बिहीबार, वैशाख १३, २०८१
20:52 | ०१:३७

बेलायतमा कोरोना संक्रमितको संख्या बढ्दै, तर अनुपात घट्दै

नेपाली लिङ्क अप्रिल ७, २०२०

बेलायतमा परीक्षणको संख्या बढाइएको अनुपातमा नयाँ केसहरु बढेका छैनन् ।

लण्डन । बेलायतमा कोरोना भाइरस महामारीको ‘पिक पोइन्ट’ आउन अझै केहि साता लाग्ने ठानिएको छ । जुन अवधिसम्म दैनिक मृत्यु हुने र संक्रमितहरुको संख्या पनि बढ्दै जाने निश्चित छ ।

तर, नयाँ संक्रमितहरुको संख्या जुन अनुपातमा अहिले बढिरहेको छ, त्यसबाट अब नयाँ केसहरु फैलिने क्रममा बिस्तारै कमी हुँदै जान्छ कि भन्ने आशा पलाउन थालेको छ ।

बेलायत सरकारका चिफ साइन्टिफिक एड्भाइजर प्याट्रिक भ्यालेन्सीले पनि कोरोना संक्रमणका नयाँ केसहरुमा चरम वृद्धि नभइरहेको विषयलाई सकारात्मक रुपमा हेर्न सकिने बताएका छन् ।

मंगलबारको डाउनिङ स्ट्रिट ब्रिफिङमा उनले नयाँ केसहरुको पछिल्लो वृद्धिदरलाई स्थिरजस्तै ठान्न सकिने बताए । संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने मानिसहरुको संख्या खासै तीव्र नबढ्नु अवस्था सकारात्मक दिशातर्फ उन्मुख हुँदै गरेको संकेत हुन सक्ने एड्भाइजर भ्यालेन्सीले बताए । तर अहिले नै ढुक्क भइहाल्न चाँडो हुने भन्दै उनले यसबारे अर्को सातासम्म थप स्पष्ट हुने विश्वास व्यक्त गरे ।

सकारात्मक संकेत: डा पदम सिम्खडा

हडर्सफिल्ड युनिभर्सिटीका एशोसिएसट डीन एवम् जनस्वास्थ्य विज्ञ डा पदम सिम्खडा ।

बेलायतको हडर्सफिल्ड युनिभर्सिटीका एशोसिएसट डीन एवम् जनस्वास्थ्य विज्ञ डा पदम सिम्खडा पनि बेलायतमा कोरोना भाइरस फैलिरहेको पछिल्लो ‘ट्रेण्ड’ हेर्दा केहि सकारात्मक संकेत देखिएको बताउँछन् ।

‘संख्याको आधारले हेर्ने हो भने नयाँ केसहरु बढेकै छन् । तर जुन अनुपातमा परीक्षणको संख्या बढेको छ, त्यो अनुपातमा नयाँ केसहरु बढेका छैनन्’, डा सिम्खडा भन्छन्, ‘सरकारले लागू गरेको ‘सोसल डिस्ट्यान्सिङ’को उपायले काम गरेको हो कि भन्ने लाग्न थालेको छ ।’

सरकारले अपनाएको ‘डिस्टेन्सिङ नीति’ ले अन्य देशहरुमा जसरी बेलायतमा पनि काम गरिरहेको संकेत मिल्न थालेको उनले बताए ।

फैलिंदो संक्रमण रोक्ने प्रयासमा बेलायत सरकारले जारी गरेको लकडाउन अहिले तेस्रो सातामा छ । सरकारले अहिले नै लकडाउन हटाउनेबारे सोच्न सकिने बेला आइनसकेको बताउँदै आएको छ ।

यो पनि पढौं : बेलायतमा कोरोनाले मृत्यु हुने एक दिनमै ७ सय ८६ थपिए

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू