बिहीबार, वैशाख १३, २०८१
18:11 | २२:५६

नेपालमा ‘कोभिड १९’ का संक्रमित ४५ पुगे, निको हुने ७

रासस अप्रिल २२, २०२०

नेपालमा हालसम्म ‘कोभिड १९’ बाट संक्रमितको संख्या ४५ पुगेको छ ।

काठमाडौँ । नेपालमा हालसम्म ४० हजार ४३१ जनाको कोरोना भाइरसको प्रयोगशाला परीक्षण भएको छ । ‘पिसिआर’ विधिबाट नौ हजार ११ र ‘र्यापिड डायग्नेस्टिक टेस्ट’ प्रविधिबाट परीक्षण गर्नेको संख्या ३१ हजार ४२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार भेटघाटमा पछिल्लो २४ घण्टामा तीन हजार ७३६ नयाँ प्रयोगशाला परीक्षण भएको जानकारी दिइयो ।

‘क्वारेन्टाइन’मा रहने व्यक्तिको संख्या हालसम्म आठ हजार ५९५ छ भने ‘आइसोलेसन’मा रहने सम्भावित संक्रमितको संख्या ९५ जना रहेको छ । हाल ‘कोभिड १९’ को ‘रेड जोन’मा पर्नेको संख्या २६९ पुगेको छ ।

मन्त्रालयमा सञ्चालनमा रहेका ‘कल सेन्टर’मा गत २४ घण्टामा दुई हजार १४४ कल प्राप्त भएकोमा त्यसको सम्बोधन गरिएको जानकारी दिइयो । ‘कोभिड १९’ को उपचार गरिरहेकामध्ये निको भएर दुई जना बुधबार मात्र घर फर्किएसँगै उपचार गरेर फर्कनेको संख्या सात पुगेको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा बुधबार थप तीन वटा परीक्षण ‘पोजेटिभ’ आएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनीहरु तीनै जना पुरुष भएको बताइएको छ ।

नेपालमा हालसम्म ‘कोभिड १९’ बाट संक्रमितको सङ्ख्या ४५ पुगेको छ । ३५ जनाको उपचार भइरहेको छ भने बुधबार पुष्टि भएका तीन जनाको ‘क्वारेन्टाइन’मा रहेकाले उपचारका लागि अस्पताल लैजाने क्रममा रहेको जानकारी दिइयो । उपचारमा रहेका सबैको स्थिति सामान्य छ ।

यसैबीच, मन्त्रालयले ‘कोभिड १९’ को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउन समयमा ज्येष्ठ नागरिकको स्वास्थ्य र स्याहारमा विशेष ध्यान पुर्याउन आग्रह गरेको छ । नियमित खाने औषधिको उचित व्यवस्था गर्न र स्वास्थ्यमा समस्या देखिएमा स्वास्थ्य संस्थामा पुर्याइदिन पनि मन्त्रालयले सुझाव दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू