शनिबार, कार्तिक १५, २०७७
05:01 | १०:४६

कोभिड १९ ले तरंगित मनहरु

प्रेम गुरुङ दुबो अप्रिल ११, २०२०

हामी नेपालीहरुको प्रचलित उखान छ, हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु, भाग्य छ भन्दैमा डोकोमा दुध दुहेर अडिन्न । चनाखो र बुद्धि पुरयाएर जीवन जगत सुन्दर र रमाइलो बनाउंदै यात्रालाई निरन्तरता दिनु नै मानव धर्म हो भनिन्छ ।

सन्दर्भ अहिलेको यो राक्षेसी कोरोना महामारीका कारण उब्जिएको परिस्थितिमा हामी घना जंगलमा आगलागी हुंदा आत्तिंदै छटपटाएका पशु पन्छीहरु झैं, भल बाढी आउंदा तितरबितर भएका किरा फट्यांग्रा र कमिलाहरु झैं भागाभाग भइरहेका छौं । बगिरहेका छौं, मरिरहेका छौं । कोलाहाल र रुवाबासी गर्दै भोक भोकै भौतारिंदै छट्पटाउंदै विश्वका हरेक कुनामा असहाय भएर लुकिरहेका छौं । गुहार गुहार भनि रहेका छौं । छिनछिनमै प्रियजनहरु गुमाइरहेका छौं ।

हामी सातो हराएझैं टोलाइरहेका छौं । यो हाम्रो अहिलेको वास्तविक हालत र दृश्य हो । तर पनि हामीले हामी आफैंलाई सम्हाल्नु पर्छ । हामीले हामीलाई कुनै पनि हालतमा ढल्न दिनु हुंदै हुंदैन । हामी नै ढल्यौं भने अरु आफन्त र यो संसारलाई कसले सम्हाल्छ भनेर सोच्दै आफूभित्र भगवानको खोजी गर्नुपर्छ ।

हामी एक्लै आउंछौ, एक्लै जान्छौं । तर हामी एक्लै त कहिल्यै हुंदैनौं । किनकि हामी करोडौं वर्ष लगाएर मान्छे भएका भगवानका ज्ञानका तरंगहरुसंग जोडिएका प्राणी हौं । सूर्य र पृथ्वीमा भयानक गडबडी नआएसम्म हामी मान्छेलाई हराउने हामी आफैं बाहेक अरु छंदै छैन् । जन्म र मृत्यु त स्वरूप र ठाउं सराई मात्र हुन् । हाम्रो चेतना र ज्ञान त सधैं हामी आफैंमा आफंै भएर हामी संगसंगै घुमिरहन्छ । सम्झिनु र चिन्न सक्नु नसक्नु हाम्रो कर्मले उत्पादन गरेका चेतना र स्मरण शक्तिमा भर गर्छ । जेहोस् मानवका रुपमा जन्मिएर संसारलाई बचाउन खोज्नेहरुको चेतना जहां र जहिले पनि भगवानका रुपमा प्रकट भइरहने भएकाले पनि यी यस्ता परीक्षाका घडीहरुमा मान्छेले पटक्कै मानवीय धर्म छाडेर डगमगाउनु हुंदै हुंदैन ।

हरेक सुःख र दुःख आफ्नै कर्म र विचारले उत्पन्न गर्ने हुन् । यो संसारलाई सुन्दर मानव बासस्थान पनि हामीले नै बनायौं, बिगार्ने र दुषित वातावरण बनाउने कुकृत्य पनि हामीबाटै भइरहेको छ ।

यो प्राणघातक कोरोना पनि हामीबाटै उत्पादन भयो कि ? प्राकृतिक रुपले नै उब्जियो ? यसको निरक्योल त भविष्यले गर्ला र गर्छ । तर, उत्तेजित भएर तेश्रो विश्वयुद्ध जन्माउने प्रोपोगण्डा लाई निस्तेज बनाउने काम विश्वभरका शान्ति प्रेमी मान्छेहरुको जनमतले नै गर्नुपर्छ । अध्यात्म र नैतिक शिक्षाप्रतिको विश्वासमा आधारित सिस्टम र नेतृत्व बिना ज्ञान विज्ञान र परमज्ञानले मात्रै मानव मन चेतना र सभ्यतामा शान्ति, समृद्धि, खुशी, माया प्रेम र सुन्दर जीवन जगत, करुणा जस्ता मानवीय समवेदना र गुणहरु हुर्कन नसक्ने रहेछ भन्ने वर्तमान भौतिकवादी सोचाई र हिंडाईले पनि पुष्टि हुन आयो ।

मानव जातीका उत्पत्ति र विकासका क्रममा समयकाल परिस्थिति अनुसार विभिन्न खाले संघर्ष र सभ्यताका उत्थान र पतनका क्रमहरु, हिजोका हरेक घट्ना र पात्रहरु, आजका आर्थिक, राजनैतिक, धार्मिक, जातीय र क्षेत्रीय द्वन्द्वहरु, गरिवी भोकमरी, प्राकृतिक प्रकोप जस्ता विभिन्न खाले महामारीहरुलाई पढ्दै बुझ्दै जांदा अब पनि हामी माटोको सिमाना, बाबुबाजेको 
अंश, कथित जातीय, धार्मिक, क्षेत्रीय जस्ता 
संकीर्ण सोच बोकेर लडाईं, मारामार गरिरहने हो भने अब फेरि पनि हामी र हाम्रो सभ्यता यो धर्तीमा पुरिने निश्चित छ र अर्को सभ्यता दोहोरिन शुरु हुन्छ ।

आजका यी हाम्रा सुन्दर सिर्जना र धरोहरहरुका भग्नावशेषहरु भोलि युगौंपछि ती नयां सभ्यताका पुस्ताहरुले घना जंगलहरु फांड्दै उत्खनन गर्ने छन् । त्यसैले त्यो दिन आउन नदिन हामी र हाम्रो पुस्ताले २१ औं शताब्दीको मान्छे भएर सोच्नु र गर्नुपर्छ । अरुको मात्रै भर गर्ने र पर्ने युग होइन आज । दास युग पार गरिसकेर पनि दासकै सोच नछाड्ने हो भने फेरि दास युग दोहोरिन सक्छ । यो युग विरासतले होइन कर्मले सुखी र धनी हुने युग हो ।

अब गुनासो गर्ने होइन, गुनासो सुन्ने होडमा नोकर चाकर, भरिया र हलीहरुले पनि भाग लिनु पर्छ । भीम राव अम्बेडकर, बाराक ओबामा लगायत विविध क्षेत्रमा सफल भएका साधारण पृष्ठभूमिका मान्छेहरुबाट सिक्दै मान्छे हुने हतार गर्नुपर्छ । नत्र मानव सभ्यताको आयु छोटिने निश्चित जस्तै छ ।

यो कोरोनाको सन्देशले त अंशबण्डाका सिमानामा मारामार गर्ने ब्यारेकका सेनाहरुलाई विश्व मानव शान्ति सेनामा रुपान्तरण गर्दै ज्ञान विज्ञान र परमज्ञानका पुजारीहरू र स्वास्थ्यकर्मीहरुलाई मानव सार्वभौम सुरक्षाका गौरवशाली सेना बनाउनेतर्फ सोच्न संकेत गरेको छ । महानायक शहीद र विभूति लडाईं र युद्ध गरेर मान्छे मार्नेहरुलाई होइन, मानसिक र शारीरिक उपचार गरेर मान्छे बचाउनेहरुलाई घोषित गर्दै सम्मान गर्ने नयां परम्परा बसाउ भनेको छ ।

विश्वभरका हामी मानिसहरु मिलेर यन्त्रलाई दास बनाउंदै हामी सम्पूर्ण मान्छेहरु मालिक भएर ज्ञान विज्ञान र परमज्ञानलाई अध्यात्म र नैतिकताको मार्गले डोरयाउंदै मानवीय भावना र यस धर्तीलाई अझ सुन्दर र सुरक्षित बनाउंदै अन्य सुन्दर धर्तीहरु खोज्ने तर्फ पनि लागौं ।

मेरो दृष्टिकोणमा यो कोरोना (कोभिड १९) ले हामीलाई यही सन्देश दिएको छ । सारा प्रकृति र भगवानको वारेस हामी मान्छेहरु नै हौं । हामी कत्ति पनि डराउनु पर्दैन् । सोचेर बुझेर 
धैर्यका साथ अघि बढि रहनुपर्छ । जित मान्छेकै हुन्छ । हाम्रो शरिर मरे पनि हाम्रा सुन्दर सपना र आंटहरु कहिल्यै मर्दै मर्दैन् ।

आंधी हुरी संकट र माहामारी आयो भनेर डराउने आत्तिने होइन, धैर्य भएर जोगिंदै पर्खिनुपर्छ । एकै क्षणमा आफैं साम्य भइहाल्छ । तर, हिजो र आजका हरेक घट्नाहरुबाट पाठ सिकेर भोलिको सुरक्षा भने हामी हरेकले आ आफ्नो ठाउंबाट अनिवार्य गरेकै हुनुपर्छ । हामी सबै बांच्न र सारा प्रकृतिलाई बचाउन सबैले हांसो ठट्टा र रमाइलो गर्दै हातेमालो गर्न सिक्यौं र सक्यौं भने हाम्रो मानव सभ्यताले हामीलाई सधैं सुख र समृद्धितिर डोरयाइरहन्छ ।

यो संसार हामी सबैको साझा हो । आफैंमा विश्वास गर्न सिकौं । आफू आफैं जिम्मेवार भएर सत्य सांचो र सुन्दर संसार निर्माणमा लागौं । जहां रहे पनि हामी बस्ने र रहने त यही संसार हो । यो पृथ्वी र हाम्रो चित्त मनलाई सबैले सुन्दर र करुणामय बनाउनै पर्छ । सबैमा मेरो शुभकामना र सम्मान ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू