बुधबार, वैशाख १२, २०८१
04:17 | ०९:०२

बेलायतको जनगणनामा सबै नेपालीले ‘हिन्दू’ धर्म लेखौं

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२१

ज्योतिषी पण्डित निलहरि घिमिरे

लन्डन । आउँदो मार्च २१ मा हुने बेलायतको राष्ट्रिय जनगणनामा नेपालीहरुको सहभागिता बढाउन भन्दै अहिले यहाँको समुदायमा विविध जानकारीमुलक अभियानहरु चलाइएको छ ।

जनगणनाको फारममा जातीय पहिचान (एथ्निक आइडेन्टिटी) मा नेपाली भर्न सबैलाई आव्हान गरिएको छ । जनगणनामा नेपालीको संख्या उल्लेख्य देखिए भविष्यमा यहाँको सरकारले गर्ने नीति निर्माणहरुमा पनि नेपाली समुदायले थप महत्व पाउने आशा गरिएको छ ।

जनगणनाको यही अभियानबीच बेलायतस्थित अग्रज पण्डित ज्योतिषी निलहरि घिमिरेले जातीय पहिचानका साथै धर्मको पहिचान स्थापित गर्नतर्फ पनि सचेत बन्नुपर्ने धारणा व्यक्त गरेका छन् । प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका मूल पण्डित घिमिरेले बेलायतस्थित सम्पूर्ण नेपालीलाई धर्मको ठाउँमा ‘हिन्दू’ भर्न अपील गरेका छन् ।

‘हामी नेपालीमध्ये धेरैले हिन्दू धर्म मान्दै आएका छौं । नेपालभित्रकै केही समुदाय फरक धर्म मान्ने पनि छौं’, पण्डित घिमिरेले नेपाली लिंकसंग भने, ‘हामीलाई ईच्छाअनुसारको धर्म मान्ने छुट छ, त्यसरी नै मानौं । तर बेलायतको जनगणनामा फारम भर्दा सबै नेपालीले हिन्दू धर्म नै लेखौं । जसबाट हामीलाई धर्मको पहिचान स्थापित गर्न सहयोग मिल्नेछ ।’

सबै नेपालीको संख्या हिन्दू धर्म मान्नेहरुमा सूचीकृत हुन सके भावी दिनमा सरकारी तवरबाट समुदायले विभिन्न लाभ लिन सक्ने दाबी पण्डित घिमिरेको छ ।

‘उदाहरणका लागि हिन्दू धर्म भर्नेहरुको संख्या धेरै गराउन सक्यौं भने भोलि हाम्रो लागि बेलायत सरकारले छुट्टै क्रिमेटोरियम (अन्त्येष्टिस्थल) बन्दोबस्त गरिदिन सक्छ । जुन हिन्दूले मात्र होइन, बुद्ध, किराँत सबै धर्म मान्ने नेपालीलाई उपयोगी हुन सक्छ । यस्ता धेरै लाभहरु मिल्न सक्छन्’, उनी भन्छन् ।

बेलायती जनगणनामा नेपालीले समान धर्म उल्लेख नगर्दा सबै धर्म ओझेलमा पर्ने तर्क पण्डित घिमिरे गर्छन् ।

‘हिन्दू धर्मभित्रै फरक फरक सम्प्रदाय हुन सक्छन् । अरु धर्म मान्ने नेपालीहरु पनि छौं । जनगणनामा सबैले फरक फरक लेख्यौं भने हामी सबै आझेलमा पर्छौं । त्यसैले आस्था र विश्वास जे रहेपनि हरेक नेपालीलले हिन्दू धर्म भरौं भन्ने म आग्रह गर्न चाहन्छु’, उनले भने ।

यो पनि पढौं : बेलायतको ‘सेन्सस’ मा नेपाली लेखेर कसरी राष्ट्रिय पहिचान ?

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू