शनिबार, वैशाख ८, २०८१
01:05 | ०५:५०

‘गोर्खा जस्टिस क्याम्पेन’ को पहल गर्ने बेलायतका पूर्व काउन्सिलरको निधन

नेपाली लिङ्क मार्च ६, २०२१

लन्डन । भूतपूर्व गोर्खाहरुको आन्दोलनलाई सघाउँदै आएका एक प्रभावशाली बेलायती अभियन्ताको निधन भएको छ ।  

बेलायतको केन्ट केन्टबरीका पूर्व काउन्सिलर एवम् ‘गोर्खा पिस फाउन्डेसन’ च्यारिटीका संस्थापक ब्रायन स्टेलीको गत आइतबार फेब्रुअरी २८ मा निधन भएको हो ।  

२ वर्षदेखि क्यान्सरबाट पीडित ८१ वर्षीय स्टेली पछिल्लो पटक दुई हप्ताको हस्पिटल बसाइपछि केन्टकै एक नर्सिङ होममा थिए ।  

भियतनाम युद्धका बेला २० वर्षको उमेरमै  ‘युद्ध संवाददाता’ का रुपमा भियतनाम पुगेका स्टेलीले पछि त्यहाँको शान्ति स्थापनाका क्रममा पनि योगदान गरे ।  

बेलायत फर्किएपछि लिबरेल डेमोक्र्याट पार्टीमा आबद्ध भएका उनले पार्टीको केन्ट प्रतिनिधि, राष्ट्रिय नीति निर्माण मञ्चको सदस्य हुँदै केन्टवरीको काउन्सिलरका रुपमा ८ वर्ष सेवा गरेका थिए ।  

सन् २००४ देखि स्टेलीले भूतपूर्व गोर्खाहरुको समान अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका थिए । उनकै पहल र सक्रियतामा केन्टका तत्कालिन सांसद उम्मेद्वार पिटर क्यारलले ‘गोर्खा जस्टिस क्याम्पेन’ शुरु गरेका थिए । 

अभियानमा स्टेलीको योगदानबारे उल्लेख गर्दै क्यारलले भनेका छन्, ‘स्टेलीकै पहलमा यो अभियान शुरु भयो र अघि बढ्यो । के थाहा उनले पहल नगरेको भए के हुन्थ्यो ?’

गोर्खाहरुको पक्षमा शुरु भएको सोही अभियानलाई अघि बढाउन प्रसिद्ध अभिनेत्री जोआना लुम्लेले साथ दिएकी थिइन् ।

अभियानको सफलतास्वरुप बेलायतमा गोर्खाहरुले सेटलमेन्ट अधिकार पाएपछि पूर्व काउन्सिलर स्टेलीले ‘गोर्खा पिस फाउन्डेसन’ नामक च्यारिटी स्थापना गरेका थिए । जुन च्यारिटीले गोर्खाहरुलाई बेलायती समुदायसँग समायोजन गर्नमा सहयोग पुर्याउंदै आएको छ ।

गोर्खालीलाई माया गर्ने साथी 

बेलायतकै पहिलो नेपाली काउन्सिलर धनकिरण गुरुङ स्वर्गीय स्टेलीलाई गोर्खाहरुलाई माया गर्ने एक सच्चा साथीका रुपमा सम्झिन्छन्  । गोर्खाहरुको मुद्धालाई बेलायतमा राजनीतिक उचाई दिने पिटर क्यारललाई नै घच्घच्याउने कार्यमा उनको योगदान महत्वपूर्ण रहेको उनले बताए ।

स्वर्गीय स्टेली लिबरेल डेमोक्र्याट पार्टीबाट केन्टको केन्टवरीमा काउन्सिलर रहँदा सोही पार्टीबाट केन्टकै फोक्सटनमा काउन्सिलर रहेका गुरुङले नेपाली लिँकसँग भने, ‘गोर्खा जस्टिस अभियानलाई सफल पार्न पिटरको सबैभन्दा ठूलो योगदान छ जुन सबैले देखेकै छ । तर, यो अभियानमा पर्दा पछाडि स्टेलीको पनि धेरै सहयोग र भूमिका छ ।’ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू