शुक्रबार, वैशाख ७, २०८१
04:35 | ०९:२०

मजदुरलाई गाडीबाट घर पठाइयो

रासस अप्रिल २३, २०२०

कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षित रुपमा व्यवस्थापन गर्न निर्देशन दिएसँगै कास्कीमा अलपत्र मजदुरको उद्धार शुरु भएको छ ।

पोखरा महानगरपालिका तथा अन्य सङ्घसंस्थाले घर जान नपाएर अलपत्र नागरिकलाई सहजरूपमा घरसम्म पुरयाउन शुरु गरेका हुन् ।

‘कोभिड-१९’ को सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको ‘लकडाउन’का कारणले गाडी नचल्दा घर जान नपाएका मजदुरलाई पोखरामा वडाले समन्वय गरेर गन्तव्यसम्म पुरयाउन शुरु गरेको छ । महानगरको वडा नं १६, ११ र वडा नं १९ को समन्वयमा बुधबार साँझ रोल्पा र दाङका २१५ मजदुरलाई पोखराबाट पाँच वटा बसमा उनीहरुको घरतर्फ पठाइएको हो ।

रोल्पाका १७५ जनालाई चार बसमा लिवाङसम्म र दाङका ४० जनालाई सदरमुकामसम्म पुर्यायाउने व्यवस्था गरिएको वडा नं १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले जानकारी दिए । गण्डकी प्रदेश सरकार तथा महानगरका विभिन्न पूर्वाधार निर्माणका आयोजनामा खटिएका मजदुरहरुलाई घर पठाइएको हो ।

त्यसैगरी साँझ ७ बजे पोखराबाट दाङका लागि ४० मजदुरलाई गाडीको व्यवस्था गरी पठाइएको छ । मङ्गलबार नेपालगञ्जका लागि १९ र कोहलपुरसम्म १३ जनालाई जाने व्यवस्था गरिएको थियो ।

‘लकडाउन’का कारणले काम गर्दै आएको ठाउँमा सामलको अभाव भएपछि मजदुर घर जान कष्टकर यात्रा शुरु गरेपछि सरकारले उनीहरुको उद्धार गरी सहजरूपमा घर पुरयाउने निर्णय गरेको थियो ।

लकडाउनकै अवधिमा यसअघि चैत १७ गतेसम्म जिल्ला प्रशासन कार्यालयको समन्वयमा तीन हजार २०० हाराहारीमा मजदुरको निर्माण व्यवसायीले साइटबाट उद्धार गरी घर पठाएको नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले बताए । दोस्रोपटक थप गरिएको ‘लकडाउन’पछि प्रशासनले पास वितरणमा कडाइ गरेपछि मजदुरको उद्धार हुन सकेको थिएन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू