बिहीबार, चैत १५, २०८०
15:44 | २१:२९

जापानमा राष्ट्रव्यापी संकटकाल मे ३१ सम्म थप

रासस-सिन्ह्वा मे ४, २०२०

टोकियो । जापानमा कोरोनाभाइरस महामारीका कारण जारी राष्ट्रव्यापी संकटकाल थप तीन हप्ताका लागि थपिएको सरकारले सोमबार घोषणा गरेको छ ।

जापानमा गत महिना (अप्रिल ७) देखि सात राज्यमा एक महिनाका लागि जारी राष्ट्रिय सकंटकाल अप्रिल १६ मा देशव्यापी बनाइएको थियो । मंगलबारदेखि समाप्त हुनै लाग्दा पुनः संकटकाल लम्ब्याउने सूचना आएको हो ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले सरकारी कार्यदलको बैठकमा उक्त घोषणा गरेका हुन् । ‘मैले सरकारी अधिकारी, सार्वजनिक तथा निजी क्षेत्रको समेत सुझावअनुसार आगामी अप्रिल ७ देखि मे ३१ सम्मका लागि राष्ट्रिय संकटकालको घोषणा गरेको छु,’ आवेले बैठकमा भने ।

उनले थपे, ‘सबै प्रशासनिक क्षेत्रमा यो लागू हुनेछ र संकटकालको पूर्व घोषणामा व्यवस्था भएका कुनै पनि विषयलाई अर्को सूचना नभएसम्म खुकुलो पारिने छैन ।’

प्रधानमन्त्री ओवेले भने, ‘कोरोनाभाइरसविरूद्धको लडाईंका लागि आगामी कदम तयार पार्न एक महिना संकटकाल लगाइएको थियो र अझै पनि आवश्यक देखिएकाले समय थप गरिएको छ ।’

उनले नागरिकलाई उक्त समय आफू रहेको क्षेत्रबाट अन्य स्थानमा यात्रामा नजान र भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने सम्भावनालाई कम गर्न पुनः आग्रह गरेका छन् । भाइरस संक्रमणको बढी समस्या रहेका टोकियो, ओसाकासहित १३ वटै प्रशासनिक क्षेत्रमा विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

संकटकाल लम्ब्याउने निर्णयलाई चिकित्सा क्षेत्रका विशेषज्ञहरूको सल्लाहाकार समितिले सोमबार बिहान अनुमोदन गरेको थियो । सरकारले उक्त निर्णयलाई पछि संसदलाई जानकारी गराएको छ ।

अर्थतन्त्र पुनरूद्धार मन्त्री यासुतोशी निशीमुराले संसदमा बोल्दै भने, ‘कोभिड-१९ संक्रमतका नयाँ बिरामीहरू घट्ने क्रममा रहेको भएपनि सोचेअनुरूप तीव्र भएन । हामीले संक्रमण दरमा थप कमी आउँदासम्म सामान्य जनजीवनमा फर्किनका लागि पर्खिनुपर्छ भन्ने विज्ञहरूको सुझावअनुसार संकटकाल लम्ब्याउनुको विकल्प देखिएन ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू