आइतबार, कार्तिक ९, २०७७
00:31 | ०५:१६

कोरोना र आर्थिक महामारी एकै साथ

विकलचन्द्र आचार्य अप्रिल ५, २०२०

विकलचन्द्र आचार्य

कोभिड १९ भाइरस मानवका लागि नयां शत्रुको रुपमा देखा परेको छ । यसले लाखौंको ज्यान अकालमा लिने सम्भावना छ । भाइरसको समूहमध्ये कोरोना भाइरस धेरैलाई सामान्य रुखाखोकी जस्तो लाग्छ । तर केहीलाई भने श्वासप्रश्वासको तल्लो भागमा संक्रमण गर्छ । जसले गर्दा निमोनिया तथा ब्रोंकाइटिस जस्तो जटिल रोग लाग्न सक्छ । मानिसको जीवनकालमा कोरोना भाइरस संक्रमण हुने गर्छ र धेरै संक्रमण हानिकारक हुंदैन । तर, कोभिड १९ भने नयां आक्रामक रुपमा आएको छ । त्यसैले यसबाट सबैले सावधानी अपनाउन अपरिहार्य छ । अधिकारिक रुपले ‘Sars-CoV-2’ भनेर चिनिने यस भाइरस श्वासप्रश्वासबाट सर्छ । मुख, नाक तथा आंखाबाट शरीरमा प्रवेश गरेपछि घांटी, श्वासनली र फोक्सोमा पुग्छ । यसपछि कोरोना भाइरस फ्याक्ट्री जस्तो गरि निकै नै चांडै वृद्धि हुन्छ । यसपछि शरीरका अन्य कोषहरुमा संक्रमण गर्छ ।

शुरुको अवस्थामा मानिसहरुमा कुनै लक्षण देखिदैन् र कोहीलाई कहिल्यै पनि लक्षण नदेखिन पनि सक्छ । औसत मानिसमा लक्षण देखिन पांच दिन लाग्छ । ज्वरो आउनु या ज्वरम्स हुनुको कारण शरीरको प्रतिरक्षा प्रणाली भाइरस विरुद्द लड्नु हो । शरीरको प्रतिरक्षा प्रणालीलाई बाहिरी शत्रु भाइरस भएको थाहा हुन्छ र शरीरका अरु भागलाई गडबडी भएको केमिकलद्वारा गर्छ, जसलाई साइटोकिन्स भनिन्छ । शरीरका अरु भागले पनि शरीरको प्रतिरक्षा प्रणालीलाई कोरोना भाइरसबिरुद्ध लड्न सहयोग गर्छ । जसले गर्दा शरीर दुख्ने र ज्वरो आउने हुन्छ ।

प्रत्येक मानिसको आफ्नो प्रतिरक्षा प्रणाली फरक तथा कोभिड १९ विरुद्ध शरीरको लड्ने क्षमता र अरु विभिन्न कारणले गर्दा हुन्छ । त्यसैले बालक देखि बृद्ध, कुनै रोग नभएको देखि दीर्घरोगी सहित धेरैले ज्यान गुमाउने क्रम जारी छ । त्यसैले सरकारले दिएको सल्लाह तथा निर्देशन पालन गर्नु सबैको कर्तब्य हो । मलाई केहि हुंदैन भन्दै सरकारको अवज्ञा गर्नु भनेको आफू र अरुलाई जोखिममा पार्नु हो ।
बेलायत सरकारले कोभिड १९ लाग्न सक्ने भनेर क्यान्सर लागेका, अंग ट्रान्सप्ल्यान्ट गरेका, आस्थमा, दमका रोगी, मुटुरोग भएका गर्भवती महिला र अन्य जटिल रोग भएका करिब १५ लाख मानिसलाई १२ हप्ता घरबाट ननिस्कन अपिल गरेको छ । यस्तै मेडिकल हिसाबले प्रत्येक वर्ष फ्लुको सुइ लगाउने मानिसहरुलाई जोखिमको श्रेणीमा राखेको छ । मुटु तथा संचार रोग लागेका व्यक्ति, उच्च रक्तचाप तथा मधुमेह भएका र दीर्घ रोग भएकालाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ । व्यक्तिगत हाइजिन, संक्रमण व्यक्तिबाट टाढा, सम्भावित जोखिमको न्यूनीकरण गर्न जरुरी हुन्छ । यसका लागि अहिले सरकारले भने अनुरुप आ आफ्नो घरमा नै बस्नु सबैभन्दा उपयुक्त हो ।

सरकारले लकडाउन गर्नुको उद्देश्य भनेको एक अर्कोमा सर्न कम होस् र स्वास्थ्य सेवा धान्न नसक्ने अवस्था कम गर्न खोज्नु हो । कोभिड १९ को औषधि र खोप पत्ता नलागुन्जेल सामाजिक दुरी कायम राख्नु पर्ने हुन्छ । संसारभर ४० भन्दा बढी बैज्ञानिक टोलीहरु यस भाइरसको औषधिको खोजमा लागीपरेका छन् । यस नयां कोरोना भाइरसको नियन्त्रणका लागि संसारका बैज्ञानिकहरु अध्ययन गरिरहेका छन् । यसमा मुख्यतः तीन प्रश्नहरु छन् । के कारणले यसरी मानिसमा संक्रमण चाडै फैलाउंछ ? शरीर भित्र गएपछि कसरी यति चांडै बृद्धि हुन्छ ? भाइरस छिर्ने बित्तिकै बिना लक्षण केहि थाहा नभइ फैलन थाल्छ ? यी प्रश्नको उत्तर आएपछि उपचार शुरु हुने नै छ ।

कोरोना र आर्थिक महामारी एकैसाथ

कोभिड १९ को महामारीले विश्वमा संक्रमण हुने तथा मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । मानिसबीच सर्ने यस रोगका कारण संसारभरि धेरै देशहरुले लकडाउन गरेका छन् । यसले गर्दा कोरोना भाइरसले गर्दा स्वास्थ्य तथा आर्थिक दुवै पाटोमा महामारी लागेको छ । यो दुवै किसिमको महामारीले एकै साथ काम गर्ने हुंदा अवस्था झन् जटिल बन्न पुगेको छ । स्टक मार्केटको भारी गिरावट, ब्यवसाय बन्द, बेरोजगारी दरमा उच्च बृद्धि, आम्दानीमा नोक्सान आदिले गर्दा आर्थिक संकट शुरु भइसकेको छ । बेलौमा सावधानी नअपनाए महामारी फैलने अरु खतरा छ ।

अझ विश्वको महामारीले सामानको मागमा गिरावट आइ प्राकृतिक रुपले मानिसमा आइरहेको त्रास तथा अनिश्चतताले संसारका प्राय सबै देशमा यस वर्ष मन्दी आउने कुरा पक्का छ । महामारीको प्रकोपमा मानिसहरु भावनात्मक रुपले बढी त्रसित भइ वित्तीय निरासा अरु बढ्न पुग्छ । कोभिड १९ को उपचार तथा नियन्त्रणको आविष्कार नहुन्जेलसम्म विश्वको अर्थतन्त्र अरु खस्कने निश्चित छ ।
चीनबाट शुरु भएको कोरोना भाइरस अमेरिका, युरोप लगायत धेरै देशमा फैलने क्रम जारी छ । यस नयां कोभिड १९ बारे अनुसन्धान भइरहेको अवस्थामा महामारीले कुन रुप लिने हो भन्ने अझ एकिन भएको छैन् । तर पनि धेरै देशहरुले फैलन नदिन लकडाउन देखि अनेक पहल गरिरहेका छन् । यस्तो कदमले भाइरसको संक्रमण फैलिन कम भएको प्रारम्भिक तथ्यांकहरुले देखाएको छ ।

यस महामारीले गर्दा आर्थिक प्रभाव देखिन थालेको छ । चीनको तथ्यांकअनुसार यस बर्षको शुरुको दुई महिनामा कुल ग्राहस्थ उत्पादन (जिडिपी) २० प्रतिशतले कम भएको छ । अमेरिकाको इतिहासमा नै पहिलो पटक गत दुई हप्तामा ७० लाख भन्दा बढी मानिस बेरोजगार भएका छन् । बेलायत, स्पेन, इटाली लगायत अरु देशहरुमा पनि बेरोजगारको संख्या बढ्दो छ ।

विश्व अर्थतन्त्रमा दुई किसिमको खतरा छ । यदि संसारका सरकारहरु भाइरस संक्रमण रोक्न ढिलो वा सामाजिक दुरी राख्ने नीतिमा कम कडाइ गरे भने मानवीय क्षति तथा आर्थिक प्रभाव ठूलो पर्ने छ । यसले वित्तीय क्षेत्रको स्थायित्वमा प्रतिकुल असर पार्नेछ ।

अमेरिका, युरोप तथा अन्य मुलुकहरुले विश्व वित्तीय प्रणालीमा तरलता अभाव हुन नदिन अभूतपूर्व प्रयास गरेका छन् । तर देशको समग्र अर्थतन्त्र (माइक्रोइकोनोमी) लाई स्थायित्व दिन राजस्व प्रोत्साहित जरुरी रहन्छ । अमेरिकाले दुई ट्रिलियन डलर, बेलायतले ३५० अर्ब पाउण्ड लगायत अरु देशहरुले यस्तो कदम चालिसकेका छन् । संसारका सरकारहरुले अरु खर्च बढाई यस महामारीले ल्याएको आर्थिक संकटले भविष्यमा पार्ने ठूलो नोक्सानी कम गर्न सक्नुपर्छ । पहिलो तथा दोश्रो विश्वयुद्धपछि जसरी युरोप तथा अमेरिकाको जस्तो सार्वजनिक क्षेत्रको दायित्व बढेको थियो, त्यसरी नै बढ्नेछ । देशको राष्ट्रिय आय अनुपातले यो कम हुंदै जानेछन् । तर यति ठूलो सरकारी ऋणभारले बोन्ड बजारमा छोटो समयका लागि कठिनाइ आउन सक्छ । त्यसै कारणले केन्द्रिय बैंकले सरकारको बोन्डको ठूलो हिस्सा किनेर बोन्ड मार्केटको असहजता कम गर्न जरुरी हुन्छ । फेडरल रिजर्ब, बैंक अफ इंग्ल्यान्ड तथा युरोपियन केन्द्र बैंकले अर्बौ डलरको सम्पत्ति किन्ने घोषणा गरिसकेका छन् ।

बैंक अफ इंग्ल्यान्डले ब्याजदर घटाइ शुन्य दशमलव १ प्रतिशत बनाएको छ । यस गर्नुको कारण वित्तीय खर्च कम गर्न मात्र नभइकन लगानीकर्ताहरुलाई विश्वासमा लिनु हो । कम ब्याजदरले व्यक्ति या कम्पनीहरुलाई पैसा बचत गर्नु भन्दा खर्च वा लगानी गर्न उत्पेरित गर्छ ।
महामारीको यस आपतकालिन समयमा नयां आविष्कारको विचार तथा कार्य जरुरीको आधारमा हुन्छ । ब्यवसायीहरु नयां चुनौतीका साथै थप अवसरको खोजी गर्दै अगाडि बढ्नेछन् ।

सन् २०२० को यस चौमासिक प्रक्षेपणमा अमेरिकाको कुल ग्राहस्थ उत्पादन (जिडिपी) १२ प्रतिशत, युरोजोनको १८ प्रतिशत, बेलायतको १५ प्रतिशत र चीनको १८ प्रतिशतले कम हुने जनाइएको छ । यो सबै तथ्यांक लकडाउन कतिसम्म रहने, खोप आविष्कार र महामारीले कुन रुप लिने हो, त्यसमा भर पर्नेछ ।

(आचार्य लन्डनस्थित अर्थ व्यवस्थापनविद हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू