शुक्रबार, वैशाख ७, २०८१
14:04 | १८:४९

ब्रिटेनमा चक्कु प्रहारका घट्ना वृद्धि

नेपाली लिङ्क अप्रिल २४, २०२०

लन्डन । इंग्ल्याण्ड र वेल्समा चक्कु प्रहारका घट्ना बढेका छन् । सन् २०१९ मा इंग्ल्याण्ड र वेल्समा चक्कु र धारिलो हतियार प्रयोग गरि भएका अपराध अहिलेसम्मकै बढि भएको नयां तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नयां 
तथ्यांकअनुसार, सन् २०१९ मा ४५ हजार ६२७ वटा घट्ना भए । यो सन् २०१८ को तुलनामा ७ प्रतिशत बढि र तथ्यांक राख्न थालिएको साल सन् २०११ मा भन्दा ४९ प्रतिशत बढि हो ।

चक्कु अपराध इंग्ल्याण्ड र वेल्स्का महानगर क्षेत्रमा बढि भएका पाइएको छ, जसमा लन्डनमा मात्र एक तिहाइ घट्ना भएका थिए । बर्मिङहम हेर्ने वेष्ट मिडल्याण्ड प्रहरीले आफ्नो क्षेत्रमा १३ प्रतिशत घट्ना वृद्धि रेकर्ड गरेको थियो ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले चक्कु अपराध नियन्त्रणका लागि थप कडा कानून आवश्यक रहेको स्वीकार गर्दै चक्कु बोकेर हिंड्नेलाई सजाय दिइनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०१९ मा इंग्ल्याण्ड र वेल्स्मा ६७० वटा हत्या भएका पनि जनाएको छ । इसेक्समा लरीभित्र निसास्सिएको अवस्थामा भेटिएका ३९ जना समेत यो तथ्यांकमा समावेश छन् । हत्या लन्डनमै बढि भएको तथ्यांकमा छ । मेट्रोपोलिटन प्रहरीले सन् २०१९ मा १४६ हत्या भएको बताएको छ जुन अघिल्लो वर्षभन्दा १५ प्रतिशत वृद्धि हो ।

सन् २०१० यता झण्डै २० हजार प्रहरी कटौती गरिएपछि अपराधका घट्ना बढेको बताइन्छ । निवर्तमान प्रधानमन्त्री टेरेजा मे गृहमन्त्री भएर ६ वर्ष काम गर्दा बजेटसंगै प्रहरीको संख्या अत्यधिक कटौती गरिएको थियो । तर, बोरिस जोन्सन प्रधानमन्त्री भएपछि कटौती गरिए जति नै प्रहरी संख्या वृद्धि गर्ने योजना अनुरुप चरणवद्ध रुपमा भर्ना शुरु भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू