आइतबार, १ मार्च, २०२६
21:56 | ०३:४१

लन्डनमा होली रौनक: प्रवासमा नेपालीपन जोगाउँदै नेपाली समुदाय

नेपाली लिङ्क मार्च १, २०२६

लन्डन । बेलायतको व्यस्त जीवनशैलीका बाबजुद नेपाली समुदायले आफ्नो मौलिक कला र संस्कृतिलाई प्रवासमा पनि उत्तिकै जीवन्त राख्दै आएका छन् । यसै सन्दर्भमा आइतबार लण्डनस्थित मुर्रे पार्कमा नेपालीहरूले फागु पूर्णिमा अर्थात् होली पर्व भव्य रूपमा मनाए ।

बेलायतमा बढ्दो नेपाली जनसंख्यासँगै आफ्नो पहिचान जोगाउने र नयाँ पुस्तालाई संस्कार संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले समुदायबीचको एकता र भाइचारालाई अझ मजबुत बनाएको विश्वास गरिएको छ ।

विशेषगरी प्रवासमा हुर्कँदै गरेको नयाँ पुस्तालाई नेपाली चाडपर्वको महत्त्व बुझाउन र उनीहरूलाई आफ्नो मुलुकको माटोसँग जोड्न यो उत्सवले सेतुको काम गरेको छ । कार्यक्रम संयोजन गरेका कमल कँडेलले फागु पूर्णिमा जस्तो रंगीन उत्सवले नेपालीहरूको सांस्कृतिक सम्बन्धलाई सात समुद्रपार पनि जीवित राख्ने विश्वास व्यक्त गरे ।

पारिवारिक वातावरणमा सम्पन्न भएको उक्त कार्यक्रममा बालबालिकादेखि वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिता थियो । सहभागीहरु परम्परागत शैलीमा रङ खेल्दै र नेपालीपनको आभास गराउँदै झुमेका थिए । होली रौनकमा कंडेलले आफ्नै खर्चमा जलपान समेत व्यवस्थापन गरेका थिए ।

कँडेलका अनुसार आगामी दिनमा पनि नयाँ पुस्तालाई लक्षित गरी यस्ता कार्यक्रमहरू थप परिष्कृत र आकर्षक बनाउने योजना छ । ‘प्रवासमा रहेर पनि आफ्नो संस्कार, संस्कृति र पर्वहरू जोगाउनु हामी सबैको साझा दायित्व हो’, उनले भने ।

यसअघि गत जनवरीमा राष्ट्रिय टोपी दिवस समेत मनाएर चर्चा बटुलेका कँडेल र उनको टोलीले बेलायतमा नेपाली मौलिकताको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको छ । मुर्रे पार्कमा देखिएको यो रौनकताले नेपालीहरू जहाँ भए पनि आफ्नो जरा र रङलाई भुल्दैनन् भन्ने सन्देश प्रवाह गरेको छ ।

असत्यमाथि सत्यको जित र हर्षका रूपमा अनि वसन्त ऋतुको उमङ्गमा मनाइने यो पर्व बेलायतका अन्य नेपाली संघसंस्थाले पनि विभिन्न कार्यक्रम गरि मनाउने योजना बनाएका छन् ।

शब्द तस्विरः नरेन्द्र बस्नेत

       

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू