शनिबार, वैशाख ८, २०८१
04:30 | ०९:१५

बेलायतमा निर्मित चलचित्र ‘कैदीको पत्र’ को ‘फर्स्ट लुक’ सार्वजनिक

नेपाली लिङ्क अप्रिल २१, २०२०

लन्डन । साहित्यकार स्व. ईश्वर मानन्धरको कथा संग्रहमा आधारित नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ को ‘फर्स्ट लुक’ सार्वजनिक भएको छ ।

बेलायतमा बस्दै आएका वरिष्ठ रंगकर्मी एवं अभिनेता सनमकुमार बैरागद्वारा निर्देशित सो चलचित्रको छायांकन बेलायतमै गरिएको हो । स्कटल्यान्डको एडिनबरा, क्रिफ, अबेरफेल्दी, केनमोर, ओबेन, किलिङग, ग्लास्गो लगायत क्षेत्रका मनोरम ‘लोकसन’ चलत्रिमा कैद छन् ।

युवा पुस्तालाई पनि नेपाली चलचित्रप्रति आकर्षित गर्ने उद्देश्यले यस चलचित्रमा ३५ प्रतिशत भन्दा बढी अंग्रेजी भाषा प्रयोग गरिएको निर्देशक बैरागले बताएका छन् ।

नेपाली लगायत विदेशी कलाकार समेतको अभिनय रहेको ‘कैदीको पत्र’मा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी (दुवसु क्षेत्री) को समेत अभिनय छ । म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुवर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।

भिजन संसार प्रालिको ब्यानरमा निर्माण गरिएको तथा निर्देशक बैरागकै गीत, पटकथा तथा संवाद रहेको यस चलचित्रको छायांकन ४० दिन लगाएर गरिएको हो ।

चलचित्रको ‘पोष्ट प्रोडक्सन’को अधिकांश काम सम्पन्न भइसकेको छ भने ‘रिलिज डेट’ तोकेर गीत सार्वजनिक गर्ने तरखरमा निर्माण पक्ष छ ।

महामारीको रुपमा संसारभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभाव चलचित्र ‘कैदीको पत्र’ लाई पनि परेको निर्देशक बैरागले बताएका छन् । जसकारण चलचित्रको प्रदर्शन मिति पर धकेलिने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू