शुक्रबार, वैशाख ७, २०८१
15:20 | २०:०५

जोन्सनको स्वास्थ्यमा थप सुधार

नेपाली लिङ्क अप्रिल १०, २०२०

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन

लण्डन । कोरोनाबाट संक्रमित भएर हाल लण्डनको एक अस्पतालमा उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा थप सुधार देखिएको छ । प्रधानमन्त्रीको कार्यालयले शुक्रबार दिएको जानकारीअनुसार प्रधानमन्त्री जोन्सन सामान्य हिंडडुल समेत गर्न थालेका छन् ।

‘आराम गर्ने क्रममा बीचबीचमा उहाँ छोटो समय हिंड्ने गर्नुभएको छ । उहाँ अझै पनि स्वास्थ्यलाभको प्रारम्भिक चरणमै हुनुहुन्छ’, प्रधानमन्त्री कार्यालयका प्रवक्ताले भनेका छन् ।

प्रधानमन्त्रीले आफूलाई प्रदान गरिएको उपचार र रेखदेखमा संलग्न टीमलाई विशेष धन्यवाद दिएको उनको कार्यालयले जनाएको छ । साथै, अहिलेको महामारीबाट प्रभावित सबै नागरिकप्रति पनि उनले सहानुभूति राखेको बताइएको छ ।

गत आइतबार लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना भएका प्रधानमन्त्री जोन्सनको स्वास्थ्यअवस्था थप कमजोर बनेपछि उनलाई सोमबारदेखि ‘आइसियू’ मा सारिएको थियो । स्वास्थ्यमा सुधार देखिएको भन्दै विहिबार साँझ उनलाई ‘आइसियू’ बाट फेरि सामान्य वार्डमा फिर्ता ल्याइएको थियो ।

‘आइसियू’मा रहँदा अक्सिजनको सहयोग दिइएका प्रधानमन्त्रीलाई ‘भेन्टिलेटर’ मा नै राख्नुपर्नेसम्मको अवस्था भने आएको थिएन । अन्य कुनै सहायताबिना नै उनको श्वासप्रश्वास समेत चलेको थियो ।

गत मार्च २७ तारिखमा कोरोनाको संक्रमण पोजिटिभ देखिएपछि प्रधानमन्त्री जोन्सन ‘आइसोलेसन’ मा बसेका थिए । दश दिनसम्म पनि ज्वरो, खोकी लगायतका लक्षणहरु कायम रहेका कारण गत आइतबार उनी अस्पताल भर्ना भएका हुन् ।

स्वास्थ्यमा सुधार हुन थालेपनि प्रधानमन्त्रीलाई कहिले ‘डिस्चार्ज’ गरिने भन्नेबारे अझै केहि बताइएको छैन् ।

 यो पनि पढौं : बेलायतमा २४ घण्टामा ९ सय ८० को मृत्यु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू