बिहीबार, चैत १५, २०८०
15:00 | २०:४५

भूतपूर्व गोर्खाहरुले वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई दिए तीव्रता

नेपाली लिङ्क मे २२, २०२३

लण्डन- ब्रिटिश गोर्खा तथा तिनका परिवारको वंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति बेलायत/नेपालले अभियान तीव्र रुपमा अगाडि बढाएको छ ।  

बेलायत र नेपालमा आफ्नो अभियानलाई निष्कर्षमा पुरयाउन वर्तमान सरकार गठन भए लगत्तै संघीय सरकार र संसद संगको भेटवार्ता गम्भीर ढंगले अघि बढाइरहेको हो । 

समिति का प्रतिनिधहरुले प्रधानमन्त्री, सभामुख, गृहमन्त्री, परराष्ट्रमन्त्री, लगायत दर्जनौ मन्त्री, प्रतिपक्ष दलका नेताहरु, प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरुसंग भेटवार्ता गरि ज्ञापनपत्र बुझाउने कार्यलाई निरन्तर दिइएको समितिले जनाएको छ ।


यसै शिलशिलामा २० मे शनिबार समितिका यूके संयोजक सुनबहादुर तामाङ, नेपाल संयोजक ज्ञानबहादुर राई, गोर्खा मेजर प्रेमदोर्जे शेर्पा, निमा शेर्पा, ज्ञान प्रकाश राई लगायतको एक प्रतिनिधिमण्डलले कानून मन्त्री धनराज गुरूङसंग महत्वपूर्ण भेटवार्ता गरेको छ।

उक्त भेटवार्तामा ब्रिटिश गोर्खाहरूको वंशजको नेपाली नागरिकता निरन्तरताको सुनिश्चितताका लागि हाल नागरिकता ऐन संशोधनको प्रकृयामा रहेको बिधेयकमा ‘ब्रिटिश गोर्खा तथा गोर्खा सन्ततिहरुले बेलायती अंगीकृत नागरिकता प्राप्त गरेपनि उनका वंशजको नेपाली नागरिकता यथास्थितिमा नै निरन्तर कायम रहनेछ’ भन्ने धारा उल्लेख हुनुपर्ने र यही संशोधित ऐनको आधारमा पछि संविधान संशोधन हुनपर्ने मागबारे गहन छलफल भएको थियो।

उपरोक्त सम्बन्धमा कानूनमन्त्री गुरुङले गोर्खाहरूको नागरिकताबारे विशेष ब्यबस्था गर्न नसके राज्यले ठूलै क्षति बेहोर्नुपर्ने सम्बन्धमा आफू पूर्ण रूपले जानकार रहेका कारण आफ्नो तर्फबाट सक्दो पहल हुने प्रतिवद्धता ब्यक्त गरेका थिए ।  


प्रतिपक्ष दलहरुले माग गरे अनुसार उक्त बिधेयक पुनः संसदमा ल्याएर राज्य ब्यवस्था समितिमा दफावार छलफल हुने परिस्थिति बने यसै संसोधन बिधेयकमा समावेश गरेर, नत्र नयाँ संसोधन विधेयक ल्याएर पनि ब्रिटिश गोर्खाका नेपाली नागरिकता जस्तो जटिल बिषयलाई सम्बोधन गर्नैपर्नेमा सम्पूर्ण गोर्खाहरुका तर्फबाट समितिको जोडदार पहल भइरहेको बताइएको छ।

यदि तत्काल नागरिकता ऐनमा संशोधन गर्न सम्भव नभए सरकारले संबिधान संसोधनको प्रकृयाबाट यथाशीघ्र ब्रिटिश गोर्खा र तिनका सन्ततिहरुको वंशजको नेपाली नागरिकता निरन्तरता सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

अहिले बेलायतमा केही संस्था र व्यक्तिहरुले ब्रिटिश गोर्खा र गैर आवासीय नेपालीहरुको वंशजको नेपाली नागरिकता निरन्तरताको माग एउटै हो, यसलाई एउटै फोरमबाट अघि बढाउनु पर्छ भन्ने अभिव्यक्ति दिदै ब्रिटिश गोर्खा तथा नेपाल सरकारलाई दिग्भ्रमित बनाउन खोजिएको आरोप समितिको छ र यसमा उसले गम्भीर आपत्ति जनाउँदै आएको छ । 

नेपाल सरकारले देशको सार्वभौमिकता जोगाउन बेलायत सरकारसंग सुगौली सन्धि, त्रिपक्षीय सन्धि लगायतका अन्य विभिन्न सम्झौता गरेर बेलायती सैन्य बलमा सहयोगका लागि पठाइएका ब्रिटिश गोर्खा र स्वच्छाले वा विविध परिस्थितिले विश्वभर प्रवासमा रहेका गैर आवासीय नेपाली नागरिकहरुको वंशजको नेपाली नागरिकता निरन्तरता दावी गर्ने कारण र आधार एउटै हुन नसक्ने समितिको धारणा छ । 

ब्रिटिश गोर्खा तथा तिनका परिवारको वंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति बेलायत/नेपालले  विश्वभर रहेका गैर आवासीय नेपालीहरुको नेपाली नागरिकता निरन्तरताको अभियान प्रति सदा समर्थन र सद्भाव रहने तर  आफ्नो अभियान भनेको बेलायती सेनाका हैसियतले बेलायत र हङकङमा रहेका र रहने गोर्खा तथा तिनका सन्ततिका लागि मात्र भएकाले यि अभियानलाई गोलमटोल बनाएर कमजोर बनाउने दुस्प्रयास कुनै संस्था वा व्यक्तिबाट नहोस् भनेर खबरदारी समेत गर्दै आएको छ । –सन्तोष थलङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू