शुक्रबार, चैत १६, २०८०
12:29 | १८:१४

बेलायतका नेपालीलाई टेलिफोनबाटै परामर्श बाँड्दै नेपाली डाक्टरहरु

नेपाली लिङ्क अप्रिल १४, २०२०

फाइल फोटो: ‘नेप्लिज डक्टर्स एशोसिएसन यूके’मा आबद्ध बेलायतमा कार्यरत नेपाली डाक्टरहरु ।

लण्डन । सिंगो विश्व नै यतिबेला कोरोना भाइरसविरुद्धको लडाईंमा छ । जुन लडाईंको अग्रमोर्चा सम्हाल्दैछन् डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मीहरु ।

बेलायतमा कार्यरत सयौं नेपाली डाक्टर, नर्सहरु पनि अहिले ‘फ्रन्टलाइन’मै छन् । दिनहुं हजारौंको संख्याका संक्रमितहरु बढिरहँदा स्वास्थ्यकर्मीहरुको काममा पनि दबाब र चुनौति थपिंदै जानु स्वभाविक छ ।

आफ्नै स्वास्थ्यको समेत जोखिम मोलेर कोरोना संक्रमितहरुको उपचारमा खटिएका बेलायतका नेपाली डाक्टरहरु यतिबेला आफ्नो काममा मात्रै सिमित भएर बसेका छैनन् ।

व्यस्त दैनिकीबीच पनि केहि समय निकालेर स्वयमसेवी रुपमा समुदायलाई सघाउने कोशिस गर्दैछन् । जसको संयोजन बेलायतमा कार्यरत नेपाली डाक्टरहरुको संस्था ‘नेप्लिज डक्टर्स एशोसिएसन यूके’ले गरिरहेको छ ।

टेलिफोनमै स्वास्थ्य परामर्श

नेप्लिज डक्टर्स एशोसिएसन यूकेका अध्यक्ष डा रमेश खोजु

एशेसिएसनका अध्यक्ष डा रमेश खोजुका अनुसार २ दर्जन बढि स्वयमसेवी डाक्टरहरुको सम्पर्क विभिन्न माध्यमबाट समुदायमा बाँडिएको छ । कुनै पनि स्वास्थ्यसम्बन्धी प्रश्न, जिज्ञासा र समस्या हुनेहरुले टेलिफोनबाटै डाक्टरहरुको सल्लाह र परामर्श लिन सक्ने प्रबन्ध मिलाइएको छ ।

‘हामीलाई अहिले यहाँका नेपालीहरुले विभिन्न समस्याहरुसहित सम्पर्क गरिरहनुभएको छ । कोरोना भाइरसका लक्षणहरु देखिएको, संक्रमणको आशंका भएकोदेखि जोखिमका सम्भावना र रोकथामका उपायहरुबारे पनि जिज्ञासाहरु आएका छन्’, अध्यक्ष डा. खोजुले भने, ‘हामीले अवस्था हेरेर सल्लाह, परामर्श दिने , अस्पताल जान आवश्यक छ, छैन सुझाव दिने गरिरहेका छौं ।’

स्वयमसेवी डाक्टरहरुको सम्पर्क इमेल आफ्नो वेबसाइटका साथै नेपाली दूतावास र एनआरएनए यूकेको च्यानलबाट समेत शेयर गरिएको श्रेष्ठले बताए । परामर्श लिन चाहनेहरुका लगि अध्यक्ष डा खोजुको सुझाव छ, ‘हाम्रो वेबसाइटमा डाक्टरहरुको इमेल आइडीहरु उपलब्ध छन्, इमेलमार्फत आफ्नो सम्पर्क नम्बर दिनुहोस् । सम्बन्धित डाक्टरले तपाईलाई टेलिफोन गर्नेछन् ।’

‘एनएचएस’का सुचना नेपालीमा

‘एनएचएस’ले अंग्रेजीमा प्रकाशन गरेका सुचना र जानकारी एशोसिएसनले नेपालीमा अनुवाद गरी वितरण गरेको छ ।

कोरोना भाइरसको बारेमा सचेतना जगाउन यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले अंग्रेजी भाषामा प्रकाशन गरेका सूचना र जानकारी एशोसिएसनले नेपालीमा अनुवाद गरी वितरण गरेको छ ।

कोरोना भाइसको संक्रमणका कारण के कस्ता लक्षणहरु देखिन्छन् ? कुन अवस्थामा संक्रमणको जोखिम उच्च रहन्छ भन्नेदेखि घरभित्रै बस्नुको महत्व, आइसोलेसनमा बस्दा ध्यान पुर्याउनुपर्ने कुराहरु समेत समेटिएका जानकारी नेपाली भाषामै उपलब्ध गराइएको एशोसिएसन अध्यक्ष डा रमेश खोजुले बताए ।

एशोसिएसनकै आग्रहमा डाक्टर सुधिर लोहनी र डा शम्भु आचार्यले छुट्टाछुट्टै पोडकास्टमार्फत पनि समुदायको लागि आवश्यक जानकारी र सूचनाहरु प्रकाशन गरेका छन् ।

बेलायतमा बस्ने नेपालीहरुको ठूलो हिस्सा अंग्रेजी नबुझ्ने पूर्व गोर्खाहरुको छ । अहिले तुलनात्मक रुपमा बढि जोखिममा रहेका वृद्धावस्थाका गोर्खा र तीनका परिवार नेपालीमा बाँडिएका सूचनाहरुले लाभान्वित हुने आशा डाक्टरहरुको छ ।

नेपालका डाक्टरहरुलाई सहयोग

बेलायतमा कार्यरत नेपाली डाक्टरहरुको प्रतिनिधि संस्था हो ‘नेप्लिज डक्टर्स एशोसिएसन यूके’ ।

कोरोना भाइरसको समस्या नयाँ हो । अहिलेसम्म औषधि समेत पत्ता लागिसकेको छैन । यो भाइरस संक्रमणका लक्षण, अवस्था, जोखिम आदि विषयमा दिनहुँ नौला तथ्यहरु खुल्दै गइरहेका छन् ।

बेलायतमा काम गर्ने क्रममा अनुभव गरेका, सिकेका र थाहा पाएका नौलो जानकारी, सुचना र अनुभव डाक्टरहरुले नेपालमा कार्यरत डाक्टरहरुसंग समेत शेयर गर्ने गरका छन् ।

‘काठमाडौंसहित देशका विभिन्न शहरस्थित अस्पतालका ‘क्रिटिकल केयर’मा कार्यरत डाक्टरहरु हाम्रो सम्पर्कमा हुनुहुन्छ । ‘ह्वाट्सअप’को ग्रुपमा उहाँहरुसंग जोडिएर हामीले आफ्ना अनुभव र सुचनाहरु शेयर गर्ने गरेका छौं’, एशोसिएसनका अध्यक्ष खोजु भन्छन्, ‘कोरोनाका सम्बन्धमा यहाँको एनएचएसले जारी गरेको ‘गाइडलाइन्स’देखि हामीले सिकेका कुरा र सूचनाहरु नेपालका साथीहरुसंग बाँड्छौं । ‘पिपिइ’ कस्तो अवस्थामा प्रयोग गर्ने, कसरी लगाउने, कसरी फुकाल्नेदेखि बिरामीलाई कसरी ‘ह्यान्डल’ गर्नेसम्मका सवालमा हामी अनुभवहरु सुनाउँछौं ।’

बेलायतमा अड्किएका डाक्टरहरुलाई भरोसा

बेलायतको नेशनल हेल्थ सर्भिसमा काम गर्न ईच्छुक नेपालका डाक्टरहरु जेनेरल मेडिकल काउन्सिलको परीक्षा दिन बेलायत आएको बेला लकडाउनले यतै अड्किए । उनीहरुमध्ये कतिपयको जाँच दिन नपाउँदै स्थगित भयो । जाँच दिनसम्म पाएका अरु केहि नेपाल फर्किन पाएनन् ।

नेपाल मेडिकल एशोसिएसनबाट खबर आएपछि बेलायतमा रोकिएका ती डाक्टरहरुबारे सोधीखोजी गर्यो नेप्लिज डक्टर्स एशोसिएसन यूकेले ।

‘हामीले समस्यामा पर्न सक्ने ती डाक्टरहरुको तथ्यांक संकलन गर्यौं । लकडाउनले रोकिएका डेढ दर्जन डाक्टरहरुसंग हाम्रो सम्पर्क भएको छ । उहाँहरुलाई आवश्यक सल्लाह,परामर्श दिएका छौं । ‘जिएमसी’को जाँच दिन पाएर पास भइसकेका केहि डाक्टरहरुलाई कामका लागि आवेदन कसरी गर्ने भनेर समेत सहयोग गर्दैछौं’, अध्यक्ष खोजुले भने, ‘अहिले त उहाँहरु आर्थिक समस्यामा हुनुहुन्न । तर त्यस्तो अवस्था आइहाल्यो भने पनि हामी सहयोग गर्छौं, नआत्तिनु भनेका छौं ।’

यसका साथै ‘नेप्लिज डक्टर्स एशोसिएसन यूके’ले लण्डनस्थित नेपाली दूतावास, एनआरएनए आइसिसी, एनआरएनए बेलायतसहित अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा कार्यरत नेपाली डाक्टरहरुसंग मिलेर समेत उनीहरुको सचेतना र सहयोग अभियानमा सघाइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू