मंगलबार, चैत ६, २०८०
10:20 | १६:०५

कोरोना प्रभावित देशका एनआरएनए प्रतिनिधि र परराष्ट्रमन्त्रीबीच छलफल

रासस अप्रिल २०, २०२०

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) ले बढी प्रभावित देशका गैरआवासीय नेपाली संघ(एनआरएनए)का प्रतिनिधिसँग प्रत्यक्ष संवाद गरेका छन् ।

मन्त्री ज्ञवालीले सोमबार मन्त्रालयबाटै आइसिसी अध्यक्षसहित विभिन्न ११ देशका एनआरएनएका अध्यक्षसँग ‘भिडियो कन्फ्रेन्स कल’मार्फत कोरोना भाइरसका कारणले बिचल्लीमा परेका नेपाली समुदायको आवाजको सुनुवाइ गरे ।

उनले नेपालमा लकडाउनको अवस्था लम्बिँदै गएकाले विदेशमा रहेका नेपाललाई तत्काल नेपाल फर्काउन नसकिएको जानकारी दिए । ‘विदेशमा अलपत्र नेपालीप्रति सरकार पूर्णरुप जानकार र सचेत छ, हामी अवस्था अनुकूल हुनेबित्तिकै नेपाल फर्काउन प्रक्रिया शुरु गर्छौँ’, मन्त्री ज्ञवालीले भने, ‘सरकार वैदेशिक रोजगारीमा रहेका नेपाली मुख्यतया खाडी क्षेत्रका श्रमिकका समस्यालाई तत्काल सम्वोधन गर्ने विषयमा सकरात्मक छ ।’

सरकारले कूटनीतिक नियोग र एनआरएनसँगको छलफलबाटै समस्याको समाधान निकाल्ने बताउँदै मन्त्री ज्ञवालीले विदेशमा गैरआवासीय नेपालीलाई धैर्य गर्न आग्रह गरे । उनले अप्ठ्यारो अवस्थामा विदेशमा रहेका नेपालीले खेलेको भूमिकाको प्रशंसाका साथ कोरोनाविरुद्ध जनचेतना, पीडितका लागि राहत वितरणलगायत काममा एनआरएनका शाखाले खेलेको भूमिकाप्रति खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

मन्त्री ज्ञवालीले कोरोनाबाट प्रभावित देशसँग समेत सरकारले छलफल गरिरहेको जानकारी दिँदै विदेशस्थित संघसंस्था र सरकारी नियोग नभएका देशमा एनआरएनसँग मिलेर काम गर्न नेपाली दूतावासहरु सक्रिय पारिएको जानकारी पनि दिए ।

बैठकमा एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले चालेका कदम प्रभावकारी रहेको बताए । अध्यक्ष पन्तले भने, ‘विदेशको अनुभवले पनि नेपाल सरकारका निर्णय निकै प्रभावकारी देखिएका छन् । धेरै देशले लकडाउनको निर्णय समयमा गर्न नसक्दा संक्रमण बढेको छ, लकडाउनका लागि नेपाल सरकारले गरेको निर्णय ऐतिहासिक हो ।’

अध्यक्ष पन्तले कोरोनो भाइरसले प्रभावित पारेका वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति राहत कार्यक्रममा सरकारसंँग मिलेर काम गर्न संस्था तयार रहेको जनाए । युरोप, अमेरिकाका गैरआवासीय नेपालीभन्दा मध्यपूर्वका देशमा वैदेशिक रोजगारीमा रहेका नेपाली ठूलो समस्या रहेको बताउँदै पन्तले भने, ‘नेपाली श्रमिकका लागि नेपाल सरकारले पहल कदमी चाल्नुपर्छ ।’

संघका महासचिव डा हेमराज शर्माले नेपाल सरकारलाई विदेशमा रहेका नेपाली चिकित्सकको विज्ञतालाई अहिलेको कोरोना महामारीमा सदुपयोग गर्न सुझाव दिए । उनले विदेशस्थित नेपाली कूटनीतिक नियोग, एनआरएन र नेपाल सरकारबीचको एक संयुक्त कार्यदलमार्फत कोरोना पीडितका लागि राहत वितरण गर्नुपर्ने विचार व्यक्त गरे ।

‘एनआरएनए नीति तथा प्रोसिडर समिति’का संयोजक रामशरण सिम्खडाले वैदेशिक रोजगारमा रहेका नेपालीको संख्या ठूलो भएकाले नेपाल सरकारका तर्फबाट पनि राहत कार्यक्रममा सहकार्यका लागि आग्रह गरे ।

बैठकमा सहभागी एनआरएनका विभिन्न देशका अध्यक्षले विद्यार्थी, भूपूगोर्खा, वैदेशिक रोजगारीमा रहेका श्रमिकको समस्या, राहत तथा स्वास्थ्यसम्वन्धी सामग्री वितरण, नेपाल तत्काल फर्कने चाहनेको व्यवस्थापनलगायत विषयमा मन्त्रीसमक्ष आआफ्ना भनाइ राख्दै ‘कोभिड-१९’ ले अर्थतन्त्रमा ठूलो प्रभाव पर्दा देश आर्थिक मन्दीमा जान सक्ने भएकाले दीर्घकालीन तथा अल्पकालीन आर्थिक नीति तय गर्न सरकारलाई सुझाव दिएका थिए ।

बैठकमा एनआरएनए बेलायत, जर्मनी, अमेरिका, इटाली, स्पेन, जापान, संयुक्त अरब इमिरेट्स, फ्रान्स, दक्षिण कोरिया, साउदी अरबलगायत देशका अध्यक्षको सहभागिता थियो । बैठकमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको पनि सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू