बुधबार, २९ जुलाइ, २०२६
21:53 | ०२:३८

बेलायतमा क्याम्प नेपाल: नेपालीपनले जितेको इभेन्ट

नेपाली लिङ्क जुलाइ २९, २०२६


बाथ (बेलायत), जुलाई २०२६- विदेशमा बसेर पनि नेपाली कला, संस्कृति, भाषा, संस्कार र परम्परालाई जीवन्त राख्ने उद्देश्यका साथ पोखरेली मञ्च यूकेद्वारा आयोजित “क्याम्प नेपाल २०२६” यस वर्ष अपेक्षाभन्दा पनि भव्य, व्यवस्थित र स्मरणीय रूपमा सम्पन्न भएको छ।

बेलायतको रमणीय ग्रामीण वातावरणमा आयोजित तीनदिने पारिवारिक क्याम्पमा स्कटल्याण्ड, वेल्स, मिडल्यान्ड्स, लण्डन हुँदै डोभरसम्मबाट आएका ४०० भन्दा बढी नेपालीहरूको सहभागिता रह्यो।

दुई वर्षका नानीदेखि ७५ वर्ष नाघेका ज्येष्ठ नागरिकसम्म एउटै मैदानमा हाँस्दै, खेल्दै, गाउँदै र सिक्दै बिताएको दृश्यले कार्यक्रमलाई साँच्चिकै “परिवारको उत्सव” बनाइदियो।

सबैभन्दा रोचक पक्ष के रह्यो भने, कार्यक्रममा कुनै औपचारिक उद्घाटन भएन। न विशेष अतिथि, न लामो भाषण, न खादा–माला, न आसन ग्रहण। आयोजकको एउटै विश्वास थियो—क्याम्पिङ भनेको क्याम्पिङ नै हो, सम्मेलन होइन। त्यसैले सबैजना बराबरी, सबैजना सहभागी र आफ्नै परिवारका सदस्यझैँ रमाए।

कार्यक्रमभरि २५० भन्दा बढी क्याम्परहरूलाई आयोजकको मुख्य भान्छाबाट दाउराको आगोमा पकाइएको नेपाली स्वादको ताजा खाना खुवाइयो। साथै, चाहनेहरूले आफ्नै टेन्ट नजिक परिवारसँग खाना पकाएर खाने स्वतन्त्रता पनि पाए।

शनिबार साँझ क्याम्पसाइट वरपरका २१ जना स्थानीय बेलायती बासिन्दालाई विशेष निमन्त्रणा गरी नेपाली परिकारको स्वाद चखाइयो, जसले नेपाली आतिथ्य र संस्कृतिप्रति उनीहरूको प्रशंसा बटुल्यो।

यस वर्षको अर्को विशेष आकर्षण थियो “जुलाई बेबी सेलिब्रेसन”। जुलाई महिनामा जन्मिएका क्याम्परहरूको सामूहिक जन्मदिन मनाइयो, जहाँ सबैभन्दा ज्येष्ठ क्याम्पर लाल गुरुङको नेतृत्वमा केक काटिएको क्षण सबैका लागि अविस्मरणीय बन्यो।

दश वर्षमुनिका बालबालिकाका लागि अंग्रेजी शब्दलाई नेपालीमा अनुवाद गर्ने “नेपाली शब्द चुनौती” प्रतियोगिताले विदेशमा हुर्किँदै गरेका बालबालिकालाई रमाइलो माध्यमबाट नेपाली भाषासँग जोड्ने प्रयास गर्‍यो।

त्यसैगरी, क्याम्पको “Rise & Shine” सत्रले सहभागीहरूलाई केवल बिहानको ऊर्जामात्र होइन, जीवनका प्रेरणादायी अनुभवहरू पनि बाँड्ने अवसर दियो। बिपना भट्टराईको सहजीकरणमा सञ्चालित यस सत्रमा क्याप्टेन इन्द्र गुरुङले लागुऔषध दुरुपयोग न्यूनीकरण, आत्मरक्षा र अनुशासनबारे व्यवहारिक प्रशिक्षण दिए भने डा. शिल्पा गुरुङले क्यान्सरसम्बन्धी जनचेतना, अनुसन्धान तथा नेपालसँग यस क्षेत्रमा सहकार्यका सम्भावनाबारे आफ्ना अनुभव साझा गरिन्।


त्यसैगरी सुसन विक्रम थापाले नेपालबाट बेलायतमा उच्च शिक्षा हासिल गर्ने अवसर, त्यसबाट अधिकतम लाभ लिने उपाय तथा आफूले सिकेका अनुभवमार्फत अरूलाई सहयोग गर्न सकिने विषयमा प्रेरणादायी कथा सुनाए।

बाल्यकालदेखि संघर्ष, सपना, सफलता र जीवनका सिकाइ समेटिएका यी अनुभवहरूले विशेषगरी युवा पुस्तालाई आत्मविश्वास, सकारात्मक सोच र समाजप्रति जिम्मेवार बन्न प्रेरित गरेको सहभागीहरूले बताएका थिए।

धेरैले मोबाइल र व्यस्त जीवनशैलीबाट केही समय टाढा रहेर फेरि “भुईँसँग जोडिएको अनुभूति” भएको प्रतिक्रिया दिए।

साँझ पर्दै जाँदा गायक रविन श्रेष्ठले “छेक्यो छेक्यो देउराली डाँडा”, “आँगनै भरी…” लगायतका सदाबहार गीतहरू प्रस्तुत गर्दा उपस्थितहरू नाच्न, गाउन र आफ्ना बाल्यकालका सम्झनामा हराए। केही समयका लागि बेलायतको ग्रामीण क्याम्पसाइट साँच्चिकै नेपालको कुनै मेलाजस्तै बनेको अनुभूति सबैले गरे। कार्यक्रम सम्पन्न भएपछि प्रत्येक क्याम्परसँग १० बुँदे सर्वेक्षण सञ्चालन गरियो, ताकि सहभागीहरूको अनुभव र सुझावका आधारमा आगामी वर्षको क्याम्पलाई अझ उत्कृष्ट बनाउन सकियोस्।

क्याम्प नेपाल २०२६ ले एउटा स्पष्ट सन्देश दिएको छ—विदेशमा नेपालीपन जोगाउन ठूला भवन, महँगा मञ्च वा औपचारिक कार्यक्रम मात्र आवश्यक पर्दैन। एउटा टेन्ट, एउटा क्याम्पफायर, नेपाली स्वादको खाना, आफ्नोपनले भरिएको वातावरण र एकअर्काप्रतिको सम्मान नै समुदायलाई जोड्ने सबैभन्दा बलियो आधार बन्न सक्छ।

पोखरेली मञ्च यूकेले विगतदेखि नै नेपाली भाषा, कला, संस्कृति, संस्कार र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। क्याम्प नेपाल २०२६ त्यसै अभियानको अर्को सफल अध्याय बनेको छ।

अन्त्यमा, धेरै क्याम्परहरूको एउटै भावना थियो—“हामी टेन्ट, सुत्ने झोला र भाँडाकुँडा मात्र बोकेर फर्केनौँ; नयाँ साथी, नयाँ सम्झना, केही नयाँ नेपाली शब्द, प्रकृतिसँग बिताएका अमूल्य क्षण र अर्को वर्ष फेरि नछुटाउने दृढ संकल्प पनि सँगै लिएर फर्कियौँ।”

सायद यही नै क्याम्प नेपाल २०२६ को सबैभन्दा ठूलो सफलता हो।

-बिक्रम भट्टराई

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू