बिहीबार, वैशाख १३, २०८१
02:12 | ०६:५७

भारतमा रोकिएका बेलायती लिन १४ वटा विमान पठाइंदै

रासस–एएनआई अप्रिल २४, २०२०

नयाँ दिल्ली ।  बेलायतले आफ्ना नागरिक फिर्ता ल्याउनका लागि १४ वटा ‘चार्टर’ विमान भारत पठाउने भएको छ ।

भारतबाट आफ्ना करिब ३ हजार ६ सय जना नागरिक बेलायत ल्याउने बेलायतको योजना छ । ‘लकडाउन’का कारण हाल भारतमै रोकिएका उनीहरुलाई स्वदेश फर्काउनका लागि विमानहरु भारत पठाइने बताइएको छ ।

‘दक्षिण एसिया तथा कमनवेल्थ’सम्बन्धी बेलायती मन्त्री लर्ड तारिक अहमदले जानकारी दिएअनुसार ती विमानहरु यही अप्रिल २८ मा भारत पठाइनेछ ।

बेलायतले भारतमा रहेका आफ्ना नागरिकलाई लैजान यसअघि पनि ‘चार्टर’ विमानहरु पठाएको थियो । यसमार्फत बेलायतमा आफ्ना ६ हजार ५ सय जना नागरिकलाई स्वदेश फर्काइसकेको छ ।

ती मन्त्रीका अनुसार बेलायतले आउँदो दिनमा पनि भारतमा रहेका करिब ७ हजार थप नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको छ ।

अहिले बेलायत र भारतमा नियमित उडानहरु बन्द छन् । तर पनि बेलायतले स्वदेश फर्किनुपर्ने समस्यामा रहेका नागरिकहरुलाई छानेर उनीहरुको उद्धारस्वरुप यसरी स्वदेश ल्याउने गरेको छ ।

भारतमा रहेका कम्तीमा १३ हजार बेलायती नागरिकले आफूहरु स्वदेश फर्किनैपर्ने समस्यामा रहेको भनी आवेदन गरेका बेलायत सरकारले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू