्क मे ८, २०२०

 

लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमण नियन्त्रणको प्रयासमा लगाइएको ’लकडाउन’ मा परिवर्तन गर्नेबारे सरकारले आवश्यक गृहकार्य शुरु गरेको छ ।

देशमा ’लकडाउन’ कायम भएको सातौं साता चलिरहँदा दोस्रो चरणको ‘लकडाउन’ को तयारी भइरहेको हो 

‘लकडाउन’ लाई कसरी खुकुलो पार्दै जाने भन्ने विषयमा प्रधानमन्त्री बोरिस जोन्सनले विहीबार मन्त्रीपरिषदमा छलफल गरेका छन् । साथै, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डका ‘फर्स्ट मिनिस्टर’ हरुसंग पनि उनले यसबारे कुरा गरेका छन् ।

’लकडाउन’ बाट कसरी बाहिरिने भन्नेबारे सरकारको विस्तृत योजना प्रधानमन्त्रीले आउँदो आइतबार घोषणा गर्ने कार्यक्रम छ ।

यसअघि प्रधानमन्त्री जोन्सनले आउँदो सोमबारदेखि ’लकडाउन’ का केहि बन्देजहरु हटाइने संकेत गरेका थिए । 

तर विहीबारको ‘कोरोना ब्रिफिङ’ मा परराष्ट्रमन्त्री डोमिनिक राबले जोखिम अझै पनि कायम रहेकाले धेरै ठूलो परिवर्तन भइहाल्ने अवस्था नरहेको बताएका छन् ।  दोस्रो चरणको बारेमा सोच्ने समय आइसकेको भन्दै उनले केही सामान्य परिवर्तन भने हुन सक्ने संकेत गरेका छन् ।  

त्यस्तै, शुक्रबार बिहान बेलायतका ‘स्क्रेटरी अफ स्टेट फर कल्चर’ ओलिभर डाउडेनले  पनि प्रधानमन्त्रीको आइतबारको सम्बोधन ‘लकडाउन’ खुकुलो पार्नेमा नभइ आउँदो दिनको मार्गचित्र कोर्नेमा केन्द्रित रहने बताएका छन् । तत्कालको लागि कुनै परिवर्तन भन्दा पनि कसरी अघि बढ्ने भन्नेमा सरकारले बडो सावधानीपूर्वक कदम चाल्ने उनले बताए ।  

आइतबारअघि विकास हुने नयाँ परिस्थितिहरुले पनि सरकारले ‘लकडाउन’ को विषयमा लिन सक्ने निर्णय प्रभावित हुने ठानिएको छ ।

सरकारले ’लकडाउन’ खुकुलो पार्ने पहिलो चरणमा शुरुदेखि गरिंदै आएको ’स्टे एट होम’ को अपीललाई खारेज गर्न सक्ने बताइएको छ । आवश्यक सतर्कतासहित सक्दो धेरै मानिसहरुलाई काममा फर्किने वातावरण सिर्जना गर्ने र अर्थतन्त्रलाई सुचारु गर्ने सरकारको चाहना छ ।

तर स्कटल्याण्डकी ‘फर्स्ट मिनिस्टर’ निकोला स्टर्जनले भने जोखिमका बीच अहिले नै ‘ स्टे एट होम’ को नियम खारेज गरिए त्यो दुर्भाग्य हुने अभिव्यक्ति दिएकी छन् । उनले स्कटल्याण्डमा ‘लकडाउन’ तीन सातालाई लम्ब्याउने निर्णय गरिसकेकी छन् ।

वेल्समा पनि ‘लकडाउन’ बारे शुक्रबार निर्णय गरिदैछ ।  नर्दन आयरल्यान्डका  ‘फर्स्ट मिनिस्टर’ ले पनि अहिले नै ‘लकडाउन’ खुकुलो पार्ने बेला आइनसकेको बताएका छन् ।  

स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्याण्डले भने मन्त्रीपरिषदले गर्ने निर्णयहरु आफ्नो हकमा लागू गर्ने वा नगर्ने स्वतन्त्रता पाउनेछन् ।

उनीहरुले आफ्नो राज्यमा ‘लकडाउन’ कसरी हटाउने , कहिलेदेखि हटाउने भन्नेमा छुट्टै व्यवस्था समेत गर्न सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू