शनिबार, वैशाख ८, २०८१
21:47 | ०२:३२

एनआरएनएको राहत ३० हजार बढीलाई

नेपाली लिङ्क अप्रिल २७, २०२०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘कोभिड-१९’ सम्बन्धी उच्चस्तरीय समितिले ३० हजार बढीलाई राहत सामग्री उपलब्ध गराएको छ ।

एनआरएनएले राहत वितरण, स्वदेश फिर्ता र पुनःस्थापनाको कार्यक्रमलाई युद्धस्तरमा अघि सारेको जनाएको छ । एनआरएनएका महासचिव डा हेमराज शर्माका अनुसार ४१ देशमा १५० भन्दा बढी शहरमा ९०० भन्दा बढी स्वयम् सेवक राहत वितरणका लागि खटिएका छन् ।

संघका राष्ट्रिय समिति र अन्तरराष्ट्रिय परिषद्ले स्थापना गरेको २४ घण्टे हटलाइनबाट सात हजारभन्दा बढी नेपालीले परामर्श लिएको डा शर्माले जानकारी दिए ।

कुल ७० जना चिकित्सकले एक हजार २०० नेपालीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएका छन् । अन्तर्राराष्ट्रिय समन्वय परिषद्ले झण्डै रु तीन करोड बराबरको राहत कोष स्थापना गरिसकेको छ । कोषको रकम बढ्ने क्रममा छ ।

एनआरएनए कोरिया, चीन, मकाउ, हङकङ र युएईले रु दुई करोड बढीको स्वास्थ्य सामग्री नेपाल पठाएको एनआरएनएले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्ले रु पाँच करोडको राहत कोष लक्ष्यसहित बढाउने अभियान जारी राखेको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी, नियन्त्रित र सुरक्षित स्वदेश फिर्ताको रणनीतिक योजना बनाइ सरकारलाई उच्चस्तरीय समितिले ज्ञापन बुझाएको छ । पुनःस्थापना र स्वदेश फिर्ता भएका नेपालीमा कसरी पुनःस्थापन गर्न सकिन्छ, उनीहरुले बाहिर सिकेको ज्ञान र सीपलाई कसरी देश विकासमा सदुपयोग गर्न सकिन्छ भन्नेबारेकोे योजना तयारीको क्रममा रहेको छ ।

एनआएनएका अनुसार शनिबारसम्म मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या ४९ पुगेको छ । जसमा बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्की १ र नेदरल्याण्डमा १ जनाको ज्यान गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू