शनिबार, वैशाख ८, २०८१
01:11 | ०५:५६

नेपालमा हालसम्म ३३ हजारको कोरोना परीक्षण

रासस अप्रिल २०, २०२०

फाइल फोटो

काठमाडौँ । नेपालमा ‘कोभिड-१९’ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ ।

‘पिसीआर’ विधिबाट आठ हजार ४१४ र ‘रयापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर ३२४ वटा ‘पिसीआर’ परीक्षण भएका छन् भने ‘आरडिटी’ परीक्षण गराउनेको संख्या तीन हजार १९ पुगेको छ ।

मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले हालसम्म कोरोना सङ्क्रमितको संख्या ३१ पुगेको जानकारी दिए । तीमध्ये चार जना निको भएर घर फर्किसकेका छन् भने बाँकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएको र उपचारको क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता देवकोटाले भने, ‘आरडिटी सबै जिल्लामा शुरु भइसकेको छ, प्रदेश नं १ मा हालसम्म दुई हजार ३४९, प्रदेश नं २ मा तीन हजार २३८, वाग्मती प्रदेशमा चार हजार ६७६, गण्डकी प्रदेशमा तीन हजार ७५१, प्रदेश नं ५ मा दुई हजार ३२४, कर्णाली प्रदेशमा तीन हजार २३२ र सुदूरपश्चिम प्रदेशमा पाँच हजार ५७८ वटा आरडिटी परीक्षण भइसकेको छ ।’

‘क्वारेनटाइन’मा बस्ने व्यक्तिको संख्या पाँच हजार ९३६ छ । ‘आइसोलेसन’मा रहेका बिरामीको संख्या १११ छ । यसमध्ये उपत्यकाभित्र चार जना छन् भने उपत्यका बाहिर १०७ जना छन् । मन्त्रालयले सञ्चालन गरेको दुई वटा कल सेन्टर (१११५ र ११३३) मा गत २४ घण्टामा दुई २८९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।

गण्डकी प्रदेशबाट १०९२ र सुदूरपश्चिम प्रदेशबाट ११४८ नं. मा निःशुल्क कल सेन्टर शुरु भएको छ । त्यसमा कोरोनाबारे आफ्नो जिज्ञासा राख्न सकिन्छ । मन्त्रालयले सञ्चालन गरेको मोबाइल एप्स ‘हाम्रो स्वास्थ्य’ र वेब पेजमा हालसम्म आफ्नो स्वमूल्याङ्कनका लागि ‘इन्ट्री’ गर्ने व्यक्तिको संख्या २१ हजार २९१ पुगेको प्रवक्ता देवकोटाको भनाइ छ । यसमध्ये गत २४ घण्टामा ४५७ जनाले आफ्नो स्वमूल्याङ्कन फाराम भरेका छन् । जसमध्ये ३ जना ‘रेड जोन’ मा भएको पाइएको छ ।

हालसम्म कूल ‘रेड जोन’ मा हुनेको संख्या २६३ पुगेको छ । ‘रेड जोन’मा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनका लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने कार्य भइरहेको छ ।

सरकारले त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग, कीर्तिपुरबाट कर्णाली प्रदेश सरकारका लागि उपलब्ध हुने गरी ‘पिसीआर मेशिन’ उपलब्ध गराएको छ । आइतबार मात्रै उदयपुरमा थप ५२ जनामा पिसीआर नमूना सङ्कलन गरिएको छ । नमूनाको परीक्षण हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेको छ ।

मन्त्रालयले क्यान्सर, डाइलासिस गर्नुपर्ने, मुटु रोगी, प्रसूतिसम्बन्धी जटिल र सुतकेरीसम्बन्धी रोग र दमलगायतका रोग र अन्य दीर्घ रोग सेवा दिइरहेका विशिष्ट प्रकृतिका अस्पताललाई सेवा निरन्तर सुचार गर्न आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू