राजदूत नियुक्ति विवादले समस्यामा बेलायती प्रधानमन्त्री स्टार्मर



लन्डन- ब्रिटेनको राजनीतिमा अहिले एउटा ठूलो विवाद चुलिएको छ । र, विवादको केन्द्रमा छन्- प्रधानमन्त्री कियर स्टार्मर । स्टार्मरले लिएको एउटा निर्णयले अहिले उनको नेतृत्वमाथि नै प्रश्न उठेको छ ।
विवाद के हो त? आउनुहोस् यसबारे छोटोमा बुझौ । स्टार्मर सरकारले २०२५ फेब्रुअरीमा पिटर म्यान्डेलसनलाई अमेरिकाका लागि राजदूत नियुक्त गरेको थियो । म्यान्डेलसनको विगतमा यौन अपराधी जेफ्री एपस्टाइनसँग मित्रता थियो भन्न्ने आरोप छ ।
तर स्टार्मरले उक्त नियुक्तिका लागि आवश्यक पर्ने ‘सेक्युरिटी भेटिङ’ नै पास नगरेको खुलासा भएको छ ।
अझ चकित पार्ने कुरा के भने यो फेल भएको रिपोर्टलाई विदेश मन्त्रालयले बेवास्ता गरेर नियुक्ति अगाडि बढाएको बताइएको छ ।
अब यहाँनेर प्रश्न उठ्छ- स्टार्मर यसबारे जानकार थिए कि थिएनन् ? थिए भने के उनले संसदलाई गलत जानकारी दिए ? थिएनन् भने उनको सरकार कति कमजोर छ ?
यीनै प्रश्नहरू अहिले ब्रिटेनको संसद र मिडियामा गुञ्जिरहेका छन् । विभिन्न संचार माध्यमहरुमा प्रकाशित रिपोर्टहरूका अनुसार, स्टार्मरलाई केही उच्च सरकारी अधिकारीहरूले यस्तो संवेदनशील जानकारीबाट टाढै राखेका थिए ।

तर विपक्षीहरू भने यो कुरा मान्न तयार छैनन् ।उनीहरू भन्छन्— ‘प्रधानमन्त्रीलाई थाहा थिएन’ भन्नु जिम्मेवारीबाट भाग्नु हो । उनकै क्याबिनेटका केही मन्त्रीहरू समेत यो घटनाबाट आश्चर्यमा परेको बताइएको छ ।
घटना जे भएपनि प्रधानमन्त्री स्टार्मर निकै ठूलो राजनितिक तथा नैतिक दबाबमा परेका छन् । अब सबैको नजर भने संसदतर्फ सोझिएको छ । संसदमा आगामी साता हुने बहसले नै यो घटनाको छिनोफानो निर्धारण गर्नेछ ।
विपक्षी दलहरूले यसबारे स्वतन्त्र छानबिन वा संसदीय छानबिन समितिको माग गर्न सक्ने देखिएको छ जसले मुद्दालाई झन् लामो र गम्भीर बनाउन सक्छ ।
के यो विषयले स्टारमरको राजनीतिक भविष्य नै जोखिममा पर्ला त ? त्यो भने आगामी दिनले नै देखाउनेछ ।


