शुक्रबार, चैत १६, २०८०
09:29 | १५:१४

एनआरएनए विदेशमा रहेका नेपालीको सहयोगमा केन्द्रित हुने

नेपाली लिङ्क अप्रिल ६, २०२०


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) विदेशमा समस्यामा रहेका नेपालीको सहयोगमा केन्द्रित हुने भएको छ ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले नेपाल सरकारलाई कोभिड–१९ विरुद्ध लड्न तत्काल १ करोड ६२ लाख रुपैयाँ बराबरको भौतिक सामग्री दिने निर्णय पनि गरेको छ ।

संकलन भएको बाँकी आर्थिक तथा भौतिक सामग्री संघले विदेशस्थित कोरोना संक्रमित नेपालीलाई सहयोग गर्ने भएको छ । विदेशमा रहेका कोरोना भाइरस संक्रमितका लागि आवश्यक सहयोग गर्न आफ्ना गतिविधिलाई तीव्रता दिने निर्णय समेत गरिएको छ ।

बैठकले कोरोना पीडितका लागि आर्थिक सहयोग गर्न अनलाइन प्रणालीमार्फत फोन, ट्याबलेट, कम्प्युटर इत्यादिबाट डेबिट या क्रेडिट कार्ड प्रयोग गर्न आव्हान गरेको छ । कोरोना प्रभावित नेपालीका बारेमा जानकारी संकलन गर्न क्षेत्रीय संयोजकहरुलाई निर्देशन दिइएको छ ।

कोरोना भाइरसविरुद्ध अभियान चलाउन संघका अध्यक्ष पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिमा विदेशस्थित राजदूतावासका प्रतिनिधि, सम्पूर्ण संघसंस्था रहेको एक उद्धार समिति गठनको लागि नेपाल सरकार समक्ष आग्रह गर्ने बैठकले निर्णय गरेको छ । उच्चस्तरीय समितिको लागि आवश्यक समिति तथा उपसमिति गठन गर्न अध्यक्ष कुमार पन्तलाई पूर्ण अधिकार प्रदान गरिएको छ ।

त्यस्तै बैठकले संघको कृषि समितिको संयोजकमा नारायण घिमिरे (क्यानाडा) र उपसंयोजक कपिल थापा (जापान) लाई चयन गरेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । उनका अनुसार संघको केन्द्रीय विधान संशोधन सुझाव समिति संयोजकमा भूषण घिमिरे चयन भएका छन् । यस्तै संघको विधान व्याख्या समितिमा द्रोण रसाइली (क्यानाडा) संयोजक तथा शिव रिजाल र भूषण घिमिरे सदस्य चयन भएका छन् ।

बैठकले विदेशस्थित दोस्रो पुस्ताका नेपालीबीच सञ्जाल निर्माण गर्न डा. मुरारी अधिकारी संयोजक रहेको एक समिति र खगेन्द्र जिसी संयोजक रहेको ग्लोबल नेपाली डायस्पोरा इन्ट्रिगेसन समिति गठन भएको छ ।

बैठकले आर्थिक संकलन तथा वितरण सम्बन्धमा नीति निर्माण गर्न कोषाध्यक्ष महेश श्रेष्ठलाई जिम्मा लगाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू