शुक्रबार, वैशाख ७, २०८१
21:40 | ०२:२५

क्रोयडन नेपाली समाजद्वारा एनएचएस स्टाफहरुलाई खाना वितरण

नेपाली लिङ्क अप्रिल ८, २०२०


लन्डन । क्रोयडन नेपाली समाज यूके (सिएनसी यूके) ले गत ३ अप्रिल शुक्रबार स्थानीय क्रोयडन 
युनिभर्सिटी हस्पिटलमा कार्यरत एनएचएसका 
स्टाफहरुलाई खाना वितरण गरेको छ​ ।

कोरोना भाइरसको रोकथाम तथा कोभिड १९ प्रकोपबाट स्थानीय क्रोयडनबासी जनताहरुलाई बचाउन अहोरात्र खटिएका क्रोयडन युनिभर्सिटी हस्पिटलका विभिन्न विभागहरु (कोभिड-१९ इमर्जेन्सी रेस्पोन्स टिम, आइटी टिम, कम्युनिकेशन टिम र सेक्युरिटी) लगायत डिपार्ट्मेन्टहरुमा समाजका पदाधिकारीहरु आफैं गई ‘प्याक्ड लन्च’ वितरण गरेका थिए ।

कोभिड १९ को प्रकोप नियन्त्रण गर्न सरकारद्वारा गरिएको लकडाउनले सिर्जित विशेष परिस्थितिका बाबजुद खाना वितरण कार्यक्रमका लागि अस्पतालसंगको सामञ्जस्यता तथा संयोजन सोही अस्पतालमा कार्यरत क्रोयडन नेपाली समाजका अध्यक्ष डा सुरजमणि पौडेलले गरेका थिए । सिएनसी यूकेका सचिव केशव ढकाल, संस्थापक अध्यक्ष ध्रुवहरी बास्कोटा र संस्थापक सदस्य मदन खपाङ्गीको विशेष पहलमा आयोजित उक्त कार्यक्रम सफल पार्न समाजका पदाधिकारीहरुले महत्वपूर्ण​ साथ दिएका थिए ।

उक्त पूण्य कार्यमा खाना ब्यवस्थापन तथा वितरणको अभिभारा दि स्पाइस यार्ड रेस्टुरेन्टका डाइरेक्टर मदन खपाङ्गी तथा सोही रेष्टुरेन्टकी मेनेजर एलिशा खपाङ्गीले लिएका थिए भने उनीहरुलाई समाजकी सदस्य लिडिया खपाङ्गीले साथ दिएकी थिइन् ।

समाजद्वारा वितरित खाना ग्रहण पश्चात उक्त अस्पतालकी मेडिकल डाइरेक्टर डा. नेना ओसुजीले यस्तो मानवीय तथा सामाजिक कार्य गरेर क्रोयडन नेपाली समाजले अत्यन्त उदाहरणीय कार्य गरेकोमा अन्तरआत्मादेखि साथै अस्पताल परिवारका तर्फबाट समेत हार्दिक कृतज्ञता ज्ञापन गरिन् ।

कोरोना भाइरसको संक्रमणबाट सिर्जित महामारी विरुद्धको लडाईंमा स्थानीय क्रोयडन युनिभर्सिटी हस्पिटलमा कार्यरत सम्पूर्ण स्टाफहरुले देखाएको कर्तब्यपरायणता, कार्यकुशलता, दक्षता, र कर्तव्यनिष्ठताको उच्च सम्मान गर्दै थप हौसला प्रदान गर्न दि स्पाइस यार्ड यूकेको सहयोगमा लन्च वितरणको ब्यवस्थापन गर्न पाउंदा आफू ज्यादै खुशी भ​एको समाजका अध्यक्ष डा सुरजमणि पौडेलले बताए ।

लन्डनका विभिन्न एन​एच​एस​ हस्पिटलहरुमा विगत १५ वर्षदेखि स्थायी रुपमा सेवा पुरयाउंदै आएका समाजका अध्यक्ष डा. पौडेल हाल यस क्रोयडन युनिभर्सिटी हस्पिटलमा विभागीय प्रमुखका रुपमा कार्यरत छन् ।

‘सेवा नै धर्म हो’ भन्ने नेपालीहरुको मूल मन्त्रलाई सार्थक बनाउन यूकेमा अपत्यारिलो पारामा बढ्दै गएको ‘कोभिड १९’ को प्रकोपले उत्पन्न विभिन्न स्वास्थ्य र मानसिक समस्यालगायत अत्यावश्यक भौतिक वस्तु तथा खाद्यान्न अभाव परिपूर्तिका लागि सहयोग पुरयाउन समाजले हेल्पलाइन डेस्कको ब्यवस्था गरेको छ । क्रोयडन तथा वरपर बसोबास गर्ने नेपाली जो कोहिलाई पनि माथि उल्लेखित कुनै किसिमका समस्या परेमा सीएनसी यूकेका पदाधिकारीहरुलाई सम्पर्क गर्न समाजले सबैलाई आब्हान गरेको छ ।

उक्त हेल्प डेस्कमा सीएनसी यूकेका पदाधिकारीहरु लगायत संस्थाका संस्थापक अध्यक्ष ध्रुबहरी बास्कोटा तथा नेपलिज नर्सिङ एसोसिएसन यूकेद्वारा क्रोयडन, मिचम, सट्टन र चिमका लागि कन्ट्याक्टका रुपमा अघि सारिएका नर्सहरुद्वय रन्जना केसी अधिकारी तथा श्रीमति सुनिता श्रेष्ठ रहेका छन् ।

सन् २०११ मा स्थापित सीएनसी यूकेले क्रोयडन तथा वरपर बसोबास गर्ने नेपालीका लागि धार्मिक, सांस्कृतिक ​तथा मनोरन्जनात्मक कार्यक्रम मात्र सिमित नराखी नेपाली राष्ट्रिय कलाकारहरूको सम्मान, दुःख परेका नेपालीहरूको सहयोग तथा अन्य सामाजिक महत्वका कार्य 
गर्दै आफ्नो सामाजिक उत्तरदायित्व सफल रुपमा निर्वाह गरिरहेको छ । संस्थाको उन्नति र निरन्तर प्रगतिका लागि कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु तथा संस्थाका सदस्यहरू अनवरत रुपमा लागि परेका छन् । संस्थाका यावत कार्यक्रमहरू मूल्यांकन गर्दा सीएनसी यूके बेलायतमा रहेका विभिन्न ठूला नेपाली संघसंस्था जस्तै आफूलाई अग्रपंक्तिमा उभ्याउन सफल भएको अध्यक्ष पौडेलको भनाइ छ ।

त्यसैगरी सीएनसी यूकेले ‘कोभिड १९’ को महामारी रोकथामका लागि आफनो स्रोत​ साधनले भ्याएसम्म सहयोग गर्नुका साथै नेपाली दूतावास, एनआरएनए यूके र यूकेका अन्य नेपाली संघसंस्थाहरुका साथै स्थानीय क्रोयडन काउन्सिल तथा यहां कार्यरत सामाजिक संघसंस्थाहरुसंग हातेमालो 
गर्दै अगाडि बढ्न कुनै कसर बांकी नराख्ने अध्यक्ष डा. पौडेल तथा सचिव केशव ढकालले प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू