बिहीबार, चैत १५, २०८०
11:31 | १७:१६

नेपालमा थप तीनमा ‘कोभिड–१९’ को संक्रमण

रासस अप्रिल १२, २०२०

नेपालमा थप तीन व्यक्तिमा ‘कोभिड–१९’ को संक्रमण पुष्टि भएको छ

काठमाडौँ, ३० चैत- नेपालमा थप तीन व्यक्तिमा ‘कोभिड–१९’ को संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको ‘आइसोलेसन’मा रहेका तीन व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय प्रयोगशालामा गए राति भएको परीक्षणबाट तीन व्यक्तिमा ‘कोभिड–१९’ को संक्रमण पुष्टि भएको जानकारी दिए । उनले कोभिड संक्रमित हुनेमा वर्ष ३७, ५५ र ४४ का पुरुष रहेको बताए ।

वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शङ्कास्पद रूपमा रहेका २१ जनाको परीक्षण गर्दा कोभिडको शङ्का लागेपछि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनीहरुको समेत ‘थ्रोट स्वाब’ किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परीक्षण गरिएकामा २१ मध्ये शङ्कास्पद तीनजनाको पोजिटिभ देखिएपछि पुनः यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

कोभिड पुष्टि भएका व्यक्तिलाई आइसोलेसनमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा देवकोटाले बताए । कोभिड संक्रमितको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने कार्य पनि शुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले हाल ‘कोभिड–१९’ संक्रमितको संख्या थपिरहेको अवस्थामा थप रणनीति बनाउँदै ‘लकडाउन’को पूर्ण रुपमा पालना गर्न आम सर्वसाधारणमा अनुरोध गरेको छ । प्रवक्ता डा देवकोटाले ‘कोभिड–१९’ को परीक्षणको दायरा बढाएर समयमै सङ्क्रमितको पहिचान गरी भावी रणनीति तय गर्न सहज हुने भन्दै यस कार्यमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

मन्त्रालयले अहिलेसम्म ‘पिसिआर’ प्रविधिबाट पाँच हजार १ सय ८४ जनाको परीक्षण गरिसकेको छ । पछिल्लो चौबिस घण्टामा ७ सय ९५ जनाको परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पछिल्लो २४ घण्टामा ६ सय २८ समेत अहिलेसम्म जम्मा चार हजार २० जनाको परीक्षण भएको छ । काठमाडौँ उपत्यकाबाहिरका प्रयोगशाला पछिल्लो २४ घण्टामा १६७ समेत एक हजार १६४ को परीक्षण भएको छ ।

देशभरमा अहिले आइसोलेसनमा ८५ र क्वारेइन्टाइनमा ७ हजार ९ सय ७३ रहेका छन् । आइसोलेसनमा काठमाडौँमा १५ र उपत्यकाबाहिर ७० जना छन् । ‘रयापिड टेस्ट किट’ सबै जिल्लामा पुगेर काम शुरु भइसकेको मन्त्रालयले जनाएको छ । तीन हजार ३ सय २१ जनाको ‘रयापिड टेस्ट’ भएको छ । मन्त्रालयले कल सेन्टर १११५ र ११३३ मा कुल तीन हजार १ सय ३६ कल रिसिभ गरेको छ । मोबाइल एप्स र वेबसाइटबाट क्वारेइन्टाइनमा रहेकासँग सम्पर्क भइरहेको छ ।

बाँकी कोभिड संक्रमितमध्ये दुईजनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा उपचार भइरहेको छ । थप दुई बाग्लुङ र चारजनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन् ।

दोस्रोपटक गत चैत १० गते १९ वर्षीया युवतीमा कोभिडको संक्रमण देखापरेको थियो । चैत ४ गते कतार एयरवेजको जहाजमार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा ‘कोभिड–१९ पोजेटिभ’ देखिएको थियो ।

त्यस्तै, चैत १२ गते पुनः एकजनामा ‘कोभिड पोजिटिभ’ देखिएको थियो । यस्तै चैत २० गते बाग्लुङका ६५ वर्षीया एक ज्येष्ठ नागरिकमा कोभिड पुष्टि भएको थियो । पछिल्लोपटक चैत २२ गते एकै सुदूरपश्चिममा थप तीनजनामा कोभिड संक्रमण भेटिएको थियो । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को संक्रमण देखिएको थियो ।

नेपालमा माघ ९ गते पहिलो पटक चीनको वुहानबाट आएका नेपालीमा कोरोना देखिएको थियो । चीनको वुहानमा गत डिसेम्बर ३१ मा पहिलोपटक देखिएको ‘कोभिड–१९’ को संक्रमण हाल विश्वका दुई सयभन्दा बढी फैलिसकेको अन्तर्राष्ट्रिय तथ्याङ्कले देखाएको छ । कोभिडबाट विश्वभर एक लाखभन्दा बढीको मृत्यु भएको छ भने झण्डै १७ लाख सङ्क्रमित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू