बिहीबार, वैशाख ६, २०८१
07:18 | १२:०३

नेपालमा संक्रमित ९९ पुगे, उपचारपछि घर फर्किने २२

नेपाली लिङ्क मे ६, २०२०

काठमाडौँ । ‘कोभिड १९’ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित ‘प्रेस ब्रिफिङ’ मा ‘रयापिड डाइग्नोस्टिक’ विधिबाट ५२ हजार ९७० को नमूना परीक्षण गरिएको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । गत २४ घण्टामा ९ सय ३१ वटा परीक्षण भएका छन् ।

तीव्र गतिमा विस्तार भइरहेको ‘कोभिड-१९’ को आवश्यक सामग्री व्यवस्थापनसहित परीक्षणलाई प्रभावकारी ढङ्गबाट अघि बढाइने मन्त्रालयले जनाएको छ । मुलुकमा विभिन्न ‘क्वारेन्टाइन’ मा रहने व्यक्तिको संख्या १९ हजार ७३४ छ भने ‘आइसोलेसन’ मा रहेका बिरामीको संख्या १३६ छ । ‘रेडजोन’ मा रहनेको संख्या ३३३ छ ।

कोशी अस्पतालमा उपचारमा रहेका छ जना संक्रमितको परीक्षण ‘नेगेटिभ’ देखिएकाले उनीहरु अस्पतालबाट बाहिरिएको डा देवकोटाले जानकारी दिए । अस्पतालमा कोभिडको उपचारपछि घर फर्कनेको संख्या हालसम्म २२ पुगेको छ ।

काठमाडौँका अस्पतालबाट वैशाख ११ गते डिस्चार्ज भएका पुरुषको पुनः नमूना परीक्षण गर्दा ‘पोजेटिभ’ देखिएपछि अस्पताल भर्ना गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै वैशाख १४ गते ‘डिस्चार्ज’ भएका रौतहटका १९ वर्षीय र पर्साका ४४ वर्षीय पुरुषको पनि नमूना परीक्षण ‘पोजेटिभ’ आएकाले नारायणी अस्पतालमा भर्ना गरिएको छ ।

वीरगञ्जबाट पठाइएको नमूना परीक्षणमा थप १७ जनाको नतिजा ‘पोजेटिभ’ आएको छ । पछिल्लो नतिजासँगै हाल देशमा कोभिड १९ बाट संक्रमितको संख्या ९९ पुगेको छ । उनीहरु सबैको स्वास्थ्यस्थिति सामान्य रहेको डा देवकोटाले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू