शुक्रबार, वैशाख १४, २०८१
16:22 | २१:०७

कोरोना पीडितको सहयोगार्थ एनआरएनए पूर्व अध्यक्षहरुको सक्रियता

रासस अप्रिल १७, २०२०

काठमाडौँ । कोभिड–१९ को महामारीले चपेटमा परेका विदेशका नेपालीको सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्षहरु एकजुट भएका छन् ।

एनआरएनएको शुक्रबार बिहान पदाधिकारी तथा पूर्व अध्यक्षको विद्युतीय बैठकमा कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरिएको कार्यकारी निर्देशक हेमन्त दवाडीले जानकारी दिए ।

बैठकको अध्यक्षता गर्दै अध्यक्ष कुमार पन्तले कोरोना पीडित र नेपाल फर्किन चाहने नेपालीका सम्बन्धमा पूर्व अध्यक्षहरुसँग परामर्श गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाल फर्केर आउने नेपालीलाई देशमा समायोजन गर्न आर्थिक रुपमा पनि तयार हुनुपर्नेमा जोड दिए । उनले कोरोना संक्रमणको महामारीबाट प्रभावितका लागि सहयोगार्थ अर्थ संकलन गरेर दीर्घकालीन कोष स्थापना गर्न सुझाव पनि दिए ।

पूर्व अध्यक्ष देवमान हिराचनले ‘लकडाउन’का कारण कृषि उत्पादनले बजार नपाउँदा कृषकले आर्थिक क्षति व्यहोर्नुपरेको बताए । पूर्व अध्यक्ष जीवा लामिछानेले विदेशमा रहेका नेपालीका समस्या समाधानका लागि एनआरएनएले थप सक्रियता देखाउनुपर्ने बताउँदै संस्थालाई अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गर्न सुझाव दिए ।

निवर्तमान अध्यक्ष भवन भट्टले संक्रमणमा परेका नेपालीको सहयोगमा आफ्नो र अर्को नभनी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । संघका उपाध्यक्ष डा बद्री केसीले वैदेशिक रोजगारीमा रहेका गैरआवासीय नेपालीका समस्या र स्वास्थ्यसम्बन्धी सामग्री खरीदमा भएको प्रगति विवरणबारे विस्तृत जानकारी दिए ।

संघका उपाध्यक्ष सोनाम लामाले गैरआवासीय नेपालीले पठाएका स्वास्थ्य सामग्री वितरणमा सरकारी प्रक्रिया ढिलो नहुन आग्रह गरे । अर्का उपाध्यक्ष मन केसीले कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपालीले भोगेको समस्याका बारेमा जानकारी दिए ।

एनआरएनएका संस्थापक रामप्रताप थापाले नेपाली विद्यार्थीको मुख्य समस्यामा केन्द्रित रहेर संस्थालाई राहतको ‘प्याकेज’ ल्याउनुपर्ने सुझाव दिए । प्रवक्ता डिबी क्षेत्रीले मध्यपूर्वमा रहेका गैरआवासीय नेपाली समुदायका गतिविधि र समस्याका बारेमा आफ्ना भनाइ राखेका थिए । कोषाध्यक्ष महेश श्रेष्ठले सबै राष्ट्रिय समितिलाई तीनतीन महिनामा आर्थिक प्रतिवेदन वेबसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

महिला संयोजक भूमा लिम्बूले विदेशमा रहेका नेपालीलाई खानबस्नको समस्या रहेको विचार व्यक्त गरिन् । बैठकमा महासचिव डा हेमराज शर्माले कोरोना पीडित नेपालीको तथ्यांक संकलन भइरहेको जानकारी दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू