शनिबार, वैशाख १५, २०८१
05:39 | १०:२४

आरोही बुढालाई राष्ट्रियसभा अध्यक्षको सम्मान, उपराष्ट्रपतिको बधाई

रासस मे २४, २०२३

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरसहितको टोलीलाई आज सिंहदरबारस्थित कार्यकक्षमा सम्मान गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर बुढामगर सबैको प्रेरणाको स्रोत बनेको बताए । उनले बुढामगरलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने, “सरकारले संविधान दिवसका अवसरमा विभिन्न विभूषण प्रदान गर्नेगर्छ । उहाँलाई पनि सरकारले उच्च सम्मान गर्नुपर्छ र यसका लागि आफ्नो तर्फबाट पहल हुन्छ ।”

बुढामगरले हिमाल चढ्न सुरुमा अनुमति लिन जाँदा नदिएको स्मरण गर्दै आज सम्मान पाउँदा खुसी लागेको बताए । उनले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकालाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताए । शारीरिकरूपमा अशक्त भएका व्यक्तिलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बुढामगरको भनाइ थियो ।

उनले भने, “आज सम्मानित हुन पाउँदा निकै खुसी छु । यो मेरो मात्र नभई सम्पूर्ण अपाङ्गता भएका व्यक्तिको सम्मान हो । नेपालमा सबैलाई स्वागत छ भन्ने कुरा यहाँबाट सन्देश गएको छ । पहिला प्रतिबन्ध हुँदा नेपालमा स्वागत छैन् जस्तो म्यासेज गएको थियो, यसले सबैलाई स्वागत छ भन्ने कुराको सन्देश दिएको छ । आफ्नो आरोहणले नेपालमा भएका र संसारमा अपाङ्ग भएका व्यक्तिले जिन्दगी सकिएको छैन, केही न केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ ।”

बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । यससँगै पूर्वगोर्खा सैनिक बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अङ्गविच्छेदन)’ व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।

कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका थिए । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।

उपराष्ट्रपतिको बधाई

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले दुवै खुट्टा नभएर पनि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हरि बुढामगर र कीर्तिमानी आरोही कामिरिता शेर्पालाई बधाई दिएका छन् । आज एक वक्तव्य जारी गरी उनले पर्वतारोही कामिरिता शेर्पाले २८औँ पटक सगरमाथा आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेकामा बधाई दिएका हुन् ।

“यी दुई सफल हिमाल आरोही बुढाथोकी र शेर्पाको लगन, धैर्य, साहस र गौरव सबैका लागि सदैव प्रेरणाको स्रोत बन्ने विश्वास लिएको छु”, उनले भनेका छन् । उपराष्ट्रपतिले उनीहरुको उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू