बिहीबार, चैत १५, २०८०
09:26 | १५:११

ओली प्रचण्डले गरे आत्मालोचना, स्थायी कमिटी बैठक बिहीबार

रासस मे २, २०२०

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले यही वैशाख २५ गते बिहीबार बिहान ११.०० बजे पार्टी स्थायी कमिटीको बैठक गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको केन्द्रीय सचिवालय बैठकले बुधबार अपराह्न ३.०० बजे केन्द्रीय सचिवालयको बैठक गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको बैठक तयारीका निम्ति उक्त बैठक हुनेछ । साथै शनिबारको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई बताए ।

उनले नेकपालाई एकताबद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिष्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताका पक्षमा समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

बैठकमा पार्टी र सरकारबाट भएका कमीकमजोरीको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अध्यक्ष प्रचण्ड र अन्य नेताहरुले आत्मालोचना गरेको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले पार्टीलाई फुटउन्मुख गराउने कुनै पनि किसिमका क्रियाकलापमा कोही पनि सहभागी नहुने प्रण गर्दै अन्य नेता कार्यकर्तालाई पनि त्यसैअनुरुप निर्देशनसमेत दिएको बताए ।

पार्टी र सरकारसँग जोडिएर उठेका समग्र विषयवस्तुको समीक्षा गरी पार्टीलाई सुदृढ र मजबुद तुल्याउने तथा सरकारलाई थप प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी कोरोना महामारीबाट जोगिन सरकारले चालेका कदमलाई कार्यान्वयन गर्न पार्टी एकतावद्ध भएर परिचालन हुनेछ ।

बैठकमा प्रधानमन्त्री ओलीले चाँडै नै संसद्को बैठक बोलाउने तयारी भइरहेको जानकारी दिँदै सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सामाजिक–आर्थिक रुपान्तरणका कार्यक्रमलाई अघि बढाइने बताए । उनले कोरोनाका कारण उत्पन्न आर्थिक संकटलाई समेत सम्बोधन गर्ने गरी जनमुखी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको जानकारी दिएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू