शुक्रबार, वैशाख ७, २०८१
11:21 | १६:०६

नेपालमा १६ जना संक्रमित उपचारपछि घर फर्के

रासस अप्रिल २७, २०२०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा

काठमाडौँ । नेपालमा हालसम्म ‘कोभिड-१९’ संक्रमितको संख्या ५२ पुगेकोमा १६ जना उपचारपछि घर फर्केका छन् ।

केही दिन यता नयाँ संक्रमित फेला परेका छैनन् ।  सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकी ३६ जनाको उपचार भइरहेकोमा सबैको अवस्था सामान्य रहेको बताए ।

‘पिसिआर’ विधिबाट दश हजार ४७१ र ‘रयापिड डाइनोस्टिक टेस्ट’ (आरडीटी) बाट ४३ हजार ६३ गरी कूल ५३ हजार ५३४ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर दुई हजार १८४ जनाको परीक्षण गरिएको छ ।

प्रवक्ता देवकोटाले भने, ‘प्रदेश नं १ मा हालसम्म चार हजार ५४५, प्रदेश नं २ मा पाँच हजार २०८, वाग्मतीमा सात हजार ६२६, गण्डकीमा चार हजार ९२६, प्रदेश नं ५ मा तीन हजार ४७१, कर्णालीमा पाँच हजार २२८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९६१ आरडीटीबाट परीक्षण भइसकेको छ । आरडीटीबाट परीक्षण गर्ने ४२ हजार ६३ पुगेको छ ।’

‘क्वारेनटाइन’मा बस्नेको सङ्ख्या २० हजार १९५ र आइसोलेसनका बिरामी संख्या १०६ छ । त्यसमा उपत्यकाभित्र आठ र उपत्यका बाहिर ९८ जना छन् । मन्त्रालयले सञ्चालन गरेको दुई वटा कल सेन्टर (१११५ र ११३३) मा गत २४ घण्टामा दुई हजार ११९ वटा ‘कल’ प्राप्त भएका छन् । मन्त्रालयले सबै ‘कल’को सम्बोधन गरेको छ ।

मन्त्रालयले सञ्चालन गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य र वेभ पेजमा हालसम्म आफ्नो स्वमूल्याङ्कनको लागि ‘इन्ट्री’ गर्नेको संख्या २७ हजार ५४२ पुगेको प्रवक्ता देवकोटाको भनाइ छ ।

गत २४ घण्टामा ७४१ जनाले आफ्नो स्वमूल्याङ्कन फाराम भरेकोमा आठ जना ‘रेडजोन’ मा परेका छन् । हालसम्म कुल ‘रेडजोन’ मा हुनेको संख्य ३०४ पुगेको छ । ‘रेडजोन’मा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेको छ ।

प्रवक्ता देवकोटाले संक्रमणको प्रकृति हेरेर ‘लकडाउन’ खोलाउनेबारे के गर्ने भन्ने निर्णय हुने बताए । संक्रमितको संख्या बढ्दै गएको कारण लकडाउनलाई निरन्तरता दिनुपर्ने देखिएको उनको भनाइ छ ।

सोही अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले स्वास्थ्यकर्मीको बारेमा जानकारी दिँदै कोरोना लागेको शङ्का लागेको खण्डमा जुन विधिबाट भएपनि तत्कालै परिक्षण गर्न आग्रह गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू