मंगलबार, वैशाख ११, २०८१
18:20 | २३:०५

नेपाली क्रिकेटमा ऐतिहासिक सफलता, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर

नेपाली लिङ्क मे २, २०२३

काठमाडौं । नेपाल काठमाडौंमा सम्पन्न एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एशिया कप क्रिकेटमा छनोट भएको छ ।  

मंगलबार फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले यही वर्षको सेप्टेम्बरमा हुने एसिया कपमा पनि आफ्नो स्थान सुरक्षित गरेको छ ।

नेपालले ऐतिहासिक जीत हासिल गर्ने क्रममा यूएईले दिएको ११८ रनको लक्ष्य ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर प्राप्त गरेको थियो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की पनि ३६ रनमा नटआउट रहे।

सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । मंगलबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।

११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले सुरुवात भने खराब गरेको थियो । २२ रन जोड्दा तीन विकेट गुमाइसकेको घरेलु टोली गुल्सन र भीमको महत्वपूर्ण साझेदारीमा जीतसम्म पुगेको हो ।  

एसीसी प्रिमियर कप जितेसंगै नेपाललाई आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशियाकपमा खेल्ने अवसर मिलेको छ जसको समूह चरणमै नेपालले भारत र पाकिस्तानसँग भिड्नेछ।

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडी ट्रफीका साथमा । नेपालले आज कीर्तिपुरस्थित मैदानमा सम्पन्न फाइनलमा युनाइेटड अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको छ । तस्बिर- नवीन पौडेल/रासस

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा उपस्थित समर्थक । तस्बिर- रासस

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू