शुक्रबार, वैशाख ७, २०८१
18:32 | २३:१७

बेलायतमा कोरोनाविरुद्धको खोपको ‘मानव परीक्षण’ शुरु हुँदै

विहिबारदेखि 'मानव परीक्षण'

नेपाली लिङ्क अप्रिल २१, २०२०

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानकक

लण्डन । बेलायतमा कोरोना भाइरसविरुद्धको खोपको ‘मानव परीक्षण’ यहि सातादेखि शुरु हुने भएको छ ।

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककका अनुसार यहाँको ‘अक्सफोर्ड विश्वविद्यालय’मा विहिबारदेखि कोरोना विरुद्धको खोपको ‘मानव परीक्षण’ शुरु गरिनेछ ।

मंगलबार सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’लाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री ह्यानककले सोहि परीक्षणलाई सघाउन सरकारले अक्सफोर्ड विश्वविद्यालयलाई २० मिलियन पाउण्ड प्रदान गर्ने जानकारी गराए ।

‘अक्सफोर्ड’ र ‘इम्पेरियल कलेज लण्डन’मा भइरहेका खोप विकासका प्रयासलाई ‘आशा लाग्दो’ भन्दै उनले तीव्र रुपमा प्रगति भइरहेको पनि बताए । कोरोना भाइरसविरुद्धको खोप विकासका लागि बेलायतले अन्य देशहरुले भन्दा धेरै रकम लगानी गरेको मन्त्री ह्यानककको भनाइ थियो ।

जानकारहरुका अनुसार कुनै पनि महामारीविरुद्धको खोप विकासका लागि महिनौंदेखि वर्षौंसम्म लाग्ने हुन्छ । मानवमा गरिएका परीक्षण पनि थुप्रै पटक विफल हुने सम्भावना उच्च रहन्छ । त्यसैले बेलायतमा खोपको मानव परीक्षण शुरु भएपनि तत्काल नै सफलता मिल्ने सम्भावना भने न्यून नै रहन्छ ।

‘ब्रिफिङ’का क्रममा मन्त्री ह्यानककले ‘फ्रन्टलाइन’मा खटिएका स्वास्थ्यकर्मीहरुको लागि पर्याप्त ‘पिपिई’ सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै आवश्यक व्यवस्थापनको कोशिस भइरहेको पनि बताए ।

सोहि अवसरमा इंग्ल्याण्डका ‘डेपुटी चिफ मेडिकल अफिसर’ डा. जोनाथन भ्यान ट्यामले लण्डनका अस्पतालमा भर्ना हुने संक्रमितहरुको संख्या घट्न थालेको संकेत गरे । लण्डनका अस्पतालमा सबैभन्दा बढि बिरामीको संख्या अप्रिल १० मा ‘रेकर्ड’ भएको र त्यसयता उक्त संख्या निरन्तर घट्दै गइरहेको उनले बताए ।

तर अझै पनि संक्रमण उच्च तहमै रहेका कारण खतरा टरिनसकेको उनले स्पष्ट पारे । लण्डनबाहेक बेलायतका अन्य क्षेत्रका अस्पतालमा भने बिरामीको संख्या घट्ने क्रम शुरु भइनसकेको उनको भनाइ थियो ।

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ सय २८ जनाले ज्यान गुमाएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जारी गरेको तथ्यांकअनुसार हालसम्म ज्यान गुमाउनेहरुको कुल संख्या १७ हजार ३ सय ३७ पुगेको छ ।

मंगलबारको तथ्यांकले अघिल्लो दिनको तुलनामा मृतकको संख्या झण्डै दोब्बर देखाएको छ । ‘विकेण्ड’मा मृत्युहरुको ‘रिपोर्टिङ’ सुस्त हुने कारण पनि सोमबारभन्दा मंगलबार मृत्युको संख्या धेरै ‘रिपोर्ट’ भएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमितहरुको संख्या पनि ४ हजार ३ सय १ ले वृद्धि भएको छ । यससंगै हालसम्म बेलायतमा कोरोना संक्रमण हुनेको कुल संख्या १ लाख २९ हजार ४४ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू